देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमाथिको आक्रमण यसरी विफल भयो



यसपालिको भारतको लोकसभाका लागि भएको आमचुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता र भारतीय जनता पार्टी (भाजपा)को बढ्दो प्रभावबाट हुन सक्ने परिणामको अनुमान लगाएर त्यसलाई रोक्न विदेशी शक्तिले खुल्लमखुल्ला जस्तो चलखेल गरे र त्यसबाट भारतका नेता र जनता जसरी उनीहरूका इशारामा नाच्न पुगे, त्यसले त्यहाँका जनता मात्र होइनन्, नेतासमेत अझै पनि मानसिक रूपमा उपनिवेशको धङ्धङ्गीबाट मुक्त हुन सकेका रहेनछन् भन्ने थप पुष्टि हुन पुग्यो ।
क्रिश्चियन, मुस्लिम, कम्युनिस्ट तथा आईएनजीजस्ता संस्थाका आवरणमा सबै, कसरी हिन्दु दर्शन र शक्तिका विरुद्ध एक भएर खनिँदा रहेछन्, त्यो पनि छ साता लामो चुनाव अभियानमा स्वदेशीभन्दा विदेशी एजेन्सीहरूका खास उद्देश्यका निम्ति खटाइएका मानिसहरूको सक्रियताले छर्लंग पारेको थियो । भाजपाको प्रत्यक्ष प्रभावको एनडीए गठबन्धनको सरकारको दस वर्ष लामो शासनकालमा ती वाह्य घुसपैठियाले धेरै खुम्चेर बस्नु परेकाले उनीहरू यसपालि खुलेर निक्लेका थिए– मोदी र भाजपालाई हराउन । उनीहरूका गतिविधि यसपालि किन खुलस्त र हस्तक्षेपकारी हुन पुगेको थियो भने मोदी जितेका खण्डमा अर्को पटक चुनाव हुने हो कि होइन, त्यो अनिश्चित छ भन्ने भाष्य तयार पारेर उनीहरू ‘नाउ अर नेभर’को वारपारको लडाइँमा निक्लेका थिए । त्यसैले उनीहरू अत्यन्त संगठित रूपमा एकत्रित भएर मोदी र भाजपामाथि खनिएका हुन् ।
यो चुनावलाई उनीहरूले विगतका चुनावमा भन्दा धेरै गुणा बढी सक्रियता मात्र बढाएका थिएनन्, मोदीलाई हराउनै पर्ने सबाललाई प्रतिष्ठाको विषय पनि बनाएका थिए । त्यही कारण हो कि दुई चरणको चुनावपछिको तेस्रो चरणको मतदानदेखि सातौं चरणसम्म आइपुग्दा उनीहरूले मतदाताको मनस्थिति बदल्न चाहिने सबै प्रकारका हतकण्डा प्रयोग गरेर अप्रत्याशित ढंगले परिणामलाई चमत्कारिक मोड दिन सफलता प्राप्त गरेका थिए ।
यसमा कुनै सन्देश छैन कि भारत विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश हो र चुनावको लागि चाहिने स्रोत, साधन र जनशक्ति परिचालनमा पनि भारत, संसारकै अग्रणी देश हो । त्यहीकारण उसमाथि एसियाका साना देशमा हुने चुनावमा उसले आफ्नो स्वार्थ पूरा गर्न हस्तक्षेप गर्ने गरेको आरोप लाग्ने गरेको विदितै छ । तर यसपालि उल्टो भयो । भारत आफैंले भयानक विदेशी षड्यन्त्रको सिकार बन्नुप¥यो । त्यो पनि उसका जासुसी एजेन्सीहरूले षड्यन्त्र भएको पत्ता लगाउँदासम्म उनीहरूले आफ्नो काम सम्पन्न गरिसकेका थिए । त्यस्तो तत्परता र उच्चस्तरको सतर्कता यसअघि इजरायलले मात्र निर्वाह गर्ने गरेको थियो । यसपालि उसले पनि हमासको आकस्मिक आक्रमणको सिकार बन्नुप¥यो । भारतले पनि अत्याधुनिक प्रविधि, उपकरण र जनशक्तिका बाबजुद सूचनाको क्षेत्रमा धोका खानु प¥यो । त्यो पनि कस्तो पीडादायी स्थितिमा हुन पुग्यो भने उसले न कसैलाई त्यो कुरा भन्न हुने, न चुपचाप सहन गर्न सहज हुने !
यो चुनावमा विदेशी हस्तक्षेपको स्वरूप पनि विचित्रको थियो । अमेरिकाका ठूला विश्वविद्यालयका मात्र होइनन्, बेलायत, जर्मनी, फ्रान्स, सउदी अरब, इरान, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका र नेपालका राजनीतिक शास्त्रका प्रोफेसरलगायत भारत–विशेषज्ञ कहलाउनेहरूले समेत मोदीको नेतृत्वमा भाजपाले चुनाव जितेका खण्डमा भारतमा फेरि अर्को चुनाव हुने छैन भनेर ठोकुवा गरेका थिए । त्यसरी भारतमा चुनावपछि मोदीले पहिले हिटलरले जर्मनीमा र अहिले भ्लादिमिर पुटिनले रुसमा गरेको जस्तो एकतर्फी चुनाव हुने र प्रजातन्त्रको अन्त्य हुने भविष्यवाणी उनीहरू सबैले गरेका थिए । त्यस प्रकार मोदी अधिनायकवादी भएको प्रचारमा चर्च, मस्जिद, गुरुद्वारा, गुम्बाका अतिरिक्त आईएनजीओका कार्यकर्ता गाउँगाउँ पुगेका थिए र चुनावप्रचारलाई धर्मयुद्धमा परिणत गर्न कुनै कसर बाँकी राखेका थिएनन् ।
भारतको प्रजातन्त्रको प्रतिरक्षाका लागि पनि मोदीलाई ‘जसरी पनि’ हराउनै पर्ने उनीहरूको मिसनको सारांश थियो । उनीहरू मोदीको जति विरोध गरिरहेका थिए, त्यत्ति भाजपाको विरोध गरिरहेका थिएनन् । किनभने उनीहरू त्यो पार्टीलाई हराउन सक्ने विदेशी सहयोग र समर्थनप्रति आश्वस्त थिए । मोदीको विश्वसनीयतालाई ध्वस्त नपारेसम्म उनीहरू भारतमा आफ्नो जित हुनेमा आश्वस्त थिएनन् । त्यसैले सबै प्रकारका भारतविरोधी तत्वको, यसपालि गठबन्धन तयार भएको थियो । त्यसले विद्युत् गतिमा आफ्ना रणनीति परिवर्तन गरेर अन्तिम क्षणमा भारतमा रहेका मुसलमानहरूको मत कांग्रेस र समाजवादीलाई खन्याएर भाजपालाई बहुमत ल्याउनबाट रोकेका थिए । त्यसको टड्कारो उदाहरण उत्तरप्रदेश र पश्चिम बंगाल हो, जहाँ त्यस्तो खेल प्रभावकारी सावित भएको थियो । त्यही कारण एनडीएले सुविधाजनक बहुमत ल्याए पनि भाजपा एकल बहुमत ल्याउनबाट चुकेको थियो ।