काठमाडौं । देशान्तर साप्ताहिकका संस्थापक सम्पादक किशोर नेपालको ७२औं जन्मोत्सव देशान्तरकर्मी एवं नेपाल पत्रकार महासंघका पूर्वसम्पादक विष्णु निष्ठुरीको संयोजकत्वमा सहभागी वरिष्ठ पत्रकारहरूको समूहले एक दर्जनभन्दा बढी वरिष्ठ पत्रकारहरू र किशोर नेपालको सानिध्यमा पत्रकारिता गरिरहेका दुई दर्जनभन्दा बढी पत्रकारहरूको उपस्थितिमा राजधानीमा सम्पन्न भयो । निष्ठुरीलगायत वरिष्ठ पत्रकारहरू सुवास ढकाल, प्रशान्त अर्याल, चन्द्रशेखर कार्की, विकास रौनियार, सरोज आचार्यलगायतको समन्वयमा भएको नेपालको जन्मोत्सव समारोहमा पूर्वसभामुख दमनाथ ढुंगाना, पूर्वसञ्चारमन्त्री जयप्रकाश आनन्द, वरिष्ठ पत्रकारहरू हरिहर विरही, पी.खरेल, श्री आचार्य, राजेन्द्र दाहाल, तारा बराललगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा पूर्वसभामुख ढुंगानाले नेपाल पत्रकार मात्र नभई स्वतन्त्रता सेनानीसमेत रहेको जिकिर गरे भने विरहीले उनी पत्रकारिताको मित्र नभई प्रजातान्त्रिक आन्दोलनको सहकर्मी भएको बताए । वरिष्ठ पत्रकारहरू पी. खरेल र राजेन्द्र दाहालले नेपालको पत्रकारिता लेखनमा अद्वितीय क्षमता रहेको र यो उनको सरस्वतीले दिएको वरदानको रूपमा आफूहरूले लिएको सहर्ष स्वीकार गरेको बताए । पत्रकार नेपालको राजनीतिक लगावभन्दा उनको तिखो कलमको प्रशंसक रहेको वक्ताहरूले बताए । अन्तमा सबैलाई धन्यवाद दिँदै नेपालले आफू सदैव लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षधर भएको र सधैं रहिरहने प्रतिबद्धता जाहेर गर्दै नेपालको राजनीति र पत्रकारिता दुवै निरीह अवस्थामा रहेको ठोकुवा गरे । जन्मोत्सव आयोजक र सहभागी सबैलाई धन्यवाद दिँदै बाचुञ्जेल लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा कलम चलाइरहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका संयोजक निष्ठुरीका अनुसार अहिलेको पत्रकार महासंघका सबै पदाधिकारी, प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरका अध्यक्षलगायत नेताहरूलाई निमन्त्रणा गर्दा पनि अनुपस्थित भएकोमा पत्रकारका नेताहरू पार्टी र सत्ताबाट मात्र निर्देशित भएको महसुस भएको देखियो । किशोर नेपाल व्यक्ति नभई नेपाली पत्रकारिताको संस्था भएको उनीहरूले स्वीकार नगरेको यो रवैयाबाट पुष्टि भएको देखिन्छ । पत्रकारहरू पार्टी र सरकारको दास हुनु प्रेस स्वतन्त्रताको लागि किमार्थ स्वीकार्य नहुने आयोजकहरूले देशान्तरलाई बताए ।
प्रतिक्रिया