देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा एस फुटको संंघारमा

देशान्तर


काठमाडौं । वैशाखको अन्त्यतिर जब उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा रहेका अशोक राईसहित ७ जनाले पार्टी फुटाए त्यतिबेला अमेरिकामा रहेका यादवलाई भन्दा बढी छटपटिएर नेपालमा रहेका नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालमा देखिएको थियो । कारण थियो जुन शक्तिको आधारमा उनी प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका थिए त्यो शक्तिमा क्षयीकरण हुनु र अर्को जस्ले उपेन्द्रको पार्टी फुटाउन भूमिका खेले उसैले आफ्नै पार्टी पनि फुटाई दिन सक्ने भयले माधव चिन्तित थिए । शंकाको सुई पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति घुमेको थियो । खनाल जो एमालेप्रति नरम छन् । उनले त स्पष्टीकरण दिए जसरी विज्ञप्ति नै जारी गर्न बाध्य भए । खनालले आफूले पार्टी फुटाउन लागेको भनेर नियोजित रूपले यस्तो प्रचार गरेको बताएका थिए । उनले एकीकृत समाजवादीबाट ६ जना सांसद लिएर खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला तीव्र रूपले भ्रमको कुहिरो फैलाइएको जिकिर गरेका थिए। त्यसपछि लगातार आन्तरिक छलफल गरेर तत्कालको फुटलाई टारेर महाधिवेशनसमेत सम्पन्न गरिसकेको नेकपा एसको फुटको सम्भावना भने टरेको छैन । बरु फुट नजिक गएको राजनीतिक जानकारहरूले बताएका छन् ।


उनीहरूले नेकपा एसका सांसद प्रेम आलेले आफू नेकपा एसमा नरहेको सार्वजनिक अभिव्यक्ति दिइसकेकाले र अन्य केही सांसदले समेत खुट्टा उचालिसकेकाले नेकपा एस फुटको नजिक रहेकोर जुनसुकै बेला फुट्ने विश्लेषण गरेका छन् । एमालेसँग पार्टी फुटाएलगत्तै अघिल्लो संसद्बाट मन्त्री बनेका नेकपा एसका प्रभावशाली नेताका रूपमा रहेका प्रेम आले नेकपा एकीकृत समाजवादी पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन चलिरहँदा भारत भ्रमणमा थिए । उनी पार्टीको महाधिवेशन सकिएपछि नेपाल फर्किए तर महाधिवेशनले सर्वसम्मत केन्द्रीय कमिटीको घोषणा गर्दा त्यसमा आलेको नाम समेटिएन । आलेले आफू विगत आठ महिनादेखि पार्टीमा निष्क्रिय रहेको भन्दै राजनीतिक दिशा स्पष्ट नभएको र अहिलेलाई आफू स्वतन्त्र भएको बताउँदै आएका छन् । पार्टीमा धेरै समयदेखि असन्तुष्ट देखिएका र आले, किसान श्रेष्ठ, धनबहादुर बुढालगायतको लाइनमा अरू तीन जना सांसद रहेकोर पार्टी फुटेमा अध्यक्ष माधव नेपालको पक्षमा सांसदहरू राजेन्द्र पाण्डे, प्रकाश ज्वाला र भानुभक्त जोशीमात्र रहने नेकपा एसलाई नजिकबाट नियालिरहेका राजनीतिका जानकारहरूको भनाइ छ ।