काठमाडौं । इन्डोनेसियामा भइरहेको चौथो चरणको सेन्तुल इन्टरनेसनल सर्किट बाइक रेसिङ प्रतियोगितामा नेपालका विक्रम थापाले भाग लिएका छन् । उनी शुक्रबार जापानको टोकियोबाट इन्डोनेसिया गएका हुन् ।
सन् २०१७ मा सम्पन्न हुने एसिया रोड रेसिङ च्याम्पियनसिपको गत मार्च १५ र १६ तारिखका दिन छनोट खेल सम्पन्न भएको थियो । त्यसमा विक्रमले सफलता प्राप्त गरेपछि बाइक रेसिङ प्रतियोगितामा विक्रमको यात्राले गति लिएको हो । छनोट खेललगत्तै उनले गत अप्रिल १ र २ तारिखका दिन मलेसियामा सम्पन्न पहिलो चरणको खेलमा पनि सफलता हात पारे । यसैगरी उनले अप्रिल १४ र १५ मा थाइल्यान्डमा सम्पन्न दोस्रो र १, ३ र ४ तारिखका दिन जापानमा सम्पन्न तेस्रो चरणको प्रतियोगितामा पनि सफलता हात पारी चौथो चरणमा प्रवेश गरेका हुन् ।
एसियाका २० राष्ट्रबाट आएका अन्तर्राष्ट्रिय रेसरहरूसँग भिड्न उनले यो पटक जापानको सुजुकी ग्रुप टोकियोमा एक महिनाको अभ्याससमेत गरेका थिए । चौथो चरणको प्रतियोगितामा सफल हुन सके विक्रम थापा आउँदो अक्टोबर ७ र ८ तारिखका दिन भारतको चेन्नईमा हुने यो वर्षको पाँचौं चरणको रेसमा भाग लिई फाइनल राउन्डको रेसका लागि डिसेम्बरमा थाइल्यान्ड जानेछन् । छनोट चरणसहित सात राउन्डसम्म खेलिने यो खेलको फाइनल डिसेम्बर २ र ३ तारिखका दिन थाइल्यान्डमा हँुदैछ ।
बाइक रेसिङ प्रतियोगितमा भाग लिन खेलाडीका अलावा एकजना अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल मेकानिक र एक जना व्यवस्थापक गरी तीन सदस्यीय टोलीको आवश्यकता पर्दछ । विक्रमले विगत तीन वर्षदेखि लगातार कहिले नेपाल, कहिले जापान, कहिले मलेसिया त कहिले थाइल्यान्डका विज्ञ मेकानिकलाई आफ्नो टिममा अनुबन्ध गरी प्रतियोगितामा भाग लिइरहेका छन् । यसपटक उनका सहयोगी मेकानिकमा इन्डोनेसियाका अनुभवी बाइकविज्ञ अहमद रहमानलाई थापाले आफ्नो टिममा अनुबन्ध गरेका छन् । विक्रमले आफ्नै खर्चमा प्रतियोगितामा भाग लिइरहेका छन् ।
प्रतिक्रिया