नेपाली गजल लेखनले परिष्कारसँगै तीव्रता लिएको बेला अहिले गजल गायनमा पनि तीव्रता देखिनु गजलप्रेमीहरूका लागि अत्यन्त खुसीको कुरा भएको छ । पछिल्लो दशकमा नेपाली थजल लखन निकै परिष्कृत र विस्तारित भएको यथार्थ छर्लंग छ । अब नेपाली गजललाई गायनमा ल्याउन जरुरी छ र यो काम पनि निकै सशक्त ढंगले अघि बढिरहेको छ ।
गजल गेय विधा भएको यथार्थ सबैजसो गजल स्रष्टाले बुझिसकेका र महसुस गरिसकेका छन् । गजलमा गेयताका लागि यसमा लयको अनिवार्यताबारे पनि अब कसैलाई भनिरहनु नपर्ने अवस्था छ । तर, गजलको लय के हो भन्ने विषयमा बहस र मतभिन्नता कायम छन् । यद्यपि, यी मतभिन्नताको पनि निरूपण हुने बाटोमा छ नेपाली गजलमा ।
गजलले मूलतः तीनवटा तत्व अनिवार्य मान्ने रहेछ– काफिया, लय (बहर) र शिल्प । गेयताका लागि गजलका निम्ति शास्त्रीय छन्दहरू बनेका रहेछन् फारसमा । तिनलाई बहर भनिने रहेछ । संस्कृतका अर्थात् पिंगल छन्दकै समकक्षी रहेछन् बहर । यद्यपि, अरबी, उर्दू, हिन्दीका भाषिक संरचना र स्वरूपअनुसार बहरमा शब्दप्रयोग गरिने रहेछ ।
हामीकहाँ पनि सोहीअनुसार अर्थात् उर्दू, हिन्दी परम्पराअनुसार बहर अभ्यास गरिँदै आएको देखिन्छ, जुन सही होइन । यसबारे बिस्तारै स्रष्टाहरूमा ज्ञान आउला, सचेतता र सजगता बढ्ला ।
यहाँ सन्दर्भ उठाउन खोजेको ‘गजल गायनको स्वर्ण दशक’को हो ।
कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठ र यो पंक्तिकारले विक्रमको २०८०–२०९० बीचको दशकलाई ‘नेपाली गजल गायनको संवरण दशक’को परिकल्पना गरेका छन् । विभिन्न मिडिया र जिज्ञासुहरूले प्रश्न गरिरहनुभएको छ, ‘गजल गायनको स्वर्ण दशक’ सफल हुने आधार के ?’
केही आधारहरू भएरै यस्तो परिकल्पना गरिएको हो । जस्तो कि यो दुई वर्षको बीचमा लगातारजसो गजल गायनका कार्यक्रमहरू भइरहेका छन् । गजल रेकर्ड हुने र एल्बम सार्वजनिक हुने क्रम बढ्दो छ । सन्तोष श्रेष्ठको संगीतमा यो पंक्तिकारका एकल रचनामा पाँचवटा शास्त्रीय बहरका गजलहरूको एल्बम ‘शुभेच्छा’ २०७९ भदौमा आएपछि गजल गायनले तीव्रता लिइरहेको अवस्था छ ।
यसै वर्ष करिब आधा दर्जन प्रत्यक्ष गजल गायनका कार्यक्रम बनिसकेका छन् भने सन्तोष श्रेष्ठकै एकल संगीत र स्वरमा गजलकार राधा कणेल र मेरा शब्दमा ‘गगन’ तथा जीवनप्रकाश प्रधानको संगीतमा राधा कणेल, रश्मि असफल र मेरा शब्दमा ‘मतला’ गजल एल्बमहरू चाँडै आउँदै छन् । अनाममण्डलीको पहलमा सन्तोष श्रेष्ठको संगीतमै ‘अनाम’ गजल एल्बमसमेत आउँदै छ ।
पछिल्लो समयको नेपाली गजल गायनको तीव्रताले गजल गायनको भविष्य उज्यालो बनाएको छ भन्दा अन्यथा हुँदैन । यही क्रम जारी रहेमा हामीले परिकल्पना गरेको ‘नेपाली गजल गायनको स्वर्ण दशक’को परिकल्पना अवश्य पूरा हुनेमा हामी विश्वस्त छौं ।
यद्यपि, अहिले गजल संगीत र गायनका शिल्प, कला र तौरतरिकाबारे बहस र विमर्श जारी छन् । गजल गायनको ताते अवस्थालाई मध्यनजर गर्दै कर्णप्रिय संगीत र गायनलाई अगाडि बढाउँदै जानु अहिलेको आवश्यकता हो । हाम्रा कानहरू कस्तो संगीत र स्वरमा अभ्यस्त छन् भन्ने बुझेर गजलको सौन्दर्य, लय र शास्त्रीयता नबिग्रिनेगरी संगीत गर्ने र गाउने क्रमले पक्कै पनि नेपाली गजल संगीतमा परिष्कार आउनेछ भन्ने लाग्छ ।
प्रतिक्रिया