देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश प्रमुख र सभामुखको पद धरापमा



काठमाडौं । कांग्रेस एमालेको नयाँ गठबन्धन पछि केही प्रदेश प्रमुख र केही सभामुखको पद धरापमा परेको छ । नयाँ गठबन्धनपछि बागमतीका यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारको पद धरापमा परेको हो । त्यसैगरी गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीको पद पनि धरापमा परेको छ ।


नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादी नरहेका कारण बागमती प्रदेश प्रमुखको पद धरापमा परेको हो । हाल बागमती प्रदेशको प्रदेश प्रमुखमा रहेका शर्मा नेकपा एस निकट हुन् । माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उनी स्वकीय सचिव थिए । नेपालकै प्रस्तावमा प्रदेश प्रमुख नियुक्त भएका शर्माको पद धरापमा परेको हो । यसैगरी लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियार माओवादी हुन् । पहिलो पटक गण्डकी प्रदेश प्रमुख भएका शेरचन चितवन क्षेत्र नम्बर ५ बाट संविधानसभा सदस्यमा पनि बिजयी भएका थिए । तत्कालीन नेकपाका आमन्त्रित सदस्य पनि थिए । यसैगरी रोल्पा लिवाङमा जन्मेका परियार यसअघि पहिलोपटक माओवादी केन्द्रबाट मधेस प्रदेशको प्रमुखमा नियुक्त भएका थिए । बाँके १ बाट तत्कालीन नेकपा माओवादीतर्फका प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य परियार माओवादी निकट दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा केन्द्रीय सल्लाहकारसमेत हुन् । यसअघि गठबन्धन फेरिँदा नयाँ बन्ने सरकारले फरक दलका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख नियुक्त गर्दै आएकोले यस पटक पनि त्यो सम्भावना देखिएको छ ।


यता कांग्रेस एमाले गठबन्धन बन्दा गण्डकी प्रदेशसभा र लुम्बिनी प्रदेशसभामा कांग्रेस एमाले गठबन्धनलाई समर्थन गरेका दलहरूको संख्या जोडदा दुई तिहाईभन्दा बढी बहुमत देखिएको छ । जस्ले गर्दा माओवादीबाट निर्वाचित सभामुख कृष्णप्रसाद धिताल, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीको पद पनि धराप परेको हो ।६० सदस्य रहेको गण्डकीमा अहिले सरकारलाई कांग्रेसका २७, राप्रपाका दुई, नेसपाका एक र स्वतन्त्र एक गरी ३१ सांसदको समर्थन छ । त्यसमा एमालेका २२ सांसद थपिँदा सांसद संख्या ५३ पुग्छ । जुन कुल प्रदेशसभा सदस्यको ८८ प्रतिशत बहुमत हो । यस्तै ८७ सदस्य रहेको लुम्बिनीमा दुई तिहाइका लागि चाहिने संख्या ५८ हो । नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरिसकेका दलहरूको संख्या जोडदा ७० भन्दा धेरै देखिएको छ । जुन ८० प्रतिशतभन्दा बढी हो । जसका कारण माओवादीले पाएको संवैधानिक सभामुख पद धरापमा छ । यसैगरी ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नयाँ गठबन्धनको पक्षमा नाउपा रञ्जिता पक्षधरसमेत जोड्दा ३७ सदस्य देखिएका छन् । करिब ७० प्रतिशत हुन आउने यो संख्या दुई तिहाइ हो ।


गण्डकीमा त विश्वासको मतका बेला सभामुखले गरेको गैरसंवैधानिक कार्यका कारण सभामुखलाई महाभियोग लगाउने चेतावनी हालका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिएका थिए । त्यतिबेला उनी प्रतिपक्षमा थिए र गण्डकी सरकारविरुद्ध अदालतमा मुद्दा लड्दै थिए । यदि एमाले कांग्रेसको गठबन्धनले सभामुखलाई हटाउन चाहेमा पद अनुकूल आचरण नगरेको प्रस्तावको आधारमा हटाउन सक्छन् । यी बाहेक अन्य प्रदेशका प्रदेश प्रमुख र सभामुख भने सुरक्षित छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन् । उनी दुई वर्षअघि राष्ट्रियसभा निर्वाचनमा एमालेबाट उम्मेदवार पनि थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमककी सुमित्रा सुवेदी भण्डारी मधेस प्रदेश प्रमुख छिन् । एमालेका केन्द्रीय सल्लाहकार तथा संविधानसभा सदस्य नजिर मियाँ सुदूरपश्चिम प्रदेशका प्रमुख छन् । त्यस्तै प्रतिनिधि सभाका पूर्वसदस्यसमेत रहेका परशुराम खापुङ कोशी प्रदेश प्रमुख छन् ।
यस्तै, नन्दा गुरुङ कर्णाली प्रदेशको सभामुख नेकपा एमालेबाट निर्वाचित हुन । कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बरबहादुर विष्ट सर्वसम्मत भएका हुन् । बागमती प्रदेशसभा सभामुखमा राप्रपाका भुवन पाठक पदमा छन् । मधेस प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल पदमा छन् ।