देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहमति / असहमति – सम्मान ,पुरस्कारका लागि निवेदन: छिः भिखारी !

देशान्तर


अहिले दसैंसम्मको मौसम खासमा नेपाली साहित्यमा सम्मान र पुरस्कारको मौसम रहेछ । यही मौसममा ठूला भनिएका मदन र पद्मश्रीजस्ता पुरस्कारका होहल्ला बढ्ने रहेछन् । यतिबेलै अन्य मझौला आकार (रकम)का पुरस्कारका पनि छोटो सूची आउँदा रहेछन् ।
लेखक/स्रष्टाका र व्यावसायिक/च्याँखे प्रकाशकहरूको ध्यान त त्यता खिचिने नै भयो, आमजनले पनि यस्तो होहल्लाको धेरथोर सुइँको पाउने नै भए ।
यस्ता सम्मान/पुरस्कारहरूमा वास्तविक ‘सम्मान’ र ‘पुरस्कार’ चाहिँ कति हुन्छ ? यो प्रश्न पछिल्लो समय अहम् बनिरहेको छ । यसका पछाडि केही कारण छन् ।
जस्तो कि सम्मान/पुरस्कार कुनै विशेष क्षेत्रमा विशिष्ट काम/योगदान गरेबापत दिइने कुरा हो, जसले गर्दा सम्मानित÷पुरस्कृतले मात्र होइन, समग्र समाजले नै गर्व गरोस् । सम्मान/पुरस्कार दिने संस्था/निकाय नै सम्मानित/पुरस्कृत भएको महसुस गरोस् ।
सम्मान/पुरस्कार दिनेले ठूलो राशि कबोलेर खाममा ‘नोट’ नराखोस्, जुन नोटमा लेखिएको होस्, ‘हार्दिक बधाई ! पुरस्कार रकम चाँडै उपलब्ध गराउने छौं ।’
सम्मान÷पुरस्कार छनोट/निर्णायक समितिमा स्वतन्त्र, निष्पक्ष र विज्ञहरू रहून् र त्यसमा कुनै प्रकारको हस्तक्षेप/दबाब नहोस् ।
सम्मान/पुरस्कार दिनेहरूसँग दैनिक/नियमित चिया/कफी/रक्सी खानेहरूका नाममा सकेसम्म सम्मान/पुरस्कार नपरोस् ।
यी आदि कामना हामीले गरिरहन्छौँ तर बजार हाम्रा कामनाका पछि किन लाग्छ ? पैसा उनका, पदक उनका, राम्रा/महँगा खाजा खुवाएर कार्यक्रम गर्ने उनैका पैसामा अनि आदर्शका उपदेश दिने हामी ! किन टेर्नु परेको छ र हाम्रा कुरा ?
तर पनि हामी बोल्न छाड्दैनौँ । बेबकुफीको पनि सुधार हुन्छ एक दिन भन्ने भ्रम हामीमा बाँकी नै छ । यदि यतिको भ्रम थिएन भने हामीजस्ता धेरैले आत्महत्या गरिसक्थे– चरम निराशाका कारण ।
अँ, खास विषयमा छिरेकै छैन । खास विषयचाहिँ यस्ता सम्मान/पुरस्कारका लागि आवेदन/निवेदन नामका मागपत्र पेस गर्नुपर्ने व्यवस्थाबारे हो ।
केही यस्ता संस्था/सरकारी निकायहरू छन्, जसले आफू सम्मानित÷पुरस्कृत हुन पाऊँ भनेर आवेदन/निवेदन माग गर्छन् । अझ आवेदन/निवेदनसँगै आफू सम्मानित/पुरस्कृत हुन योग्य भएको आधार/प्रमाण पेस गर्नुपर्ने । उसमाथि दुई जना ‘विशिष्ट’ व्यक्तिलाई ‘यसलाई उक्त सम्मान/पुरस्कार दिएर उद्धार/कल्याण गरिदेऊ’ भनेर सिफारिस पनि गराउनुपर्ने ।
धत् ! योभन्दा घीनलाग्दो र तल्लो स्तरको लेखक/स्रष्टाको अपमान अर्थोक होला ? निश्चित विज्ञहरू रहेको समिति बनाएर सम्मान/पुरस्कारका लागि योग्यहरू छान्ने पो हो त ! यति गर्न नसक्नेहरूले यस्ता नौटंकी गरेर सम्मान÷पुरस्कारका नाममा असल, स्वाभिमानी लेखक/स्रष्टाको मानमर्दन नगरून् ।
भर्खरै ‘चर्चित’ ’युवा वर्ष मोती पुरस्कार’का लागि यस्तै सूचना सार्वजनिक भएको छ । राष्ट्रिय युवा सेवा कोषद्वारा उक्त पुरस्कार ४० वर्षमुनिका लेखक/स्रष्टालाई दिइँदै आएको छ । यस पुरस्कारका लागि ४० वर्षमुनिका ‘तन्नेरी’हरू खुबै चम्किन्छन् । मै हुँ भन्ने कथित आदर्शवादी स्रष्टाले समेत यो पुरस्कारका लागि धेरैतिर ‘म्याउँ’ गरेका म स्वयंले देखेको छु । कतिपयको साक्षी म स्वयं छु ।
र, यसरी भिखमंगा शैलीमा आवेदन/निवेदन गराएर दिइने÷लिइने सम्मान÷पुरस्कारले लेखक/स्रष्टालाई सम्मानित महसुस गराउन सक्दैन । यसरी भिखारीपन देखाएर सम्मानपत्र÷प्रमाणपत्र नामको जाबो एउटा कागजको खोस्टो र केही हजार रुपैयाँ रकम लिनुको ग्लानी लिनेलाई जीवनभर नहोस् ।
यसरी सम्मान/पुरस्कार दिने÷लिने चलनको अन्त्य भई लेखक/स्रष्टालाई वास्तवमै सम्मानित÷पुरस्कृत भएको महसुस हुनेगरी यस्ता सम्मान÷पुरस्कार वितरण गरिनु उपयुक्त हुनेछ । यही नियम/व्यवस्थाअनुसार आवेदन/निवेदन दिएर सम्मान/पुरस्कार थाप्नेहरूलाईचाहिँ यसो भने हुन्छ, ’छिः भिखारी !’