षोडशा सुन्दरीजस्तो
झुत्तो खेलेर आइरहेका शब्दहरू
एक पछि अर्को गर्दै आइरहेका
लोभ्याइरहेका त्यो लेखकलाई
जो बादशाह बनेको छ लेखनीको
अनि त चिन्मय दृष्टिमा हेरिरहेको छ
प्रत्येक शब्दको साङ्गोपाङ्गो भूगोल।
एउटाले भन्छे– मलाई प्रयोग गर
अर्को भन्छे– उसलाई होइन, मलाई
विभिन्न बान्की, भाव–भङ्गीका लहरी
उठिरहेका अनवरत नदीको तरङ्गजस्तो
लेखक भन्छ – तिमी हुन्न,
अनि अर्कोलाई भन्छ – तिमी झन् हुन्न
यस्तो क्रमबन्धन चलिरहेको लेखक र शब्दहरूबीच
गहिरो भाव सागर तर्न नसक्दा
लेखक जहाँको त्यही घोत्लिइरहेको ।
ब्रह्म नै शब्द हो
झङ्कृत मधुरनाद नै ब्रह्मज्ञान
शब्दोच्चारणमा जति ओज हुन्छ
शब्द संयोजनमा त्यति मोज हुन्छ
जसले जान्यो खेल्न शब्दको आकृतिसँग
लवज सङ्गीतको धुन बनेर निस्किन सक्छ
धनु चलाउने सिपालु धनुर्धर भएजस्तै
शब्दसँग खेल्न सक्ने महारथी नै
महान् लेखक बनेका छन् धरतीमा
तर यसरी खेल्न लहड चाहिन्छ
गुरुत्वाकर्षणबाट उड्ने तागत चाहिन्छ
कल्पनाको आकाशमा गोता लगाउन सकेपछि
शिल्प जडित इन्द्रेणीद्वार देखिन्छ।
शब्द निफनेको मान्छे
शब्द केलाएको मान्छे
शब्दको रसास्वादन गराउन
शब्द सबैलाई बाँडेको मान्छे
शब्दको लालित्य, यसरी बनेको साहित्य
यसको ज्ञान सधैं बाँडेको मान्छे
यस्तो प्रज्ञान, प्रज्ञाशील मान्छेलाई
म त केवल नमन गर्न सक्छ् ।
प्रतिक्रिया