अप्ठ्यारोमा फलेको फर्सीजस्तो मान्छे
कोही नजिकै आउन पनि नसक्ने
कोही धेरै टाढा जान पनि नसक्ने
कलिलो फर्सी, कैँडो चिटिक्क
प्रकृतिको थाक्रो, मान्छेको आड भरोसा
फर्सी पाकेर पहेँलो भएको
समयको अन्तराल, झर्ने बेलाको
तर अप्ठ्यारो कहिले गएन
जति पहेँलो हुँदै गयो फर्सी
त्यति अप्ठ्यारो बन्दै पो गयो
त्यस्तै त्यो मान्छे पनि
लाज छोप्न हत्तपत्त घुम्टो काटेकी बालाजस्तो
जसलाई अत्तोपत्तो छैन छाती उदाङ भइसकेको
यस्तै यस्तै अनेक जोडिएको स्वभाव
कहिले सङ्लिन सकेन
कहिले सन्तुलन फेला पारेन
सधैँ आफूभित्रको अन्तद्र्वन्द्व
आफूले आफैँलाई दिएको घात प्रतिघातको
स्थापन, व्यवस्थापनमा लागिरहेको
स्वसिर्जित उचाइमा उड्दाको आनन्द
आकाशले थिचिरहँदा पनि
आफू बडा, अरू सब साना देखिने
लागू पदार्थको अम्बल जस्तो
एउटा अपूर्व आनन्द विभ्रमको
तर सधैँ कतिबेर उड्न सक्ने र ?
आफ्नो धरातलमा त ओर्लिनै पर्ने
त्यतिबेला नमिठो दिक्दारी उदास लाग्ने
अम्बलीले अर्को डोज खोजेजस्तो
विभ्रम आनन्दको लागि उड्न मन लागिहाल्ने
पुर्नेको उज्यालो, औँसीको रात
अँध्यारो उज्यालो क्रमबद्धता
त्यस्तै आरोह अवरोहको खुसी र विरक्तता
यस्तो पिङ खेलिरहेको त्यो मान्छे
अलिकति विभ्रम खुसीको लागि
आफ्नै ढंगले धेरै असली खुसी गुमाएको
त्यो अप्ठ्यारोमा फलेको फर्सीजस्तो मान्छेले
प्रतिक्रिया