देशान्तर विशेष संवाददाता काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि अझै डेढ वर्ष बा“की छ“दै सभापति शेरबहादुर देउवाले निर्धारित मितिमा महाधिवेशन नगर्ने आकलन गरेका इतर पक्षका नेता, वरिष्ठ नेता एवं डा. शेखर कोइरालाले निर्धारित मितिमै महाधिवेशन गर्ने सुनिश्चितता गर्न केन्द्रीय समितिको बैठकमै माग राखेको र उक्त प्रस्तावलाई महामन्त्री गगनकुमार थापालगायतले पनि समर्थन गरेको बैठकमा सहभागी एक पदाधिकारीले देशान्तरलाई बताएका छन् । यसले कांग्रेसमा आगामी २०८२ मंसिरभित्रै नियमित महाधिवेशन गराउन दबाब बढेको देखिन्छ । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा गत आइतबार नेता कोइरालाले कुनै पनि बहानामा नियमित महाधिवेशन नसार्न सभापति देउवालाई सचेत गराएपछि संस्थापन पक्षमाहलचल पैदा हुनुको साथै सतर्कता बढेको बुुझिएको छ ।यसअघि नै महामन्त्री थापाले गत फागुनमा भएको महासमिति बैठकमै २०८२ मंसिरमा पार्टीको पन्ध्रौं महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए, त्यही अनुरूप नेता कोइरालाको प्रस्ताव आएको इतर पक्षको दाबी छ । यसरी विधिवत्रूपमै कांग्रेसको केन्द्रीय समितिको बैठकमा २०८२ मै महाधिवेशन हुनुपर्ने बहस प्रवेश पाएको छ । तर केन्द्रीय समितिमा निकै शक्तिशाली सभापति देउवा यसमा सजिलै सहमत होलान् भन्ने कुरामा संस्थापन पक्षले विश्वास गरेको छैन ।
खासगरी नयाँसत्ता समीकरणपछि कांग्रेसमा नियमित महाधिवेशन समयमै नहुने हो कि भन्ने आशंका इतर पक्षमा बढ्दै गएको छ । एमालेसँगको सहमतिअनुसार दुई वर्षपछि अर्थात्२०८३ असारमा देउवा प्रधानमन्त्री बन्नेछन् र प्रधानमन्त्री बनेपछि मात्रै देउवाले महाधिवेशन गराउन सक्ने आकलन यो पक्षको छ । सरकारको नेतृत्व परिवर्तन नहुँदै महाधिवेशन गरिए पार्टीको नेतृत्व परिवर्तन हुनसक्ने र पार्टीको आन्तरिक समीकरण फेरिँदा देउवा प्रधानमन्त्री हुन नपाउने हो कि भन्ने त्रास संस्थापन पक्षमा रहेकाले देउवाले एक वर्ष कार्यकाल लम्ब्याउने रणनीतिमा लागेको शेखर गगन पक्षको बुझाइ छ ।
आगामी महाधिवेशनका बारेमा सभापति देउवा र संस्थापनपक्ष मौन देखिएपछि नेता कोइरालाले क्रियाशील सदस्यतालगायत समस्या तत्काल समाधान गरी २०८२ मंसिरमा पन्ध्रौं महाधिवेशन गर्ने सुनिश्चितता यसै केन्द्रीय समिति बैठकले गर्नुपर्नेमा जोड दिएका छन् र उनले पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरू बनाउनुपर्ने पनि बताएका छन् । ‘यो वा त्यो बहानामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ,’ कोइरालाले भनेका छन् । बैठकमा नेता कोइरालाले महाधिवेशनको मितिमा आशंका व्यक्त गरेपछि देउवाले बीचमै संक्षिप्त टिप्पणी गर्दै ‘मैले त्यस्तो के बहाना बनाएको छु, महाधिवेशन समयमै गर्छु, अरू कुरा गर्नुहोस्, यो कुरा गर्न पर्दैन, मैले के बहानाबाजी गर्ने ?’ देउवाले भनेका थिए ।
नेता कोइरालासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि पार्टीका कार्यक्रमहरू अब महाधिवेशन केन्द्रित हुनुपर्ने बताउँदै आएका छन् । थापाले अब हुने सय दिनको सांगठनिक अभियानले नियमित समयमा महाधिवेशन गराउने वातावरण सिर्जना गर्ने र महाधिवेशनका लागि आधारभूत विषय नै क्रियाशील सदस्यताको नवीकरण भएकाले अब त्यसमा ध्यान दिनुपर्ने बताए । कांग्रेस महासमितिले गरेको निर्णयअनुसार अब हरेक वर्ष क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदान गरिनुपर्छ र महाधिवेशनको वर्ष क्रियाशील सदस्यता नवीकरण गरिँदैन । तर, चौधौं महाधिवेशन यता अहिलेसम्म कुनै पनि ठूला नेताले क्रियाशील सदस्यता नवीकरण नगरेको महामन्त्री थापाको भनाइ छ । अब केन्द्रीय कार्यालयले चाहेर मात्रै सदस्यता नवीकरण नहुने र आफ्नो ठाउँमा सबैले सदस्यता नवीकरण गराउनुपर्ने प्रावधान रहेकाले अब हुने सांगठनिक अभियानमा सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने थापा बताउँछन् ।
कांग्रेसको विधानमा सभापतिसहित सबै पदाधिकारी र सदस्यको कार्यकाल चार वर्षको हुने व्यवस्था छ, यसको अर्थ हो हरेक चार वर्षमा महाधिवेशन हुनुपर्छ । विशेष परिस्थितिमा थप एक वर्ष बढाउन पाइने व्यवस्था पनि छ । अर्कातर्फ राजनीतिक दलको महाधिवेशन पाँच वर्षभित्र हुन नसके थप ६ महिना बढाउन सकिने प्रबन्ध संविधानमा छ । संस्थापन पक्ष एक वर्ष थप गर्न सकिने र आवश्यक परेमा अर्को ६ महिना गरी डेढ वर्ष कार्यकाल लम्ब्याउने भित्री रणनीतिमा लागेको छ ।
एमालेसँगको सहमतिअनुसार २०८४ को चुनाव गराउने सरकारको नेतृत्व देउवाले गर्ने छन् र देउवा प्रधानमन्त्री र सभापति हुँदै आगामी चुनाव गराउन चाहन्छन् अनि चुनावपछि मात्रै महाधिवेशन गराउने उनको भित्री मनशाय देखिन्छ । सभापति र प्रधानमन्त्री हुँदै चुनाव गराउन सके आफ्नो पक्षका लागि टिकट दिन सकिने र त्यसपछि पनि पार्टी र संसदीय दलमा आफ्नै वर्चस्व हुने संस्थापनको रणनीति छ ।
कार्यकाल तोक्ने प्रस्तावको विरोध
यस्तै, संस्थापन पक्षका नेताहरू महामन्त्री विश्वप्रकाश शर्माले एउटा व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने गरी राखेको प्रस्तावको विपक्षमा उभिएका छन् । जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री शर्माले समसामयिक विषयमा प्रतिवेदन पेस गर्दै एउटा व्यक्ति प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नहुने प्रस्ताव गरेका थिए, यो प्रस्तावको विपक्षमा सबैभन्दा पहिले परराष्ट्रमन्त्री एवम् देउवापत्नी आरजु राणा र पार्टी प्रवक्ता एवम् देउवाका विश्वासपात्र डा. प्रकाशशरण महत देखिए । परराष्ट्रमन्त्री राणाले त शर्माको प्रस्ताव अस्वीकार्य रहेको ठोकुवा गर्दै संविधानले जतिपटक पनि प्रधानमन्त्री बन्न दिएको छ भने कांग्रेसले रोक्न कसरी मिल्छ ?’ भन्दै प्रतिप्रश्न गरेको एक केन्द्रीय सदस्यले देशान्तरलाई बताए । पार्टीप्रवक्ता महतले महामन्त्री शर्माको प्रस्ताव व्यावहारिक नभएको टिप्पणी गरेका थिए ।
दुई पटकभन्दा प्रधानमन्त्री हुन नमिल्ने भन्दै ल्याइएको प्रस्ताव सभापतिलाई पुनः प्रधानमन्त्री हुन नदिने उद्देश्यले ल्याइएको उनले आरोपसमेत लगाएको बुझिएको छ ।‘विश्वप्रकाशजीले ल्याएको एक्जिट पोलिसी व्यावहारिक छैन । यसलाई पारित गर्ने हो भने सभापति देउवाले फेरि प्रधानमन्त्री बन्न पाउनुहुन्न,’ महतले भने, ‘यो प्रस्ताव सभापतिलाई फेरि प्रधानमन्त्री बन्न नदिने उद्देश्यले आएको देखिन्छ ।’ सहभागी एक सदस्यले देशान्तरलाई जानकारी दिए ।
महामन्त्री शर्माले कार्यकाल निर्धारण अर्थात् एक्जिट पोलिसीमा एक, दुई, तीन, चारअनुसार नेतृत्व बहिर्गमन नीति प्रस्तुत गरेका छन् । राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद बढीमा चारपटक हुन पाउने उनले पेस गरेको प्रस्तावमा उल्लेख छ । नेपाली कांग्रेसको विधानमा दुई पटकभन्दा बढी सभापति हुन नपाइने उल्लेख छ, यही प्रावधानअनुसार आगामी महाधिवेशनबाट देउवा सभापति हुन पाउने छैनन् ।
प्रतिक्रिया