देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय

नदी किनारका संरचना हटाऊ 

देशान्तर

काठमाडौं उपत्यकामा केहीबेर पानी पर्‍यो कि यहाँका नदी तथा खोला किनारका बस्ती डुबिहाल्छन्, बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, कर्मनासालगायतका तटीय क्षेत्रका बस्ती वर्षामा सधैं जोखिममा रहन्छन् । यो असार र साउनमा मात्रै दुई पटक तटीय क्षेत्रका बस्ती डुबानमा परिसके । अरू त अरू ललितपुरको च्यासलस्थित एमाले मुख्यालय रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको भवन र परिसर पनि डुबानमा परेकैले एमालेले आफ्नो सचिवालय बैठकसमेत कार्यालयमा गर्न सकेन र होटेलमा बैठक बस्नुपर्ने अवस्था आयो । बर्सेनि त्यो पनि पटक–पटक नदी किनारका बस्ती डुबानमा पर्नुको एउटै कारण हो, मानवीय अतिक्रमण । नदीको बहाव क्षेत्र नियन्त्रण गरी जसरी सडक, पर्खाल तथा बस्ती बनाइएको छ, त्यसैको प्रतिफल हो, निरन्तरको डुबान । डुबान हटाउने  एकमात्र उपाय हो ‘नदी किनारको संरचना हटाउने’, सरकारले गम्भीर भएर यस कार्यमा तदारूकता देखाउनु हतार भइसकेको छ ।  

काठमाडौं उपत्यकाका मुख्य नदी किनारको दायाँ–बायाँ ४० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने व्यवस्था छ । मन्त्रिपरिषद्ले बागमती, विष्णुमती र मनोहरा किनारको २० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने निर्णय २०६५ मंसिर १ मा गरेकामा सर्वोच्च अदालतले गत पुस ३ मा थप २० मिटर छाड्नुपर्ने परमादेश जारी गरेको थियो । सर्वोच्चको परमादेशलाई अब काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा लैजाने तयारी गरेको छ । 

काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले मन्त्रिपरिषद् निर्णय र सर्वोच्चको परमादेश स्मरण गराउँदै निर्माण निषेधित क्षेत्रभित्र मापदण्डविपरीत कार्य नगर्न र निषेधित क्षेत्रको ४० मिटरभित्र सरकारी वा निजी भवनलगायतका भौतिक संरचना निर्माणका लागि अनुमति नमिल्ने जनाएका छन् । २०६४ मै उपत्यकाभित्रका खोला किनारमा निर्माण सम्बन्धमा काठमाडौं उपत्यका नगर विकास समितिले मापदण्ड तयार पारेको थियो । त्यही आधारमा २०६५ मंसिर १ मा मन्त्रिपरिषद्ले खोलाको नापी नक्सा कायम रहेको छेउबाट दायाँ–बायाँ दूरी कायम गरी निर्माण कार्य गर्नुपर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयमा बागमती, विष्णुमती नदी र मनोहरा खोला किनारमा २० मिटर, नख्खु खोलामा १२ मिटर, बल्खु कर्मनासा, कोइकु, साङ्ले र महादेव खोलामा १० मिटर, धोबीखोला आयोजना भएको स्थानमा योजनाअनुसारको दूरी र अन्यमा ९ मिटर, करखुसी खोलामा ६ मिटर दूरी कायम गरी निर्माण गर्न दिने उल्लेख थियो । त्यस्तै हनुमन्ते खोलामा २० मिटर, टुकुचा, सामाखुसी र उपत्यकामा बग्ने अन्य खोलामा ४ मिटर र कुनै पनि खोला, खोल्सी र राजकुलो खोप्न नपाइने निर्णय पनि सरकारले गरेको थियो । गत पुसमा सर्वोच्चले सरकारले तय गरेको त्यही मापदण्डमा थप २० मिटर छाडी निर्माण गर्न पाइने आदेश गरेको हो । सर्वोच्च भन्छ, नदी वा खोलाको सीमा नतोकिएको भए दायाँ–बायाँ २० मिटर सीमा निर्धारण गर्नुपर्छ । 

तर, यो मापदण्ड उपत्यका अधिकांश स्थानमा लागू भएको पाइँदैन । कतै निजी सम्पत्तिका नाममा कब्जा गरिएको छ भने कतै सुकुम्बासीको नाममा नदी किनार अतिक्रमित भएको छ । केही स्थानमा त आयोजना र परियोजनाका नाममा सरकारले नै संरचना बनाएको छ । बारम्बारको बाढी र डुबानको समस्यालाई निराकरण गर्ने हो भने सर्वोच्चको परमादेशअनुसार नदी किनारमा बनेका मापदण्डविपरीतका संरचना हटाउनुपर्छ । महानगरले त्यसको सुरुवात गरिसकेको जनाए पनि देखिनेगरी कुनै काम भने भएको छैन । 

खासगरी सुकुम्बासीको नाममा नदी किनारमा गरिएको अतिक्रमण नहटाएसम्म वा नदी किनारबाट सुकुम्बासीलाई नहटाएसम्म अतिक्रमण रोकिने छैन । महानगर प्रमुख बालेन्द्र साहले यसअघि नै सुकुम्बासी हटाउन खोजे पनि राजनीतिक दलहरूको साथ नपाउँदा सुकुम्बासीलाई नदी किनारबाट हटाउने अभियान सफल हुन सकेको छैन । यतिमात्रै होइन नदी किनारमा करिडोरका नाममा बनाइएका सडक, पार्क तथा विश्रामस्थल र नदी नियन्त्रणका नाममा बनाइएका पर्खालले पनि खोला तथा नदीहरूको बहाव क्षेत्र साँघुरिँदै गएको छ र जब पानी पर्छ बाढीले ती सबै सीमा रेखा पार गरिहाल्छ । भनिन्छ, नदीले आफ्नो बहाव क्षेत्र आफैं निर्धारण गर्छ । यसलाई मानिसले यताउता फर्काउने प्रयास गर्नु मूर्खता हो । कटान नियन्त्रण गर्न सकिन्छ तर, नदीलाई नियन्त्रण गर्न सकिँदैन । यत्ति मात्रै बुझ्ने हो भने पनि उपत्यकामा बर्सेनि हुने बाढीको डुबानबाट छुटकारा पाउन सकिन्छ ।