देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्डको छटपटी

देशान्तर


काठमाडौं । सत्ताको साँचो आफ्नो पार्टीसँग रहेको दावीगर्दै कांग्रेस र एमालेको बैसाखीमा गत आम निर्वाचनपछि पटक–पटक प्रधानमन्त्री बन्न सफल र माओवादीको संख्यालाई चमत्कारिक भनी नयाँ भाष्य बनाएका माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्ड उनीबाट धोका पाएका संसद्का दुई ठूला दलहरू नेपाली कांग्रेस र एमालेको नवगठबन्धनबाट फालिइए पछि र आफ्नै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका प्रभावशाली दुई युवा नेताहरू उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनको लिखित र मौखिक पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्तावबाट तर्सिएका उनीमा राजनीतिक छटपटी बढेको राजनीतिक विश्लेषकहरूको ठहर छ ।

सत्ता बहिर्गमन र पार्टीमा बढेको नेतृत्व छोड्नुपर्ने दबाबलाई विषयान्तर गर्न समाजवादी मोर्चाका दलहरू (एकीकृत समाजवादी र विप्लव नेतृत्वको माओवादीसँग एकीकरणको रणनीति लागेका उनको प्रस्तावलाई ती दलहरूले तार्किक निष्कर्षमा पुग्नेगरी ‘रेस्पोन्स’ गरिरहेको देखिएको छैन । हिजो शनिबार आयोजित एक कार्यक्रममा उनी आफैले ‘जनार्दन शर्मा पार्टी विभाजनमा लाग्नु भएको छैन र पार्टी एकतालाई कसैले चुनौती दिन सक्दैन’भन्ने बताएबाट पनि उनी कति आत्तिएका रहेछन् र छटपटी कति बढेको रहेछ भन्ने स्पष्ट हुन्छ ।

विप्लवमा ओवादीसँगको एकताको कुरा कति अगाडि बढेको सार्वजनिक नभए पनि पूर्वप्रधानमन्त्री माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादी पार्टीसँगको निरन्तर संवादमा रहेको दुवै पक्षले सार्वजनिक गरिरहेका छन् । आफ्नो पार्टीमा बढेको असन्तुष्टि मत्थर गर्न प्रचण्डले नेपाललाई संसदीय दलको नेता बनाएर आगामी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने र एकीकृत समाजवादीको चुनाव चिह्न ‘कलम’आगामी चुनाव लड्ने साथै पार्टीको नामबाट माओवादी हटाउने सम्मको प्रस्ताव उनले गरेको सार्वजनिक भइरहेको छ । यसबाट पनि पुष्टि हुन्छ– प्रचण्ड आफ्नो बचाउको लागि जस्तोसुकै सम्झौता गर्न पछि नपर्ने चरित्रका र अस्थिर नेता हुन् ।