देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार चलायमान : अध्यक्ष ढकाल

देशान्तर


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेकाले यो अवसर सदुपयोग गर्न आग्रह गरेका छन । नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रवार काठमाण्डौंमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै अध्यक्ष ढकालले सरकारले स्थायित्व दिने विश्वासमा अर्थतन्त्रमा सुधारका स्पष्ट सकेत देखिएको बताए । बजारमा देखिएको सुधारलाई ध्यान दिएर स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सरकार र निजी क्षेत्र बिच थप सहकार्यका लागि पनि अध्यक्ष ढकालले आग्रह गरे ।


देशभित्र सेयर बजारमा उत्साह छ भने घरजग्गा कारोबार पनि बिस्तारै बढ्न थालेको र कर्जाको मागमा पनि सुधार भइरहेकाले यसलाई अझै चलायमान बनाउन आवश्यक रहेको अध्यक्ष ढकालले उल्लेख गरे । पर्यटक आगमन बढिरहेको, रेमिट्यान्समा हालसम्मकै उच्च देखिएको,विदेशी मुद्राको सञ्चिति पर्याप्त हुँदा भुक्तानी सन्तुलन सहज अवस्थामा भएकाले लगानीकर्ताहरु लाइ विश्वासमा लिन सहज हुने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
थप पर्यटक आकर्षित गर्न पोखर तथा भैरहवाका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन भइरहेका पहलको स्वागत गर्दै स्वदेशी र विदेशी पर्यटकलाई लाग्ने शुल्कको अन्तर हटाउन तथा हवाई यात्रा सुलभ र सस्तो बनाउन पहल लिने समय आएको तर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए ।


प्रधानमन्त्रीज्यूको निकट भविष्यमा हुने थाइल्यान्ड भ्रमणका क्रममा नेपाल थाइल्यान्ड बिजनेस फोरम आयोजना गरी विदेशी लगानी भित्र्याउने पहलमा साथ दिन महासंघले हरतरहले काम गरिरहेको पनि अध्यक्ष ढकालले बताए ।
यसअघि महासंघले भारतमा दुइपटक र चीन तथा दुबईमा यस्तै चार वटा लगानी पवर्द्धन कार्यक्रम आयोजना गरिसकेको छ । लगानीकर्ताहरुको माग बमोजिम महासंघले स्थापना गरेको विदेशी लगानी सहायता कक्षले लगानीकर्ताहरूलाई सहयोग पुर्‍याइरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । सो अवसरमा आर्थिक सुधारका लागि आयोग बनाउने विषयलाई कार्य योजनामा समेटिएको भन्दै अध्यक्ष ढकालले अर्थमन्त्रीलाई धन्यवाद समेत ज्ञापन गर े । यस्तो आयोगले निजी क्षेत्र सरकारका सरोकारवाला निकायबिच समन्वयको काम गर्ने र समस्या समाधानको पहल गर्ने विश्वासमा महासंघले आर्थिक सुधार आयोगको प्रस्ताव गर्दै आएको पनि ढकालको भनाइ थियो ।


उनले कम्तीमा दश वर्ष उत्पादनमूलक क्षेत्रका लागि ल्याइएको सहुलियतमा परिवर्तन नगर्न पनि आग्रह गर्दै उद्योग व्यवसायले खपत गर्ने विद्युतलाइ कच्चा पदार्थको रूपमा सुलभ दरमा उपलब्ध गराउन र ह्वीलिंग चार्ज तिरेर सिधै बिजुली किन्ने व्यवस्था गरिनु पर्ने पनि भनाई राखे । सानो लगानी भएका तर ठाउँ नपाएका साना लगानीकर्ताहरूलाई समेटेर महासंघको पहलमा नेपाल डेभलेपमेन्ट कम्पनी स्थापना भएको जानकारी गराउँदै उनले यसबाट हामी स्टार्ट अप, जलविद्युत लगायतका पूर्वाधार एवं सार्वजनिक संस्थानहरूको क्षमता विस्तारमा लगानी गर्ने योजना रहेको पनि बताए।
निजी क्षेत्रलाई हेर्ने करिब डेढ दर्जन नियामक निकाय भएकाले अख्तियारको कार्यक्षेत्र भित्र तान्न पर्ने अवस्था नरहेकाले यसमा निजी क्षेत्रलाई निरुत्साहित बनाउने गरी कानुन निर्माण गर्न नहुने तर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए ।
निजी क्षेत्र मैत्री कानुनी व्यवस्था र नीति निर्माण तहमा निजी क्षेत्रको सहभागिताले नै आर्थिक समृद्धि हासिल हुने भएकाले राजनीतिक तथा सरोकारवालाहरूले यसमा ध्यान दिने विश्वास व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सेयर बजारबाट एक वर्षमा उठेको पुँजीगत लाभकर साउनमा नै उठेको बताएका छन् । उनले यो तथ्यांक प्रस्तुत गर्दा फ्लोरबाट सहभागीले ‘हुटिङ’ लागाएका थिए ।अर्थतन्त्रमा सुधार आउन सेयर कारोबार र घरगग्गा कारोबारमा नै सुधार हुनुपर्ने उनको भनाइ छ । यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अहिलेको सरकारप्रति व्यवसायीहरू सकारात्मक रहेको बताए । नीतिनियम लगानीमैत्री हुनुपर्ने, उद्योगीलाई कस्ने खालको हुन नहुने, नीतिगत व्यवस्था आवश्यकता अनुसार मात्रै परिवर्तन हुनुपर्नेमा उनको जोड छ ।