काठमाडौं । सशस्त्र द्वन्द्वका बेला आम जनतालाई बाँडेको सपनालाई तिलाञ्जली दिएर सत्ता यात्राको १८ वर्षमा झन्डै १५ वर्ष निरन्तर सत्तामा रहेको नेकपा माओवादी केन्द्र केवल सत्ता स्वार्थमा मात्र केन्द्रित हुँदा कुनै बेला संविधानसभाको सबैभन्दा ठूलो दल लगातार खुम्चिँदै चोइटिँदै र खिइँदै गएर गत आम निर्वाचनमा त गठबन्धन गर्दासमेत प्रत्येक्षतर्फ जम्मा १८ सिटमा सीमित हुँदै अहिले राष्ट्रिय राजनीतिमा कांग्रेस र एमाले हाबी हुँदा रक्षात्मक अवस्थामा पुगेको छ ।
माओवादी विशेषगरी यसको मूल नेतृत्व पुष्पकमल दाहाल प्रचण्डको सत्तालिप्साका कारण उनका जनयुद्धकालीन मुख्य सहयोगीहरू मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’, रामबहादुर थापा ‘बादल’ लोकेन्द्र विष्टलगायतले प्रचण्ड र उनको पार्टीको साथ छोड्दै गएपछि सुरु भएको विग्रह र ओरालो यात्रा अब प्रचण्डले थेग्नै नसक्ने गरी अघि बढेको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन् ।
प्रचण्ड शैलीको अहिले पार्टीभित्र पनि आलोचना हुँदै गएको छ । प्रचण्ड प्रधानमन्त्री हुँदा मुख्य सल्लाहकार नियुक्त उपमहासचिव हरिबोल गजुरेलले मंसिर २० गते प्रचण्ड शैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए । उनै गजुरेलले साउन १४ गते केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकमा पार्टीका सबै पदाधिकारीहरूको राजीनामाको प्रस्ताव राखे । गजुरेलले पार्टीमा पदाधिकारीहरूबाट पनि गम्भीर गल्ती भएको भन्दै विधिको सुरुवात माथिबाटै हुनुपर्ने तर्क गर्दै यस्तो प्रस्ताव अगाडि सारेका थिए । उनको जिकिर छ, पार्टीको आठौं महाधिवेशनले पारित गरेको विधानले स्थायी कमिटीको एकतिहाइ मात्रै पार्टीको पदाधिकारी बन्ने व्यवस्था गरेको तर २१ जना पदाधिकारी विधानविपरीत हो । विधानअनुसार माओवादीले १५ जनामात्रै पदाधिकारी बनाउन पाउँछ । उनले आफ्नो हिस्साको कमजोरी स्वीकार गर्दै राजीनामा दिन तयार रहेको बताइसकेका छन् । एक अर्कालाई देखाएर राजनीतिक लाभ लिने र शक्ति आर्जन गर्ने प्रचण्डको पुरानै शैली हो तर अब यो शैली पार्टीभित्र र पार्टी बाहिर लागू गराउन प्रचण्ड सक्षम नहुने टिप्पणी हुन थालेको छ । विगतमा जस्तै प्रचण्डकै कारण अहिले फेरि माओवादी केन्द्रमा बिग्रह सुरु हुने देखिएको प्रचण्ड मनोविज्ञान बुझेका वामविश्लेषकहरूको भनाइ छ । सत्ताच्युत भएपछि बल्ल आफ्ना कमी–कमजोरी खोतल्ने प्रयासमा जुटेको माओवादी केन्द्रले थप छलफलका लागि आउँदो साउन २५ गते पार्टीको स्थायी कमिटी बैठक आह्वान गरेको छ ।
आम निर्वाचनपछि संसदको तेस्रो दल हुँदा पनि कांग्रेस र एमालेलाई खेलाउँदै १८ महिना प्रधानमन्त्री खाएका कांग्रेस एमाले नमिल्ने र आफू पाँचै वर्ष प्रधानमन्त्री बन्ने दम्भ पालेर बसेकामा कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि छाँगाबाट खसेझै भएका प्रचण्ड प्रतिपक्षमा हुत्तिए पछि बल्ल जनता सम्झँदै छन् । उनले अब जनतामा जाने भनेर दिएको अभिव्यक्तिसमेत आलोचित छ । उनको अभिव्यक्तिलाई सत्तामा हुँदा जनता नचाहिने सत्ता गुमेपछि मात्र जनता चाहिने रैछ माओवादीलाई भनेर धेरैले व्ंयग्य पनि गरेका छन् । २०७० को निर्वाचनपछि तीनवटै तहको निर्वाचनमा माओवादीले एक्लै लड्ने आत्मविश्वाससमेत गुमाएको छ ।(देशान्तर साप्ताहिकबाट)
प्रतिक्रिया