देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली सरकारका सम्भावित मन्त्रीहरू

देशान्तर

काठमाडौं । नयाँ सरकारको लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएसँगै आज आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ४५औं प्रधानमन्त्री बन्ने निश्चित भएको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत हासिल नगरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को उपधारा २ बमोजिम आज आइतबार अपराह्न ५ बजेसम्मका लागि समय दिएर सरकार गठनका लागि आह्वान गरेका थिए ।

शुक्रबार राति नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीसहितका नेताहरू राष्ट्रपति निवास शीतल निवास पुगेर ओलीलाई प्रधानमन्त्री बनाउन आफ्ना पार्टीका सबै सांसदको हस्ताक्षरसहित पेस गरेका थिए । शुक्रबार राति अबेर पुगेका र शनिबार सार्वजनिक बिदा परेका कारण राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्ति गर्ने मिति आइतबारलाई सारेको कांग्रेस–एमाले गठबन्धन नेताहरूले देशान्तरलाई बताएका छन् । ओलीले सोमबार प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् ।

राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझ ५ बजेसम्म रहेकाले सोमबार मात्र शपथ हुने भएको हो । ‘आइतवार दिइएको समय सीमापछि मात्र नियुक्ति प्रक्रिया र शपथको प्रक्रिया अगाडि बढ्छ’, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले देशान्तरसँग भने ।

आइतबार साँझ राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नेछन् भने सोमबार बिहान ११ बजे शपथ गराउने तयारी शीतलनिवासले गरेको छ । 

संविधान संशोधनको मुख्य एजेन्डासहित कांग्रेस–एमाले मिलेर नयाँ सरकार बनाउँदै गर्दा ओलीले पटक–पटक मन्त्रिपरिषद् विस्तार नगर्ने भन्दै सबै कुरा एकै पटक गर्ने बताउँदै आएकाले सम्भवतः धेरै मन्त्रीहरूको शपथग्रहण पनि प्रधानमन्त्रीको शपथलगत्तै हुनेछ । संविधानअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण राष्ट्रपतिले गराउने व्यवस्था छ भने प्रधानमन्त्रीले राज्यमन्त्रीलाई मात्रै शपथग्रहण गराउँछन् ।

कांग्रेस कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गर्दै योगदान र योग्यता, समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेस र एमालेबीचको भागवन्डा अनुसार प्रधानमन्त्री लिने पार्टीले ९ र अर्को पार्टीले १० मन्त्रालय लिने सहमति छ । संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद्भन्दा बढाउन मिल्दैन । केन्द्रमा बढीमा २१ मन्त्री र चार राज्यमन्त्री बन्ने व्यवस्थाअनुसार अहिलेसम्म कांग्रेस र एमालेले १० र ९ मन्त्रालय लिने करिब–करिब सहमति भएको छ । तर, प्रचण्डलाई विश्वासको मत नदिएका साना पार्टीहरू पनि सरकारमा सहभागी हुने र संविधान संशोधनका लागि पनि दुईतिहाइ आवश्यक पर्ने भएकाले साना पार्टीलाई सरकारमा सहभागी गराउँदै कांग्रेस र एमालेका मन्त्रीको संख्या घट्ने सम्भावना पनि रहेको छ ।

पछिल्लो समय कांग्रेसले पाउने १० मन्त्रीका लागि कांग्रेस सांसदहरूको दौडधुप सभापति निवास, वरिष्ठ नेता कोइराला निवास र महामन्त्री गगन निवासमा तीव्र भएको उनीहरूको सचिवालयले देशान्तरलाई बताएको छ । १० मध्ये पार्टी सभापति देउवाले ५ र ४ जना वरिष्ठ नेता डा. शेखर कोइराला पक्षलाई दिने विश्वस्त सूत्रले देशान्तरलाई बताएको छ । १ जना भने शीतल निवासलाई छुट्ट्याइएको पनि सूत्रहरूले बताएका छन् ।

देउवाले उपप्रधानमन्त्री बनाउँछु भनेर पूर्वमहामन्त्री एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई तयारी अवस्थामा रहन भनेको सिंहको सचिवालयले देशान्तरलाई बताएको छ । कांग्रेसको १४औं महाधिवेशनमा दोस्रो चरणको मतदानमा देउवालाई साथ दिएका र नेतापुत्रहरूमा राजनीतिमा निरन्तर योगदान गरेका प्रकाशमान देउवाको पहिलो रोजाइमा पर्नु स्वाभाविक लिइएको छ । कृष्णप्रसाद सिटौलाले आफंै नै सरकारमा सहभागी नहुने बताइसकेका छन् भने विमलेन्द्र निधिले मन्त्री बन्ने विषयमा मुख खोलेका छैनन् । यसैगरी प्रकाशमानपछि अहिलेको सत्ता समीकरण निर्माणमा मुख्य भूमिका खेलेका रमेश लेखक मन्त्री बन्ने पक्का छ । यस्तै कांग्रेस–एमाले गठबन्धन आलोपालो हुने पहिला नै भनिएकाले अर्को कार्यकाल शेरबहादुर देउवा आफंै प्रधानमन्त्री बन्ने भएकाले आफ्नै क्याबिनेटमा श्रीमतीलाई मन्त्री बनाउँदा आलोचना खेप्ने डरले ओलीकै सल्लाहमा देउवा, पत्नी डा. आरजु राणालाई मन्त्री बनाउने सम्भावना अत्याधिक रहेको छ । यसैगरी काठमाडौं उपत्यकाबाट आरजुका नाताले भाइपर्ने उदयशमशेर राणा र सभापति निकट अनि एमालेका महेश बस्नेतलाई पराजित गरेका भक्तपुर २ का सांसद तथा पार्टी सभापति दुर्लभ थापाको पनि मन्त्रीमा चर्चा छ । तर, आरजु मन्त्री बन्दा उदयको सम्भावना कमजोर हुनेछ भने दुर्लभको सम्भावना बढ्ने छ । 

यसैगरी, उद्योगी विनोद चौधरीले अहिलेको गठबन्धन निर्माणमा सहयोग गरेको भन्दै उनी पनि मन्त्री बन्ने लाइनमा रहेका छन् । किशोरसिंह राठोर र अजय चौरसिया पनि देउवा क्याम्पबाट मन्त्री बन्ने तयारीमा रहेका छन् ।  वरिष्ठ नेता डा. शेखर कोइराला पक्षबाट दीपक गिरी, चन्द्र भण्डारी, रामनाथ अधिकारी, जीवन परियार, वद्री पाण्डे र प्रदीप पौडेलको चर्चा चलेको छ । शेखर पक्षले ४ जना मन्त्री पाउँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा जसरी पनि प्रदीपलाई बनाउनुपर्ने अडानमा रहेको बुझिएको छ । उनी नबन्ने अवस्थामा गगन निकट प्रतिमा गौतमको पनि सम्भावना रहेको छ । यस्तै, शीतल निवासको इच्छा अनुसार १ जना मन्त्री कांग्रेसले बनाउने अड्कलवाजी पनि भइरहेको छ । यस्तो अवस्थामा तेजुलाल चौधरी र हृदयराम थानी मध्य १ जना मन्त्री बन्ने पनि चर्चा छ । कांग्रेसकै पूर्वमहामन्त्री डा. शशांक कोइराला पनि मन्त्री बन्ने चर्चा रहेको छ । उनले यसअघि कृषि मन्त्री बन्ने इच्छा देखाएका थिए । उनी मन्त्री नबनेमा उनको कोटाबाट दीपक खड्का मन्त्री बन्ने सम्भावना पनि रहेको छ । 

नेकपा एमालेबाट प्रधानमन्त्री ओली बन्दा सर्वाधिक चर्चा उपप्रधानमन्त्रीसहित एउटा मन्त्रालय लिने व्यक्तिमा विष्णु पौडेलको नाम रहेको छ । उनी यसअघि पनि अर्थमन्त्री भइसकेको र एमालेले नै अर्थमन्त्री लिने पक्का भएकाले पौडेल अर्थमन्त्रीमा दोहोरिन सक्छन् । यसैगरी काठमाडौंबाट कृष्णगोपाल श्रेष्ठको चर्चा छ भने गोकर्ण विष्ट पनि दौडधुपमा लागेका छन् । त्यसैगरी एमालेका महासचिव शंकर पोख्रेलको कोटामा योगेश भट्टराई बन्ने सम्भावना रहेको छ । ओलीले हालै प्रचण्ड नेतृत्वको सरकारमा सामेल भएका मध्य पदम गिरीलाई मन्त्री बनाउने चर्चा चलेको छ भने उनीसँग सूर्य थापा, जुली महतो र ज्वालाकुमारी साहसँगै ठाकुर गैरे, महेश बर्तौलालगायतका नेताहरूको पनि मन्त्री बन्ने सम्भावना रहेको छ । 

सानादलहरूमध्य लोकतान्त्रिक समाजवादी (लोसपा)ले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । शनिबार बसेको बैठकले सरकारमा पठाउने मन्त्रीबारे निर्णय गर्नका लागि अध्यक्ष महन्त ठाकुरलाई पार्टीले जिम्मा दिएको छ ।