देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान शुरु

देशान्तर

काठमाडौं ।   यातायात व्यवस्था विभागले सोमबारबाट सवारी साधनमा जडान गरिने अत्याधुनिक प्रविधिको इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले राजधानीस्थित यातायात व्यवस्था विभाग कार्यालयमा इम्बोस्ड नम्बरप्लेटको औपचारिक उद्घाटन गरेपछि यसको कार्यान्वयन प्रक्रिया अगाडि बढेको हो ।

इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा आएपछि सवारीहरुको व्यवस्थापनमा चुस्तता र प्रभावकारीता आउने मन्त्री बलायरले बताए । सवारी साधनको व्यवस्थापनका पक्षमा नेपालले पनि अन्तर्रा्ष्ट्रिय स्तरको फड्को मारेको दाबी गर्दै उहाले यातायात जगतमा यो एउटा ठूलो प्रगति रहेको बताए ।

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको इम्बोस्ड नम्बरप्लेटको माध्यमबाट सवारी साधन र सवारीधनीको सम्पूर्ण विवरण पत्ता लाग्ने भएकाले राजश्व असुली, सवारीसाधन चोरी र अपराध नियन्त्रण साथै सवारीसाधन दर्ता प्रक्रिया वैज्ञानिक र चुस्त हुने बताउनुभयो ।

यस्तै विभागले सवारीसाधनमा जडान हुने इम्बोस्ड नम्बरको साइज तोकेको छ । ठूला सवारीमा अगाडिको नम्बरप्लेट ५२०×११०, चारपाङ्ग्रे मझौला तथा साना सवारीमा ४३०×११०, तीनपाङ्ग्रे साना सवारीमा २४०×१३० त्यसैगरी दुईपाङ्ग्रे साना सवारीमा ३००×८० मिलिमिटर साइजका नम्बरप्लेट जडान गर्नुपर्ने नियम रहेको यातायात व्यवस्था विभागका प्रशासनिक निर्देशक डा.टोकराज पाण्डेले जानकारी दिए ।

इम्बोस्ड नम्बरप्लेट जडानका लागि छुट्टाछुट्टै दररेट कायम गरेको छ । जसअन्तर्गत मोटरसाइकलका लागि २५ सय, तीनपाङ्ग्रेका लागि २९ सय, चारपङ्ग्रेका लागि ३२ सय र ठूला सवारीसाधनका लागि ३६ सय रुपैयाँ कायम गरिएको छ । प्लेटको बायाँ माथितर्फ नेपालको झण्डा र त्यसैकोमुनि देश जनाउने गरी ‘एनइपी’ र त्यसको मुनि सुरक्षात्मक होलोग्राम हुनेछ । प्लेटको माथि अञ्चलको संकेत र त्यसको मुनि लट जनाउने अंग्रेजी अक्षर र त्यसको मुनि सवारीसाधनको बढीमा चार अंकमा नम्बर लेखिनेछ ।

इम्बोस्ड नम्बरप्लेट लागु भएसँगै नेपालमा हाल प्रयोग भइरहेका विभिन्न २३ प्रकारका नम्बरप्लेट ५ प्रकारमा सीमित हुनेछन् । जसअनुसार राष्ट्रपतिको सवारीसाधनको नम्बरप्लेटमा नीलो पृष्ठभूमिमा राष्ट्रियझण्डासहित निशानचिह्न हुनेछ त्यसैगरी सार्वजनिक सवारीसाधनमा पहेंलोप्लेटमा कालो, निजी सवारीसाधनमा सेतो प्लेटमा कालो, सरकारी सवारीसाधनमा सेतोप्लेटमा रातो र कुटनीतिक नियोगका सवारीसाधनहरुमा सेतोप्लेटमा नीलो अंक र अक्षर रहनुपर्ने कानुनी व्यवस्था रहेको छ । सबै प्रकारका सवारीसाधनहरुको नम्बरप्लेट अगाडि लामो र पछाडि चतुर्भुज आकारको हुनेछ ।

सवारीसाधनको अवस्थाको जानकारीका लागि उपत्यकाको थानकोट, फर्पिङ, जगाति, जोरपाटी र नागर्जुन गरी ५ स्थानमा र उपत्यका बाहिर पनि ५ स्थानमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन केन्द्र स्थापना गरिने पनि महानिर्देशक भट्टराईले बताए ।