गोजी च्यातेर लागियो जसको लागि
तिनीहरू नै अपराधी भएर निस्के
आफैंलाई धिक्कार्छु किन लडे म तिनको लागि
अब कसलाई दोष दिऊँ यो उमेरमा ?
फगत बलियो ज्यान दिने नियतिलाई त होला
जसले बलियो समझदारी किमार्थ दिएन
परदेशी हुँदा कहिले कसैले नचिन्ने
आफ्नै थलोको घुमाउनेमा उभिइरहँदा
घुमिरहेको समय–प्रवाह नारायणीको लयमा
हेरिरहँदा रिँगटा लाग्यो रन्थनिएर लड्ने गरी
चारैतिर सागरको पानी पानीको बीचमा
पिउने पानी नपाएर तड्पिएको जस्तो
जताततै भतारिएर हिँडेको हिँड्दै छु म
तर खै कता छ मेरो उभिने ठाउँ ?
जहाँ टेक्न खोज्छु, भासिँदै गएको
ज्यान जोगाउन अर्को धरातल खोज्दा
त्यो त झन् जलमग्न भएको देख्छु
उमेर ढल्दै जाँदा ललाट फराकिलो भएको
हराएको काल्पनिक सुख छोडेर अलिकति शान्ति पाउन आँखा चिम्ले
प्रभुको आराधनापछि ठुलो टीका लगाए
ललाटमा भावीले कस्तो अन्तद्वन्द्व लेखिदिएको
मेरो नियति, मेरो जीवन; चुम्छु दुवैलाई
आफ्नै मुलुकमा परदेशी भएर बाँच्दा पनि
गुमनाम हुन नदिने ती संगतीहरूलाई …
प्रतिक्रिया