देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्य डग्दैन, असत्य टिक्दैन !



गत साताकै कुरा हो, यही स्तम्भमा अमर सहिद दशरथ चन्दको प्रसिद्ध उक्ति भूतको मन्त्र जपेर देउताको दर्शन पाइन्न भन्ने कथनलाई साक्षी राखेर भनिएको थियो– बाह्रबुँदे दिल्ली सम्झौता गरेर लोकतन्त्र ल्यायौं भनेर फुर्ति लगाउने मात्र होइन, त्यसैअनुसार संविधानसभाबाट संविधान बनायौं, गणतन्त्र ल्यायौं, संघीयता अपनायांै, धर्म निरपेक्षता बहाल ग¥यौं र समानुपातिक निर्वाचन पद्धति लागू गरेर देशलाई स्वर्ग बनाउन चाहिने सबै तारतम्य मिलायौं भनेको होइन ? किन तिनै स्वर्ग भनेर ल्याएका परिवर्तन नर्कमा परिणत भए र देश प्रजातन्त्रमा भन्दा पनि बढी दिशाहीन तथा अन्योलग्रस्त हुन पुग्यो भन्ने प्रश्न उठाइएको थियो । त्यो सवालको जवाफ यत्ति चाँडै आउला र देश फनक्क फर्केर परिवर्तनको अर्को मोडमा उभिन पुग्ला भन्ने चाहिँ सोचिएको थिएन ।


राजनीतिमा यस्ता आकस्मिक र नचिताएका कुरा किन हुन्छन् र त्यो पनि बारम्वार किन दोहोरिएर आइरहन्छन् भन्ने प्रश्न पनि नउठेका होइनन् र जवाफ पनि उपलब्ध नगाइएका होइनन् । बुझ्न नखोज्ने नेता, मौका पर्नेबित्तिकै जतिसुकै अप्ठेराको भए पनि त्यस्तो भारी बोकाउन उत्सुक र प्रस्तुत हुने छिमेकी, कोही सोझै र कोही आईएनजीओका माध्यमबाट डलर र युरो ओइ¥याएर नेपालीका कमजोरीका मर्मस्थल पहिल्याउन सक्षम सबै मिलेर उनीहरूका अभीष्ट कसरी पूरा गरे, त्यो पनि कथित जनयुद्धमा त छद्मभेषमा मात्र थियो, शान्ति प्रक्रियाका अतिरिक्त संविधान निर्माणका क्रममा आइपुग्दा उनीहरू सबै आ–आफ्ना हिस्साका लाभ प्राप्त गर्न कसरी तँछाडमँछाड गरेर उत्रिए, ती सबै तमासा देखिएकै हो । त्यत्तिमात्र होइन, आज नेपाल र नेपालीले जुन राजनीतिक समस्या झेल्नु परेको छ ती पनि उनीहरूकै दबाब र प्रभावले उत्पन्न गरेको हो, जुन अहिले थप नयाँ समस्या भएर उपस्थित भएको मात्र हो ।


त्यो समस्या हो– प्रजातन्त्र । मोही माग्नु, ढुङ्ग«ो लुकाई । प्रजातन्त्रका मामलामा सबैले त्यही पाखण्ड प्रदर्शन गर्ने गरेका छन् । बेलायत, अमेरिका, चीन र भारत सबैले नेपालका सबै समस्याका अचुक उपाय भनेको प्रजातन्त्र मासेर लोकतन्त्र घोषित गर्नु नै रामबाँण, हो भन्ने ठानेका र मानेका थिए । उनीहरूले बाह्रबुँदे दिल्ली सम्झौता, माओवादी हत्या, हिंसा र आतंकको अन्त्य र राजाको अधिनायकवादी शासनको विरोधको मुख्य एजेन्डा लोकतन्त्रलाई तुल्याए । प्रजातन्त्र र लोकतन्त्र भनेको उही डिमोक्रेसीको संस्कृत भाषाको रूपान्तरण मात्र हो । भारतको हिन्दी भाषामा लोकतन्त्र र नेपालीमा प्रजातन्त्र प्रचलनमा आएका र जनजिब्रोमा झुन्डिएका शब्दलाई भारतले नेपालमा विस्तार पाओस् भनेर मात्र होइन, माओवादीले समेत त्यो संक्रमणलाई सोझै प्रजातन्त्रमा आत्मसमर्पण गर्नुभन्दा लोकतन्त्रमा झुक्दा भारतको चाकरीका अतिरिक्त नेपाली जनतालाई पनि झुक्याउन सजिलो पर्ने भएकाले त्यसलाई त्यो रुपमा अपनाएको थियो ।


अहिले आएर नयाँ संविधान, सबैलाई घाँडो भएको र त्यसको संशोधन सबै दलका नेताका लागि अपरिहार्य हुन पुगेको छ । त्यही खाँचो पूरा गर्न अहिले कांग्रेस र एमालेको गठबन्धन भएको यथार्थ छर्लंग छ । यो संविधान लागू भएपछिका निर्वाचन परिणामले पहिले त गठबन्धन नगरी सरकार बनाउनै गाहारो, बनाइहाले पनि चलाउन झन् गाहारो भएको तथ्यले राजनीतिक अस्थिरता बढ्न मात्र पुगेको होइन, त्यसका खुद्रा नारा बेच्ने पसलेका नक्कली सामानको चकचकी थपिन पुगेको प्रस्टै छ । त्यो वास्तविकताले कांग्रेस र एमाले दुईमध्ये कुनै एकको साहसिलो पहल समयको माग बन्न पुगेको थियो । राष्ट्रिय राजनीति बिथोलिन पुग्यो र त्यसले दिशाबोध गर्न नसकेर अन्योग्रस्त हुनपुग्यो भने त्यसलाई एकता र मेलमिलापको माध्यमबाट गतिशील तुल्याउन अग्रसरता लिने कांग्रेसको गौरवशाली परम्पराको अनुसरण गर्दै सभापति शेरबहादुर देउवाले यसपालि पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर दुई ठूला दलबीच नयाँ गठबन्धन गर्ने जुन अग्रसरता लिए, त्यसले उनको परिपक्वता मात्र होइन, राजनीतिक स्थिरताको नयाँ युगको सूत्रधारका रुपमा पनि उनको गणना हुन पुगेको छ । यो गठबन्धनले संविधान सुधारको ठोस एजेन्डा अघि सारेको र त्यसमा सबैलाई समेट्ने उदात्तता प्रदर्शन गरेकाले राजनीतिक स्थिरता र समृद्धिको दिशामा मुलुकलाई अग्रसर तुल्याउने कुरामा पनि विश्वस्त हुन सकिन्छ । अहिले देशमा कसैले कसैमाथि विश्वास र भरोसा गर्न नसक्ने जुन अवस्था खडा गर्न खोजिएको छ, त्यसलाई चिरेर उज्यालो भविष्यप्रति आशावादी तुल्याउन पनि नयाँ गठबन्धनलाई सबैको साथ र सहयोग प्राप्त हुन आवश्यक मात्र होइन, अपरिहार्य नै छ । त्यसको अभावमा लोकतन्त्रको अलाप र संविधान संशोधनको आश्वासनले मात्र देश र जनतालाई नयाँ उज्यालोको आलोकमा ब्युँझाउन सक्तैन । सत्य त्यही हो, त्यो डग्दैन, झुटो टिक्दैन, त्यो पनि भनिरहन पर्दैन ।