देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस संसदीय दलको बैठक बस्दै

देशान्तर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हलमा बस्ने बैठकमा आजै बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुनेछ । त्यस्तै प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपबारेमा समेत छलफल हुने बताइएको छ ।

कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको समेत संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । तर प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेसलगायत विपक्षी दलको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको मागबमोजिम उहाँलाई सदनमा बोल्न दिने सहमति गरेका थिए ।

प्रतिनिधिसभाको आइतबारको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकारसम्मेलन मार्फत सहकारीको रकम अपचलनका विषयमा निष्पक्ष छानबिन गर्न संसदीय समिति नबनेसम्म आफ्नो पार्टीले संसद् बैठक अघि बढ्न नदिने बताउनुभएको थियो । कांग्रेसले सहकारीका बचतकर्ताको रकम फिर्ता दिलाउनुपर्ने र सहकारीको रकम अपचलनमा संलग्न जोसुकै होस् कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएको छ ।