काठमाडौं । इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना भएको हेलिकप्टरमा सवार इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियन र अन्य सबैको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुने अन्य व्यक्तिमा चालक, सह–चालक, चालक दलका प्रमुख, सुरक्षा प्रमुख, र एक अङ्गरक्षक रहेको जानकारी दिइएको छ ।
प्रेस टिभीद्वारा सम्प्रेषित समाचारमा अनुसार हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रायसी, विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियन, पूर्वी अजरबैजानका गभर्नर मालेक राहमती, इस्लामिक धर्मगुरू मोहम्मद अली अले–हाशेम र अन्य सबै यात्रुहरूको मृत्यु भएको हो ।
इरान–अजरबैजान सीमा क्षेत्रबाट फर्कने क्रममा इरानको उत्तरपश्चिममा रहेको तब्रिज सहरतर्फ जाँदै गर्दा राष्ट्रपति रायसी सवार हेलिकप्टर खराब मौसमका कारण दुर्घटनामा परेको थियो । हेलिकप्टरको भग्नावशेष खोयलर गाउँबाट केलेम जाने बाटोमा सोमबार बिहान क्षतविक्षत अवस्थामा फेला परेको हो ।
इरानी समाचार संस्था आइआरएनएका अनुसार राष्ट्रपति र विदेशमन्त्रीको निधनपछि तत्काल मन्त्रिपरिषद् बैठक बोलाइएको छ । केही शवहरू पहिचान खुल्न नसक्ने गरी जलेको इरानी अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया