देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आफू चोखिन जीबीलाई जोगाउँदै रवि

देशान्तर


काठमाडौं । प्रचण्डको नव–गठबन्धनपछि उपप्रधान तथा गृहमन्त्री बनेका रवि लामिछानेले उतिबेलै जतिसक्दो छिटो सहकारी ठगीका मुख्य आरोपी तथा आफ्ना पूर्वसाझेदार जीबी राईलाई पक्राउ गर्ने र पीडितलाई बचत फिर्ता गर्ने बताएका थिए, तर, उनी गृहमन्त्री बनेको चार महिना बित्न लाग्दासमेत उनले जीबी राई पक्राउ गर्न त सकेका छैनन् नै, अघिल्लो सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले भनेकै सूचना बताउँदै रवि चोखिन खोजेका छन् । उनको पछिल्ला चालबाजी जीबीलाई पक्राउ गर्नुभन्दा जोगाउनमै केन्द्रित रहेको बुझिएको छ ।
आधा दर्जनभन्दा बढी सहकारीको अर्बौं बचत अपचलन गरी व्यक्तिगत कम्पनी र सम्पत्तिमा लगानी गरेका जीबी राईलाई पक्राउ गरे आफू पनि तानिने डरले गृहमन्त्री लामिछानेले सार्वजनिक खपतका लागि मात्रै पक्राउ गर्ने बताउने तर, भित्री रूपमा जोगाउने चालबाजी रचेको जानकारहरू बताउँछन् । अघिल्ला गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै जीबी राई मलेसियामा रहेको र त्यहाँको सरकारसँग कुरा गरेर नेपाल ल्याउने तयारी भइरहेको बताएका थिए, रविले अहिले पनि त्यही कुरा मात्र दोहो¥याएका छन् ।
गृह मन्त्रालयले मलेसियाको गृहमन्त्रालय र त्यहाँका गृहमन्त्रीसँग कुरा भइरहेको बताए पनि मलेसियाले जीबी राईलाई पक्राउ गरेर नेपाल पठाउन नसकिने जवाफ दिइसकेको छ । इन्टरपोलमार्फत झिकाउने प्रयास भए पनि मलेसियाले त्यसमा साथ दिएको छैन । अझ उसले त त्यहाँ पक्राउ गरेर नेपाल पठाउने प्रावधान नै नरहेको जवाफ नेपाललाई दिइसकेको छ ।
जीबी राई सञ्चालक रहेको ग्यालेक्सी टीभीमा लामिछाने प्रबन्ध निर्देशक(एमडी) थिए । राई र लामिछाने मिलेर सहकारीको पैसा ग्यालेक्सीमा ल्याएको खुलिसकेको छ । तर, लामिछानेले त्यसबारेमा आफूलाई जानकारी नभएको बताउँदै आएका छन् । अब उनै राई पक्राउ परेमा राईले सबै कुरा भनिदिने र आफू पनि ठगीमा समातिने डर लामिछानेमा छ । त्यसैले लामिछानेले जीबीलाई पक्राउ गर्ने विषयमा आलटाल मात्रै गरिरहेको र जसरी होस् मलेसियामै रहिरहने वातावरण मिलाउने प्रयासमा लागेको जानकारहरू बताउँछन् ।
सहकारी ठगी छानबिन गर्न गठित संसदीय समितिले काम सुरु गर्दा लामिछानेमा त्रास बढिसकेको छ । आफूविरुद्धका उजुरी र गुनासो लुकाउन लामिछानेले प्रहरीको चरम दुरुपयोग गरिरहेका छन् । रूपन्देही जिल्ला अदालतमा पेस भएको मिसिलमा समेत उनको नाम उल्लेख छ भने कास्कीमा पनि उनीविरुद्ध उजुरी परेको छ । पोखरा उपमहानगरले गरेको छानबिनमा उनी दोषी देखिएका छन् । प्रहरीमा पनि उजुरी छ । आफूविरुद्धका सबै प्रमाण नष्ट गर्न उद्यत् लामिछानेले त्यसैका लागि प्रहरी प्रमुखसमेत हटाउन खोजेका छन् ।