देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली टोलीले म्याच नजिते पनि मन जित्यो

देशान्तर


काठमाडौं । घरेलु कोर्ट अनि दर्शकको अपार माया पाउँदा फेरि एक पटक नेपाली महिला भलिबल टोली भारतलाई पराजित गर्दै उपाधि जित्न वञ्चित भएको छ । समूह चरणमा भारतलाई हराएर सनसनी मच्चाएको नेपालले फाइनलमा उसैसँग पराजय भोग्दा उपाधि जित्ने लक्ष्य भने अपूरै रहन पुग्यो । काभा नेसन्स भलिबल लिगको समूह चरणमा भारतलाई पराजित गर्दा इरानसँग नेपाल हारेको थियो । पाँच टिम सहभागी यो प्रतियोगिताको सेमिफाइनलमा फेरि एक पटक नेपाल र इरान आमने—सामने भएका थिए । जसमा नेपालले समूह चरणको हिसाब बराबर गर्दै फाइनलमा स्थान बनाएको थियो । उता भारतले श्रीलंकालाई पराजित गरेर फाइनलमा स्थान पक्का गर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहल खचाखच हुँदा टिकट काटेका दर्शक पनि भित्र प्रवेश गर्न नसक्ने अवस्था सिर्जना भएको थियो ।


नेपालले भारतविरुद्ध अन्तिम सेटसम्म प्रतिस्पर्धा गरे पनि अन्ततः ३–२ को सेटमा स्तव्ध हुँदा फेरि एक पटक उपाधि विमुख भएको छ ।अरुणा शाहीको सर्भिससँगै सुरु भएको फाइनल खेलको पहिलो सेटमा नेपालले लगातार ३ अंक जोडेपछि कभर्डहलको माहोल तातेको थियो ।तर भारतले केही बेरमै ३–३ को बराबरीमा ल्याएपछि खेल अघि बढेको थियो । भारतले नेपाललाई चुनौती दिँदै १८–१४ को अग्रता बनाएको थियो । सोही अग्रतालाई निरन्तरता दिँदै भारतले २३–२० को अग्रता बनाउँदा भारत पहिलो सेटको जित नजिक भए पनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै पहिलो सेट २५–२३ ले जितेर १–० को अग्रता बनायो ।
पहिलो सेटमा जित नजिक पुगेर पनि पराजित भएको भारतले दोस्रो सेटमा भने लगातार अंक जोडेको थियो । कमजोर नेपाली ब्लकको फाइदा उठाउँदै भारतले १३–७ को अग्रता बनायो ।यसपछि निरन्तर अंक जोडेर नेपाललाई मात्र १४ अंकमा रोक्यो । यो सेट नेपालले १४–२५ ले गुमाउँदाभारत खेललाई १–१ को बराबरीमा लयाउन सफल भएको थियो ।
तेस्रो सेटमा भने नेपाल कमब्याक गरेको थियो। यो सेट नेपालले २५–२२ ले जित्यो । खेलमा नेपालले २–१ को अग्रता बनायो।
फाइनललाई अन्तिम सेटसम्म लैजान भारतलाई जित्नै पर्ने र उपाधि हासिल गर्न नेपाललाई जित्नै पर्ने दबाबका बीच चौथो सेटमा भारतले नै बाजी मारेको थियो । चौथो सेट २५–२१ ले भारतले जितेपछि खेल २–२को बराबरीमा पुग्यो ।


पाँचौं सेटमा भने नेपाल सुरुवातदेखि नै पछि परेको थियो । नेपाली खेलाडीले दबाब महसुसपाँचौं सेट १५–५ ले जित्दै भारतले नेपाललाई स्तव्ध बनायो । पछिल्लो समय नेपाली महिला भलिबल टिमले उत्कृष्ट प्रदर्शन गरे पनि भारतलाई हराएर उपाधि जित्न सकेको छैन । तर नेपाली टिमले समूह चरणमा भारतलाई हराएर एउटा इतिहास बनाए पनि उपाधि जित्ने धोका पूरा गर्न भने फेरि अर्को प्रतियोगिता कुर्नुपर्ने भएको छ । नेपाली महिला टिमले भारतलाई सन् २०१६ यता पहिलो पटक समूह चरणमा हराए पनि उपाधिबाट भने टाढै रहेको छ । नेपालको राष्ट्रिय खेल भलिबलमा महिला खेलाडीले गरेको प्रदर्शन राम्रो रहे पनि पूर्वाधार अभावलगायतका कारणले गर्दा नतिजा अझैं आउन नसकेको खेलकुदका जानकारहरू बताउँछन् ।