काठमाडौं । कानुन समाजका कार्यकारी निर्देशक र धेरै संसदीय चुनावका पर्यवेक्षण गरेका वरिष्ठ कानुनविद् कृष्णमान प्रधानको निर्वाचन आयुक्तमा सिफारिस अहिले धेरै नै विवादित बनेकोे छ । कुनै पार्टीमा संलग्न नरहे पनि बहुदलीय प्रजातन्त्रपछि सम्पन्न सबै चुनावमा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा चुनाव पर्यवेक्षण गर्दा प्रमुख संस्थाको हालिमुहाली गर्ने पदमा रहेका प्रधान त्यही संस्थामा नियुक्ति हुँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ देखिँदा उनी आलोचित भएका छन् ।
अघिल्लो साता बसेको परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेपछि अहिले संसदीय सुनुवाइको प्रक्रियामा गएर सुनुवाइ समितिले दसदिने उजुुरीको आह्वान पनि गरिसकेको छ ।
प्रधानको सिफारिसपछि उनी चर्चा र विवादमा छन् । उनी कसरी सिफारिस हुन पुगे भन्ने चर्चासँगै २०४८ सालदेखि आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)मामहासचिव पदमा रहेर आयोगले गराएको निर्वाचनकै पर्यवेक्षण गर्दै आइरहेको व्यक्ति आयोगकै आयुक्त बन्नु अनुपयुक्त हुने र त्यसमाथि यौनशोषणको आरोप लागेका भनेर प्रधानको सिफारिस विवादित बनेको हो।
नेपाल कानुन समाजका कार्यकारी निर्देशकसमेत रहेका प्रधान माथि उनकै संस्था कानुन समाजकी पूर्वकर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । महिलाले प्रधानमाथि आफूलाई एक होटेलमा बोलाई यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।तर पछि यो मुद्दा गत भदौमा मिलापत्र भएको थियो ।
सर्वोच्च अदालतले आफ्नो अभिलेखमा सो मुद्दाको फैसलामा मिलापत्र गरिएको भन्ने उल्लेख गरेको छ । नुवाकोटमा जन्मिएका हाल बवरमहल बस्ने कृष्णमानको नियुक्तिमा कसरी संवैधानिक परिषद्का सदस्यहरू एकमत भए भन्नेमा पनि धेरै आश्चर्यमा परेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संवैधानिक परिषद्मा प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे,राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा रानामगर र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा छन् । यौन दुव्र्यवहारको मुद्दामा अदालतबाटै मिलापत्र भइसकेको विषय भए पनि संवैधानिक पदमा नियुक्ति हुने व्यक्तिको उच्च नैतिक आचरण हुनुपर्नेमा विचलन देखिएको भन्दै उनको सिफारिसको आलोचना पनि भएको छ ।
प्रधानको प्रस्ताव प्रधानन्यायाधीशले परिषद् बैठकमा राखेको बताइन्छ ।यसमा कानुन समाजका पूर्वअध्यक्षकोे इन्ट्रेस्टले पनि काम गरेको स्रोतको भनाइछ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ अध्यक्ष रहिसकेको उक्त संस्थामा हाल पूर्वउपसभामुख पुष्पा भुसाल अध्यक्ष छिन् ।
प्रतिक्रिया