देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विवादित कार्कीलाई पदोन्नतिको तयारीमा सेनापति शर्मा

देशान्तर

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अनिवार्य अवकाशमा घर जानैलाग्दा उनले एकपछि अर्को विवादस्पद निर्णयहरू गर्दै जाँदा नेपाली सेना इतिहासमै विवादित र राजनीतिक प्रभावमा पर्ने देखिएको छ ।

उनको वैयक्तिक चाहनाका कारण नेपाली सेना विवादित त बन्ने नै देखिएको छ, अहिलेसम्म बचाएको छविसमेत नामेट हुनेतर्फ अगाडि बढिरहेको पूर्वप्रधानसेनापति र रक्षाविज्ञहरूको ठहर छ । नेपाली सेनाको इतिहासमै कमजोर प्रधानसेनापतिको रूपमा निवृत्त हुन लागेका शर्माका कारण पहिलो पटक यस्तो अवस्था सिर्जना हुँदैछ, हालाकि वर्तमान प्रधानमन्त्री प्रचण्डले पहिलोपटक बहालवाला प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाएर नयाँ सेनापति बनाउन खोज्दा प्रथम राष्ट्रपतिले सुझबुझपूर्ण निर्णय गरी सच्याउँदा नैतिकताको आधारमा प्रधानमन्त्रीले नै राजीनामा दिनु परेको इतिहास साक्षी छ ।

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला नेपाली सेनाको उपरथीमा मधुकरसिंह कार्कीलाई बढुवाका लागि सिफारिस गरेका छन् । भदौ २४ गते अनिवार्य अवकाशमा जान लागेका शर्माले अहिले कार्कीलाई रथीमा बढुवाका लागि सिफारिस गरेका हुन् । अहिले सहायकरथी रहेका कार्की विरुद्धमा डिल्लीराम पौडेलले सर्वोच्च अदालतमा भ्रष्टाचारजन्य कसुरमा कारबाहीका लागि २०७९ कात्तिक २० गते मुद्दा दर्ता गरेका थिए । कात्तिक २२ गते न्यायाधीश प्रकाशमान सिंहको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै उक्त मुद्दाको सुनुवाइ यसै वर्षको कात्तिक ८ गतेलाई तोकिएको छ । एनसेलको माउ कम्पनी एजिएक्टाले अमेरिकामा मुद्दा हाल्दा वकिल राख्ने क्रममा डलरको कारोबारमा उनी मुछिएका थिए ।

नेपाली सेनाको सैनिक नियमावली २०६९ को दफा ३.६ को उपदफा १(ङ) का कुनै कसुरको सम्बन्धमा कोर्ट अफ इन्क्वायरी वा ऐनको दफा ६२ बमोजिमको समितिबाट छानबिनको क्रममा रहेको वा मुद्दा दायर भएकोमा अदालतबाट सफाइ नपाएसम्म सिफारिस गर्न नमिल्ने कुरा उल्लेख हुँदाहुँदै प्रधानसेनापति शर्माले कार्कीको प्रलोभनमा परेर बढुवाका लागि सिफारिस गरेको सैनिक अड्डा भद्रकालीमा चर्चा चलेको छ ।

तत्कालीन पूर्वराजा ज्ञानेन्द्र शाहका अंगरक्षकसमेत रहेका कार्कीले त्यतिबेलाका प्रधानसेनापति गौरवशमशेर राणालाई साइकिलिङ पार्टनर बनाएकै कारण वरीयता मिचेर बढुवा भएका थिए । सैनिक सहचारीको रूपमा अमेरिकामा रहेको नेपाली दूतावासमा कार्यरत रहँदा राजदूतको निवासका लागि भवन खरिदमा पनि अनियमितता गरेको आरोप लागेको थियो भने उनी एनसेल काण्डमा पनि जोडिएका व्यक्ति हुन् ।

यसअघि पनि अनलाइन सर्टिफिकेट विवादमा पनि कार्की तानिएका थिए । तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङसँग यही कारण राम्रो सम्बन्ध थिएन । गुरुङको कार्यकालपछि गौरवशमसेरको पालामा कार्कीलाई महासेनानी बनाइएको थियो ।