देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘जादुगरजसरी यताउति उफ्रिने काम’ प्रधानमन्त्री ‘प्रचण्ड’लाई छोडिदिन महामन्त्री थापाको आग्रह

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आदिवासी जनजातिहरु एक भएर देश, पार्टी र आफ्ना हक अधिकारहरु पनि संरक्षण गर्न सकिने बताए । सभापति देउवाले आदिवासी, जनजातिका मागहरु सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताए । उनले सरकार अहिले चलाइरहेका दलहरूलाई नै चलाउन छोडिदिएर कांग्रेसले आगामी निर्वाचनमा कम्तीमा सय सीट ल्याउने गरी लाग्न नेता/कार्यकर्तालाई आग्रह गरे ।
महामन्त्री थापाले भने, ‘यो सरकार माओवादी, घण्टी, बण्टी, जो–जोले चलाएका छन्, चलाउन दिउँ । चलाउन् । सरकारतिर हामी हेर्दै नहेरौँ । र यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौँ, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बनाऔँ । धेरै पनि भन्दिनँ म, २०८४ सालमा कम्तीमा पनि सय सीट जित्ने गरीकन र ४० प्रतिशत मत ल्याउन सक्ने गरीकन गयौँ भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागतमात्रै होइन, संविधानमा लेखिएका यी कुराहरुलाई सकारात्मक ढंगले कार्यान्वयन गर्नसक्ने त्यो तागत पनि नेपाली कांग्रेसले राख्छ ।’ यता मिल्ने, उता मिल्ने, ऊसँग मिल्ने कुरा अब कांग्रेसले छाड्नुपर्ने उनको भनाइ छ ।
उनले ‘जादुगरजसरी यताउति उफ्रिने काम’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोडिदिन आग्रह गरे ।

यसैगरी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार अहिले सिंगो तागतमा नभएको टिप्पणी गरे ।उनले सरकारमा भएका दलहरुलाई आआफ्नो चिन्ता भएको भन्दै भने, ‘एउटालाई आफ्नो अध्यक्ष जोडिएको सहकारीबाट मुक्त गराउनु छ । अर्कोलाई आफ्नो अध्यक्ष जोडिएको गिरीबन्धु जग्गा प्रकरणबाट जोगाउन सकियोस् भन्ने चिन्तामा छ । प्रधानमन्त्रीलाई कसरी गणितको रक्षा गर्ने भन्ने मात्रै छ । प्रधानमन्त्रीको दुःख हेर्छु, उपप्रधानमन्त्रीले बोलेको कुराको खण्डन गरेर बस्नुपरेको छ ।’