देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९१ पुग्यो,३८ अझै बेपत्ता,राहतमा समस्या

देशान्तर

काठमाडौं । बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९१ पुगेको छ । ३८ जना बेपत्ता छन् भने २५ घाइते भएका छन् । बेपत्ता भएकाको खोजी कार्यलाई तीव्रता दिइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

शुक्रबार रातिदेखि तीन दिनसम्म आएको बाढीपहिरोबाट २ हजार ८ सय ४७ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् । ३ हजार ७ सय ४७ विभिन्न पूर्वाधार संरचनामा क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।

पीडितहधको उद्धारका लागि २६ हजार ७ सय व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिएका छन् । बेपत्ताहरूको खोजी, उद्धार र राहत वितरणका लागि सेनाका ७ र ६ निजी हेलिकोप्टरसहित मोटरबोट र रबर्टबोट प्रयोग गरिएको गृह मन्त्रालयका प्रवक्ता सुवेदीले बताए ।

झापाको झापा गाउँपालिका वडा नं. ७ कुचोदह क्षेत्रबाट बाढीपीडित वृद्धको उद्धार गरी सुरक्षित स्थानतर्फ लैजाँदै सेनाका जवान ।

प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री जनार्दन शर्मासहितको टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको छ । प्रधानमन्त्रीको टोलीले बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरी र झापा क्षेत्रका बाढीपीडितलाई भेटेको छ । राहत वितरणमा कुनै कसर बाँकी नराख्न टोलीले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

सरकारले तराईका १२ जिल्लाका बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ । झापा, सुनसरी, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलालीमा राहत वितरण गरिएको हो । अरू राहत सामग्री आवश्यकता अनुसार वितरण गरिने प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

यता,जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार सक्रिय मनसुन प्रणाली कमजोर भएकाले भारी वर्षा हुने सम्भावना टरेको छ । सोमबार बेलुकादेखि मनसुन सामान्य अवस्थामा आइसकेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।

मंगलबार उपत्यकामा सामान्य वर्षा हुने महाशाखाले जानकारी दिएको छ । पश्चिमी नेपालसहित सुदूरपश्चिममा सामान्य वर्षा हुने प्रक्षेपण गरिएको छ । त्यसैगरी, पूर्वी नेपालका पहाडी जिल्लामा पनि सामान्य वर्षा हुने पौडेलले बताए ।

गृह मन्त्रालयले राहत वितरण प्रणालीमा एकद्वार प्रणाली अपनाउने निर्णय गरेको छ । बाढी प्रभावित क्षेत्रमा राहत वितरण प्रणालीलाई प्रभावकारी बनाउन गृह मन्त्रालयका सहसचिव केदार न्यौपानको अध्यक्षतामा राहत संकलन संयोजन समिति गठन गरिएको छ ।

बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई सरकारले दिने भनेको दुई लाख रुपैयाँ पठाउन अझै केही दिन लाग्ने भएको छ । मृतक सबैको पहिचान भइसकेपछि मात्रै सो रकम पीडित परिवारलाई दिइने मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले बताए । हाल मृतकको तथ्यांक संकलन भइरहेको छ ।

सोमबारसम्म बाढीले देशभरका १७ पुलमा क्षति पुगेको छ । सडक विभागका अनुसार ६ वटा सडकखण्ड र दुईवटा कल्भर्टमा पनि क्षति भएको छ । ‘मध्यपश्चिममा सञ्चार समस्या भएकाले सबै विवरण आएको छैन,’ विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले भने ।

बाढीबाट उत्पन्न प्रकोप न्यूनीकरणका लागि औषधिको पर्याप्त मौज्दात र स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाँच ठाउँमा छुट्टाछुट्टै टोली बनाएर खटाइएको मन्त्रालयले जनाएको छ । बाढी प्रभावित क्षेत्रवरिपरि सर्पदंशको त्रास बढेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।