देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधन र कांग्रेसको विधान संशोधन एउटै हो

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले संविधान संशोधनभन्दा पनि कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । अहिले नेपाली कांग्रेस पनि विधान संशोधनका लागि तयारी गरिरहेको सन्दर्भमा कुरा गर्दै महरले संविधान संशोधन र कांग्रेसको विधान संशोधन एउटै विषय भएको बताए । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले उनै महरसँग गरेको कुराकानीको सम्पादित अंश । 

केन्द्रीय कार्यसमितिको बैठक सकिएपछि त फुर्सदमा हुनुहुन्छ होला ?

फुर्सद छैन । जनताका समसामयिक जनजीविकाका सबालमा बोल्नु पर्नेछ । नेपाली कांग्रेस पार्टी नै सरकारमा भइसकेपछि सेवा प्रवाहका हिसाबले जनतालाई सरकारसँग जोड्नुपर्ने काम बाँकी छ । समग्र पार्टी सरकारलाई सफल बनाउने, विशेषगरी दुई वटा दल मिलेर सातबुँदे सहमति गरेर अहिले सरकार बनेर अघि बढेको अवस्थामा जनतालाई यस कारण हामी एक ठाउँमा आयौं भनेर जनतालाई बुझाउने र काम गरेर परिणाम पनि दिनु पर्नेछ । तसर्थ नेपाली कांग्रेस आफ्नो सांगठनिक गतिविधिमा लाग्छ नै, असोज १ गतेदेखि नेपाली कांग्रेसले नयाँ कार्यक्रम पनि सुरु गर्दैछौं । बाँकी हाम्रो पार्टीका आन्तरिक जीवनका कुराहरू छन् । तर सरकारका तर्फबाट जनतालाई आत्मविश्वास जाग्ने गरी काम गर्ने भावनाबाट प्रेरित गर्नुपर्छ भन्ने कुरामा लागेका छौं ।

महासमितिको बैठकपछिको केन्द्रीय कार्यसमितिको बैठकलाई कसरी समीक्षा गर्ने ?

मैले केन्द्रीय कार्यसमितिमा आफ्ना कुरा राख्दै गर्दा ‘रुम्जाटार त म गएको छैन, केन्द्रीय समितिको बैठकमा एजेन्डा आए, परिमार्जन गर्ने भनेर महासमितिमा गयौं, महासमितिबाट केही आएन र मान्छेहरूले केही बुझेनन् र फेरि केन्द्रीय समितिलाई जिम्मा दिने भने । अहिलेको केन्द्रीय समितिमा पनि केही नबुझ्ने गरी निर्णयहरू भयो भने घुमीफिरी रुम्जाटार भने जस्तै हुन्छ’ भनेको थिए । त्यस्तो रुम्जाटार नै भन्ने अवस्था त भएन, तर नेपाली कांग्रेसको महासमितिको बैठकमा के के कुरा भयो भन्दा प्रस्ट बुझ्ने अवस्था छैन । निर्णय लेखिएर त आयो त्यसमा पनि प्रस्टता अझैं आवश्यक छ । अब महासमितिमा पेस भएका प्रतिवेदनहरू परिमार्जनसहित पारित भएका छन्, ती छापिएर तपाईं हाम्रा हातहातमा आएपछि के के कुरा भए त्यो प्रस्ट हुनेछ । छापिएपछि हामीले महासमितिका सबै प्रतिनिधिहरूलाई पठाउँछौं । त्यो नै नेपाली कांग्रेसको आधिकारिक दस्तावेज हुन्छ । 

भनेको कांग्रेसका निर्णय सार्वजनिक भए, त्यसमा पनि केही परिमार्जन हुन्छ ?

अहिलेसम्म प्रतिवेदन नै पुगेको छैन । प्रतिवेदन नपुगिसकेपछि त्यसमा के के परिमार्जन भयो भन्ने कुरा प्रेसबाट आएपछि मात्रै थाहा हुने कुरा भयो । त्यसले अहिले नेपाली कांग्रेसका साथीहरूले आ-आफ्नै व्याख्या गर्दैछन् । प्रतिवेदन हात परेपछि मात्रै के पास भयो भन्ने थाहा भइहाल्छ ।

नेपाली कांग्रेसको सार्वजनिक भएको निर्णयको ४ नम्बर बुँदामा जनसम्पर्क समितिको कुरा छ, जसअनुसार जनसम्पर्क समितिका व्यक्तिहरू महासमिति र महाधिवेशन प्रतिनिधि बन्न नपाउने ब्यवस्था गर्नु भएको हो ?

यो विषयमा गल्ती भएको छ भनेर मौखिक रूपमा नेताहरूले भन्नु भएको छ । जुन कुरा हुनु हँदैनथ्यो । तीन वटा धाराहरू निलम्बन गरिसकेपछि जनसम्पर्क समितिको केन्द्रीय महाधिवेशनसँगको साइनो टुटेको छ । यसलाई सच्याउनका लागि एक दुई दिनभित्र ‘स्टेटमेन्ट’ आउँछ र यसमा संशोधन हुन्छ ।

केन्द्रीय कार्यसमितिको निर्णय स्पष्ट आउनुपर्छ, ‘ले म्यान’ले बुझ्नु पर्छ भन्या के हो ?

नेपाली कांग्रेसको महासमितिको बैठकले पारित गरेको जुन दस्तावेज छ, फेरि परिमार्जनसहित पास भयो भनिएको छ । त्यो के कुरा पास भयो भन्ने कुरा कसैसँग पनि ‘डकुमेन्ट’ छैन । त्यही भएर अहिले मान्छेहरूले आआफ्नो किसिमले व्याख्या गरेका हुन् । अनावश्यक व्याख्या गर्ने कुरा जबसम्म प्रतिवेदन हात पर्दैन तबसम्म रोकिँदैन । प्रतिवेदन हात परेपछि के कुरा पास र के कुरा फेल भन्ने स्पष्ट हुन्छ ।

अहिलेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापतिले जित्नु भयो कि महामन्त्रीले जित्नु भयो ?

मैले बारम्बार भनिरहेको कुरा के हो भने, पार्टीका ‘मेजर भी फाइभ’हरूको बीचमा आजका दिनसम्म एउटा सानो निर्णय थियो त्यसबाहेक कहिल्यै असहमति भएकै छैन । अरू सबै निर्णयहरू ऐक्यबद्धताका साथ पासमात्रै होइन, एजेन्डा तय भएका छन् । पाँच जना पदाधिकारी (सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वय) एकाकार भएर प्रस्ताव बैठकमा आउने गरेका छन् । बैठक सुरु हुँदा सभापतिले महामन्त्रीलाई एजेन्डा पेस गर्न लगाउनुहुन्छ, र निर्णय सुनाउने जिम्मा पनि महामन्त्रीहरूकै भएको हुनाले आजसम्म बैठकमा जित र हारको विषय बनेको छैन ।

नेपाली कांग्रेस, अहिले नै महाधिवेशन लक्षित देखिन्छ नि होइन ? 

धेरै थोरै आफ्नो अनुकूल गराउन खोज्नु स्वाभाविक हो । नेपाली कांग्रेसको नेतृत्वमा गएर काम गर्ने मलाई नै पनि चाहना छ । अरू साथीहरूलाई पनि होला । नेपाली कांग्रेसको सभापति बन्ने, देशको कार्यकारी प्रमुख बन्ने इच्छा राखेका र महत्वकांक्षा बोकेका हामीहरू त्यसका माध्यमले नेपाल र नेपाली जनताका समस्या समाधान गरेर सेवा प्रवाहका हिसाबले सन्तुष्ट पार्ने योजना बनाएका हामीहरूका आफ्ना आफ्ना कार्यक्रम र मोडालिटी हुनु ठूलो कुरा भएन । लोकतन्त्रले विधितामा विश्वास गर्छ । जोन लकले ‘लिमिटेड गभर्मेन्ट’ भन्छन् । मान्छेमा असीमित क्षमता र अधिकार छ, उसको क्षमतालाई प्रयोग गर्न पाउनुपर्छ । सरकारका नाउँले तैले बन्देज लगाउन पाउँदैनस् । लिमिटेड ‘सक्युरिटी’ र राष्ट्रियताको विषयमा मात्रै सरकारले हात हाल । अरू सबै कुरा जनतालाई आफंै गर्न व्यक्ति स्वतन्त्र छ भन्छ । तर, कम्युनिज्म भनेको त्यसको ठ्याक्कै उल्टो हो । त्यहाँ ‘कन्ट्रोल बाई गभर्मेन्ट’ भन्छ । सरकारले सबै सिकन्जा लगाउनुपर्छ भन्छ । हामी फरक नै छौं, हामी उदारवादमा विश्वास राख्ने भएकाले व्यक्तिगत कुराहरूलाई पनि महत्व दिन्छौं ।

१५ औं महाधिवेशनका लागि विधान संशोधन समिति बनाउने निर्णय गर्नुभयो, अहिलेको संरचनामा केही फेरबदल गर्ने हो ?

धेरै कुराहरू मिडियाबाट कति भन्न मिल्छ थाहा छैन । अहिलेको नेपालको संविधान संशोधन गर्ने विषय र नेपाली कांग्रेसको विधान संशोधन गर्ने विषय एउटै–एउटै हो जस्तो लाग्छ । संविधान कार्यान्वयन हुनै पाएको छैन, कांग्रेसको विधान पनि त कार्यान्वयन भएको छैन । मेरो देशको संविधान र मेरो पार्टीको विधान संशोधन, परिस्कृत, परिमार्जन अथवा के के विषय हो, त्यो दुई वटै एउटै एउटै आकारको छ । म चाहिँ केही बाधा, व्यवधानहरू आए भने त्यसलाई फुकाउने कुरा परिमार्जन गर्ने कुरा गर्नुपर्छ भन्ने मान्यता राख्छु । तर, त्योभन्दा अगाडि देशका राष्ट्रपति, प्रधानमन्त्रीसहित कार्यकारी पदमा बस्ने व्यक्तिहरूको बानीबेहोरा संशोधन हुनुपर्छ होला, कागजको खोस्टाले मात्रै धेरै कुरा गर्दैन होला । मेरा बानी बेहोरा, चरित्रमा संशोधन नेपाली जनताले देखेको छ । आफू माथिको विकार हटाउने कुरा छाडेर एउटा कागजको खोस्टोलाई हामी आरोप लगाउने र त्यसमाथि आफ्ना गल्तीहरू बिसाउने काम गर्दैछौं, त्यो पनि ठिक होइन । पार्टीको विधानको कुरा पनि मलाई त्यस्तै त्यस्तै लाग्छ । पार्टीको विधान हामीले देशभरि छलफल गरेर बनाएका हौं । सामूहिक नेतृत्व गर्ने विधान छ । धेरै मान्छेहरू निर्वाचनका माध्यमबाट आउँछन् । यो विधानको आफ्नै गरिमा र मर्यादा छ । अब फेरि कसैलाई इच्छा लागेन, कसैका नयाँ कुरा आए भनेर यसलाई तोडमरोड गर्ने कुरा गर्नुभन्दा पनि यसलाई कार्यान्वयन गराउने नेतृत्व क्षमताको विकास हामीमा हुनुपर्ने थियो । त्यो भएको छैन । हामीले विधान कार्यान्वयन गर्ने बानी नै गरेनौं । आजसम्म नेपाली कांग्रेसको नेतृत्वले विधान पूर्णरूपमा कार्यान्वयन गरेको छैन, अब म संशोधन गरेर त्यो कार्यान्वयन गर्छु भन्नुपर्ने हो र कार्यान्वयन गर्नुपर्ने हो । त्यतातिर सोचिएकै छैन ।

विधान भन्या त को व्यक्तिलाई कहाँ सेट गर्ने भन्ने मानसिकताबाट आएको छैन र ?

नेतृत्वको आनीवानी र व्यवहारमा चरित्रको संशोधन जनताका तर्फबाट देखिएको छ । तर हामी एउटा कागजको दस्तावेजमाथि संशोधन गरेर आफ्ना गल्ती त्यसमा बिसाउने कोसिस गरिरहेका छौं । यो कुरा त्यति ठीक होइन । कुनै समस्या पर्दा संशोधन गर्न नसकिने कुरा होइन, तर त्योभन्दा अगाडि नेतृत्वमा जाने हो भने पहिला आनीबानी र गल्ती कमजोरीलाई संशोधन गरेर अगाडि बढ्नुको विकल्प छैन ।

असोज १ गतेदेखि नेपाली कांग्रेसको नयाँ अभियान सुरु गर्दैछ, अभियान त आजभोलि कांग्रेसले फ्याट्टै सुरु गरिहाल्छ, अनि त्यसको नतिजा के त ?

नेपाली कांग्रेसभित्र समस्या के छ भने पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति बढ्दै गएको, पार्टीभित्र विभिन्न मोर्चाहरूको उपस्थिति कायम रहेको, ती मोर्चाहरू एकआपसमा मिलेपछि मात्रै नेतृत्व चयन हुने हो कि जस्तो देखिएको र जति पनि यो १० वर्षको अनुभव हामीले हेर्‍यौं भने, नेपाली कांग्रेस पार्टीलाई शक्तिशाली र ठूलो बनाउने प्रतिस्पर्धाभन्दा पनि १ हजार मान्छेमा १० वटा गुट बनाएर भाग गर्ने, अनि १०१ जहाँ पुगेको छ, त्यसलाई आफ्नो उपलब्धिमा राख्ने र प्रगति प्रतिवेदन बनाउँदाखेरि फलानोको टिमबाट फलानोको टिममा यतिजना नेताहरू गए, फलानाको टिममा माइनस भयो भन्ने हाम्रो प्रगति प्रतिवेदन हुन्छ । यी अभियानका माध्यमबाट हाम्रो पार्टीमा नयाँ मानिसहरू जोडिने, समाजका लब्धप्रतिष्ठित स्वतन्त्र मान्छेहरूलाई कांग्रेसमा ल्याउने, युवा पुस्तालाई कांग्रेसमा इन्ट्री गराउनेभन्दा पनि भएको संरचनाभित्रका मान्छेलाई तानातान गरेर आफ्नो उपलब्धि देखाउने होडबाजी चलेको छ । यहाँ नयाँभन्दा पनि भएकैमा मात्रै केन्द्रित छौं । यसले पार्टी त बन्दैन ।

असोज १ गतेदेखिको अभियानबाट तपाईंहरूले कसरी जनतालाई जोड्नु हुन्छ ?

 यसअघिका अभियानबाट धेरै थोरै जोडिएका छन् । यसअघि ३२ हजार क्रियाशील सदस्य थपिएका थिए । अब हामी असोज १ गतेदेखि १०० दिनको अभियान सुरु गर्दैछौं । सरकारमा पनि अहिले हामी भएको कारणले जनताले सरकारसँग गरेको अपेक्षालाई पनि बुझ्छौं । हामीले सरकारमा संलग्न नेताहरूलाई पनि भन्छौं । सरकारलाई जनताको इच्छाअनुसार चलाउने कोसिस गर्छौं । एउटा अभियानको उद्देश्य त्यो पनि हुने भयो । जसका कारणले जनताहरू नेपाली कांग्रेसको सामीप्यतामा बस्न सकुन् । यसैगरी विभिन्न तहमा जितेका प्रतिनिधिहरू छन्, तिनीहरूको गतिविधिका कारणले पनि जनता पार्टीमा जोडिने कुरा हो । नेपाली कांग्रेसको एक जनाले वडा सदस्य जितेको छ, ऊ उपभोक्ता समितिको कहिँनेर निर्माणमा लागेको छ, सानो पाँच लाखको योजना छ, त्यसमध्ये तीन लाख रुपैयाँ भ्रष्टाचार भयो, दुई लाखको मात्रै काम भयो भने जनताले जनता नबोले पनि त्यो हेरिरहेका छन् । जनता पार्टीमा केन्द्रका कारणले मात्रै जोडिँदैनन्, स्थानीय तह भनेको घर घरमा सिंहदबार हो । स्थानीय तहमा बसेका हाम्रा साथीहरूको क्रियाकलापले पनि धेरै असर गर्छ । एक जना विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छ, अनि नतिजा दुई प्रतिशतमात्रै आयो भने त्यो अध्यक्षले चलाएको स्कुल कस्तो भयो भन्ने कुरा जनताले बुझिहाल्छन् । त्यसैले कहीँ कतै उल्लेख गरिएका उदाहरणबाहेक अरू कुराहरू पनि छन् त्यस्तो छ भने तीनै तहका सरकारलाई जिम्मेवार बनाउनका लागि हामी लाग्छौं । पार्टीभित्रका आन्तरिक संरचनामा पदपूर्ति गर्ने काम पनि हुन्छ ।

सदस्यता वितरण अभियान नै सञ्चालन गरेपछि संख्या त राम्रै थपिएलान् ?

यो डेढ वर्षको अवधिमा म ६५ जिल्लामा घुमेर आएको छु । नेपाली कांग्रेसले गल्ती गरेका बेला पटकपटक झापड हाने पनि जनताले यही पार्टीसँग अपेक्षा राखेका छन् । नेपाली जनताले कांग्रेस पार्टीको साखलाई बुझेका छन् । त्यसकारण नयाँ, पुरानाभन्दा पनि कांग्रेस पार्टीका प्रति अपेक्षा छ । नयाँ भनिएका पार्टीको पनि बेहाल र अत्यन्तै दयनीय देखियो, कतै उग्रतामा विश्वास गर्ने, हिजोको चरित्र ठीक नभएकाले म मात्रै राम्रो हुँ भन्नेर आँखामा छारो हालेको कुरा जनताले बुझेका छन् । तिनीसँग पनि जनता कन्भिन्स छैनन् । सबै कुरा समान हुन्छ हामी जम्मै राम्रो गर्र्छांै भनेर कम्युनिज्मका कुरा गर्ने साथीहरूले पनि प्रतिबद्धता पूरा गर्न नसक्दा अरूभन्दा तुलनात्मक रूपले नेपाली कांग्रेस पार्टी नै जनताको पार्टी रहेछ, कम्तीमा यसले जनताको अधिकार र स्वतन्त्रताको विषयमा बोल्छ भनेर बुझेका छन् । त्यसकारण यसपटकको अभियानमा लाखौं जनता र नयाँ व्यक्तिहरू जोडिन्छन् । जुन मिसन छ, त्यो मिसन पूरा गर्ने सबालमा नेपाली कांग्रेसले यसको नेतृत्व लिन्छ । र अबको आउने चुनाव छ, त्यो चुनावमा नेपाली कांग्रेसले आफ्नो वर्चश्व कायम मात्रै राख्दैन कि, हामी बहुमतको सरकार निर्माण गर्नका लागि हामी सफल हुन्छौं जस्तो लाग्छ ।

महासमिति हुँदै केन्द्रीय समितिबाट पास भएको प्रतिवेदनअनुसार अब एक्लै चुनाव लड्ने होइन त ?

म पहिलादेखि नै नेपाली कांग्रेस एक्लै चुनाव लड्छौं र लड्नुपर्छ भन्ने व्यक्ति हो । त्यतिबेलाको केन्द्रीय कार्यसमितिको बैठकमा पनि पाँच जना पदाधिकारीले हामीलाई गठबन्धन गर्ने आवश्यक देखियो भनेर सुनाउनु भएका निर्णय अहिले पनि मेरो कानमा गुञ्जिरहेको छ । प्रतिवेदनमा गठबन्धन भन्ने शब्द उल्लेख गरिएको छैन भन्ने सुनिरहेको छु । त्यसैले त्यो प्रतिवेदन आयो भने मात्रै थाहा हुन्छ । एक्लै पार्टी चुनाव लड्ने गरी सशक्त बनाउने उल्लेख छ । जे भए पनि अबको साढे तीन वर्ष सरकारमा कांग्रेस जानुहुन्न भन्ने मान्यता राख्ने व्यक्ति हुँ । यतिबेला प्रतिपक्षमा बसेर जनताको काम गर्नुपर्छ भन्दै हिँडेको व्यक्ति हुँ । गठबन्धनले त नेपाली कांग्रेसको परम्परागत भोट बैंकलाई पनि तलमाथि गर्‍यो । नेपाली कांग्रेसमा सबैका लागि समान अवसर पाउन समस्या थियो, गठबन्धनका कारणले त धेरै मानिसहरू पीडित भए । वर्षौं काम गरेका साथीहरू राजनीतिलाई जीवन पद्धति बनाएर अगाडि बढेका साथीहरू चरित्र बचाएकाहरूलाई गठबन्धनकै कारणले ठेगान लगाउने काम भयो । यो गठबन्धन भनेको नेपाली कांग्रेसबाट टिकट पाउने पक्का भएका ५४–५५ जना नेताहरूलाई जिताउनका लागि मात्रै गरिएको हो ।

आश्यकताभन्दा व्यक्तिमा केन्द्रित भयो ?

आवश्यकताले के गर्‍यो त । पुस १० गते सरकार ढलिहाल्यो । जसका विरुद्ध चुनावमा गएका थियौं, उसैसँग मिलेर सरकार चलाइरहेका छौं । मेरा मनमा जुनसुकै कुरा भए पनि नेपाली कांग्रेस र नेकपा एमालेले सात बुँदामा सहमति गरिसकेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट समेत अनुमोदन भइसकेपछि लोकतन्त्रवादी एक जना कार्यकर्ता हुँदाहुँदै पनि मैले मेरो पार्टीको निर्णयलाई मान्नुपर्छ । सातवटा बुँदा कार्यान्वयन गर्न यो गठबन्धन इमान्दार बन्नुपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कति विश्वास गर्ने ?

केन्द्रीय कार्यसमितिको बैठकमा मैले बालेको कुरा के हो भने ‘केपी ओली अलिअलि डिक्टेड गर्ने स्वभावको हुनुहुन्छ, नेपाली कांग्रेसलाई एमालेसँगको सहकार्यले उकुसमुकुस नहोस् । हाम्रा केही मान्यता छन्, संसद्को ठूलो दल हो, लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्छौं । हाम्रा केही स्थापित मान्यता र चरित्रहरू छन् । त्यसमा धब्बा लाग्नेगरी सरकार र सरकारमा गएको व्यक्तिले त्यस्तो काम गर्नुभयो भने पदाधिकारीहरू त के गर्नुहुन्छ थाहा भएन, तर मजस्ता व्यक्तिहरू त्यस प्रवृत्तिविरुद्ध खिलापमा जाने प्रयास गर्छौं ।’ भनेर भनेको छु ।

अहिलेको सरकारलाई कति नम्बर दिने ?

समग्र मूल्यांकन गर्ने बेला भएको छैन । तर ‘मर्निङ सो द डे’ भन्याजस्तै, जुन गतिले जनतामा ७ बुँदा देखाएर आएको थियो त्यो रफ्तारमा सरकार हिँडेको छैन । ७ बुँदाको रिफ्लेक्सन सरकारमा देखिएर राम्रो काम हुनुपर्ने थियो अहिलेसम्म सुरु नै भएको छैन । तर मलाई विश्वास छ, समय पनि छ ।

यो सरकारले न्यूनतम साझा कार्यक्रम नै ल्याउँदैन त ?

यो विषयमा मलाई पनि अचम्म लागि राख्या छ । सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने कुरा नीति नै हो र यो अभ्यास हामीले गरेका पनि छौं । नयाँ सरकार बनिसकेपछि उसको न्यूनतम साझा कार्यक्रम जनताले देख्न पाउने र त्यसअनुसार काम गरेको छ कि छैन भन्ने जनताले मूल्यांकन गर्ने हो । ७ बुँदा आएको छ, त्यो न्यूनतम साझा कार्यक्रमको अंश त हो, तर, कार्यतालिका अनुसार नै न्यूनतम साझा कार्यक्रम आउनुपर्ने थियो । यो ढिला हुनुको कारण मैले पनि पत्ता पाउन सकेको छैन ।

संविधान संशोधन गर्न के कुराको संशोधन गर्ने, कतै प्यान्डोरा बक्स खुल्छ कि ?

 मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने म संविधान कार्यान्वयनमै जोड दिन्छु । संघीयताले पैसा खर्च भयो भन्याछ, समानुपातिक र समावेशिताका कारण राम्रो नेतृत्व आएन भन्या छ, समानुपातिक प्रणालीका कारण बहुमत आएन भन्या छ, हिन्दु धर्म नलेखिएका कारण समस्या परेको कुरा गरिएको छ । राजतन्त्र उन्मूलन गरेका कारण समस्या भएको कुरा गरेका छन् । संविधान जारी गर्दा मधेसवादी दलहरूको पनि अरू नै कुरा थिए । यी जम्मै सबैका आआफ्ना कुराहरू हुन् । संविधान संशोधनको कुरा कर्णप्रिय सुनिएको छ । तर त्यसका एजेन्डाहरू कर्णप्रिय छैनन् । सबैले आफ्ना मात्रै कुराहरू देखिरहेका छन् । धर्मका कुरा गर्नेले धर्ममात्रै, राजाका कुरा गर्नेले राजाका मात्रै, समावेशी समानुपातिकका कुरा गर्नेले त्यहीमात्रै देखेका छन् । एकले अर्काको कुरा नबुझ्दाखेरि संविधान संशोधन गर्दा समस्या आउँछ भन्ने कुरा हामी सजिलै आंकलन गर्न सक्छौं । संविधान संशोधन गर्ने हो समानुपातिक निर्वाचन प्रणाली (मिश्रित)का कारण बहुमत आएन सरकार अस्थिर भयो भन्ने मान्यता स्थापित गर्न खोजिँदै छ । तर, हिजो बहुमत हुँदा पनि सरकार चलाउन नसकेको उदाहरण पनि त छ नि । त्यसैले पहिले आफ्नो विचार र प्रवृत्तिमा संशोधनको आवश्यकता छ ।

तपाईं नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख हुनुहुन्छ, विभागले के गर्दै छ ?

नेपालको आधारभूतदेखि उच्च शिक्षासम्म जताततै प्वालैप्वाल छ । एउटा विषयलाई पनि हामीले ठीक ठाउँमा उभ्याउन सक्या छैनौं । मैले लाज नमानिकन भन्नुपर्छ, २०६२/०६३ सालको आन्दोलन पछाडि शिक्षाको गुणस्तरमा असाध्यै स्खलन आएको छ । संरचनागत रूपले विद्यालय र विश्वविद्यालय खुले पनि गुणस्तर कायम गर्न नसकेको अवस्था छ । यी थु्रपै समस्याहरूलाई केन्द्रित गरेर जनताका तर्फबाटै नीति निर्माण तहमा सहभागी गराएर ६ हजार ७ सय ५३ वडाबाटै सहभागिता हुने गरी शिक्षा नीति कांग्रेसले निर्माण गर्नुपर्छ भनेर केन्द्रीय समितिमा लिखित र मौखिक एजेन्डा राखेको थिएँ । सर्वसम्मत रूपमा नेपाली कांग्रेसले केन्द्रीय शिक्षा नीति निर्माण गर्ने भन्ने भएको छ । आम शिक्षाभित्रका समस्याहरूलाई समाधान गर्ने गरी हामीले यसका कार्यक्रमहरू अगाडि बढाउँछौं । कम्तीमा कतै न कतै पुग्ने अभ्यास गर्छौं ।