देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रिकेट प्रशिक्षक हटाउने तयारी !

देशान्तर


काठमाडौं । नेपाली क्रिकेट टिम आईसीसी टी–२० विश्वकप क्रिकेट खेलेर स्वदेश फिर्ता भएपछि अहिले विश्वकपको प्रदर्शनलाई लिएर विभिन्न टीकाटिप्पणीहरू भइरहेका छन् । नेपाली क्रिकेट टिमले विश्वकपमा प्रदर्शनबाट समर्थकको मन जिते पनि नतिजा भने विपक्षमा आयो । नेपाली क्रिकेट टिम स्वदेश फिर्ता हुँदा प्रशिक्षक मोन्टी देशाई भने आएका छैनन् । उनी उतै अमेरिकामा रहेका छन् । नेपाली क्रिकेट टिमकाठमाडौं फर्किएकै दिन गरिएको पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेल, सहायक प्रशिक्षक वसन्त शाही र टिम व्यवस्थापक प्रदीप मजगैयाँले पत्रकारका जिज्ञाशाको जवाफ दिएका थिए । कप्तान पौडेलले नेपाली टिमले आशा गरेअनुसारको प्रदर्शन गर्न नसकेको स्वीकार गर्दै आउँदा दिनमा अहिलेको अनुभव काम लाग्ने बताए । यसैगरी सहायक प्रशिक्षक शाहीले नतिजा निकाल्न नसकेको दुःख व्यक्त गर्दै सबैले राम्रो खेलेको उल्लेख गरे ।


पत्रकार सम्मेलनमा व्यवस्थापक मजगैयाँले नेपाली टिममा केही कमजोरी रहेको संकेत गरेका छन् । नेपाली टिमसँग एसिया कप र विश्वकपमा व्यवस्थापकको भूमिका निर्वाह गरेका मजगैयाँले अब नेपाली क्रिकेट टिमको बारेमा गम्भीर र निर्मम समीक्षा गर्ने बेला भइसकेको बताएका छन् । उनले अहिलेको अवस्थामा धेरै कुराहरू समीक्षा गरेर त्यसअनुसार नबढ्ने हो भने नेपाली क्रिकेटको अवस्था राम्रो नहुने बताए । उनले अब बस्ने क्यानको बोर्ड बैठकमा यस विषयमा छलफल हुने बताए । नेपाली क्रिकेट टिमको नेतृत्व सम्हाल्नका लागि झन्डै दुईवर्षअघि मोन्टी देशाई आएका हुन् । उनी आएपछि नेपाली टिमले आईसीसी एक दिवसीय वरीयता मात्रै जोगाएन कि, विश्वकपको ग्लोबल क्वालिफायर र एसिया कप खेल्दै इतिहास पनि रच्यो । टी २० मा १०वर्षपछि विश्वकप खेल्न योग्य बनाएका देशाईको लगातारको परीक्षणका कारण यतिबेला नेपाली टिमको प्रदर्शन खस्कँदो अवस्थामा पुग्न थालेको क्रिकेट पण्डितहरू बताउन सुरु गरेका छन् ।


विश्वकप खेल्दै गर्दा उनले बनाएको प्लेयिङ ११ को छनोटमा कमजोरी गरेको छ, ब्याटिङ अर्डर पनि नमिलाएको जस्ता आरोपहरू पनि लागेका छन् । लगातार खेलाडी फ्लप हुँदा पनि लगातार एउटै खेलाडीलाई चान्स दिइरहेका कारण पनि नेपाली क्रिकेटमा सोचेजस्तो नतिजा आउन सकेन । टिममा ओपनर ब्याकपका रूपमा रहेका अनिल साहलाई जहिले पनि तेस्रो नम्बरमा किन पठाइयो, कुशल भुर्तेल र आशिफ शेखको विकल्पमा पठाउनुको साटो सधैं नचलेको ओपनिङ जोडीलाई खेलाउँदा त्यसको दबाब सम्पूर्ण टिममा पुगेको रूपमा पनि बुझिएको छ । विगतमा मोन्टीले ह्याप्पी ड्रेसिङरुम भनेर गर्ने मोटिभेसनल कार्यक्रमहरू विश्वकप खेल्नका लागि गएदेखि नदेखिनुलाई पनि क्यानका जिम्मेवार व्यक्तिहरूले प्रशिक्षकको विषयमा टीकाटिप्पणी गर्न थालेका छन् ।
क्यानको बैठक जुलाई ५ मा तारिखमा बस्ने तयारी गरिएको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्द विश्वकप क्रिकेटको फाइनल सकिएपछि नेपाल आउने र त्यसपछि बोर्डको बैठक बस्ने एक सदस्यले देशान्तरलाई जानकारी दिए ।