धेरैलाई आश्चर्य लागेको थियो– एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा अध्यक्ष रवि लामिछानेको सहकारी ठगी काण्डलाई ढपक्क ढाकेर उनको कुनै गल्ती छैन, कांग्रेसले अज्यौली मात्र गरेको हो किन भनेका होलान् ! एमालेकै नेता तथा कार्यकर्ता पंक्तिले पनि आफ्ना अध्यक्षले दिउँसै रात पार्न किन खोजेका होलान् भनेर जिब्रो टोक्न थालेका थिए ! हुन पनि लोकलाजको कुनै प्रवाह नगरी ओलीले सुकिसकेको टुकुचाको जलले लामिछानेलाई चोख्याउने अस्वाभाविक कसरत किन गरेका होलान् भनेर कार्यकर्ताले अचम्म मात्र मानेका थिएनन्, अत्याचारै हुन लाग्यो पनि भन्न थालिसकेका थिए ।
यसैबीच, जब झापाको गिरीबन्धु चिया बगानको, करोड, अर्ब होइन, खर्बौं पर्ने जग्गा साटासाट गर्ने सहमति दिने मन्त्रिपरिषद्को निर्णयविरुद्ध चलेको मुद्दाको फैसलाको पूर्ण पाठ सार्वजनिक भयो, तब उनले आफ्नो मलामी अहिले नै तयार पार्न रवि लामिछानेलाई रोजेका रहेछन् भन्ने रहस्य खुल्न पुग्यो ।
धेरैलाई थाहा थिएन, गिरीबन्धु चिया बगान काण्ड यति ठूलो र विस्फोटक हुन सक्छ भन्ने ! तर ओलीलाई थाहा मात्र थिएन, त्यसका हर्ताकर्ता नै उनी थिए । उनैको प्रोत्साहन र आँटले असम्भव लाग्ने त्यो योजना कार्यान्वयन हुन पुगेको थियो । उनी झन्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकारका प्रधानमन्त्री नहुँदा हुन् त त्यत्ति ठूलो “राष्ट्रघाती काम” अरू कसैबाट हुन सक्ने थिएन । सबैलाई आफ्नो देश, इतिहास, पार्टी र भविष्यको चिन्ता हुनु स्वाभाविक हो । ‘‘आफू मरेपछि डुम्मै राजा” भनेर त्यत्ति निष्ठुर तथा निर्मम काम उनीबाहेक अरूले गर्ने थिएनन् । त्यो कुरा, एमालेका नेताहरू पनि स्वीकार गर्छन् । मुखमात्र खोल्न सकेका छैनन् ।
नीतिगत भ्रष्टाचारका चर्चा पहिलेदेखि सुन्ने गरिएको हो । ठूला र धेरै कमिसन आउने निर्णय गर्नुप¥यो भने मन्त्रीहरूले प्रधानमन्त्रीलाई विश्वासमा लिएर त्यस्ता योजनाका फाइल मन्त्रिपरिषद्मा लगेर निर्णय गराउँथे, जसले गर्दा अख्तियार निवारण अनुसन्धान आयोग पनि हेरेको हे¥यै हुनुपथ्र्यो । मन्त्रिपरिषद्को नीतिगत निर्णयमा उसको पनि केही चल्दैनथ्यो ।
गिरीबन्धु चिया बगान काण्ड, झापाको मामला भएकाले प्रधानमन्त्री ओलीले आफ्नो निजी प्रतिष्ठाको विषय बनाएका थिए, जसरी अहिले रवि लामिछानेको सहकारी ठगीको विषयलाई आफ्नो निहित स्वार्थको मामला बनाएका छन् । एमालेका बबुराहरू जसोजसो ओली बाजे उसैउसै स्वाहा भन्न वाध्य छन् । आफ्नो विवेकको प्रयोग गर्न कोही पनि फुक्का छैनन् । त्यस्तो फलामे अनुशासन कम्युनिस्ट पार्टीको विशेषता पनि हो ।
२०५१ सालमा बनेको नेपालको पहिलो अल्पमतको कम्युनिस्ट सरकारबाट सुरु भएर २०७८ सालको केपी शर्मा ओली नेतृत्वको झन्डै दुई तिहाइको कम्युनिस्ट सरकारले ऐन र नियमसमेत संशोधन गरेर गिरीबन्धु चिया बगानलाई जग्गा साटफेर गर्न अनुमति दिएपछि नेपालको इतिहासको सबैभन्दा ठूलो भ्रष्टाचारको कीर्तिमान उद्घाटित हुन पुगेको हो । त्यो रहस्यबाट पर्दा तब खुल्न पुगेको थियो, जब सर्वोच्च अदालतले त्यो मुद्दाको फैसलाको पूर्ण पाठ गत साता सार्वजनिक गरेको थियो ।
ओलीलाई थाहा छ, रवि लामिछानेको सहकारी ठगीको विषय जाँच गर्न संसदीय छानबिन समिति गठन भयो भने त्यसको भोलिपल्टै कांग्रेसले उपप्रधान तथा गृहमन्त्रीको पदबाट राजीनामाको माग गर्छ र माग पूरा नभएसम्म संसद् चल्न दिने छैन । त्यस्तो अवस्था उत्पन्न भयो भने रवि लामिछानेले उनको पार्टीले गठबन्धन त्यागेको घोषणा गरेर आफ्नो प्रधानमन्त्री बन्ने सपना तुहाई दिन सक्छन् । त्यो सम्भावना प्रबल किन छ भने उनलाई थाहा छ, अगाडिको भविष्य र पछाडिको पृष्ठभूमि नभएको रास्वपा भनेकै रवि हुन् । त्यही उनलाई काम लागेन भने अरूलाई सरकारमा जाने भ¥याङ बनिदिन उनी पनि तयार हुने छैनन् । त्यही कारण ओली, लाजघिन केही नमानी रविभन्दा ठूला रविभक्त बन्न पुगेका हुन् । रवि, ओलीभक्त हुनुको कारण पनि त्यही हो ।
तसर्थ, अबको जनउभार र कांग्रेसको प्रहारको केन्द्र ओलीको अक्षम्य राष्ट्रघातविरुद्ध केन्द्रित हुनुपर्छ । त्यो यसकारण कि फैसलमा ओलीको मन्त्रिपरिषद्को निर्णय राष्ट्रहितमा छैन भनेको छ । त्यो भनेको राष्ट्रघात नै हो । भनिरहन पर्दैन, त्योभन्दा ठूलो अपराध अर्को हुन सक्तैन ।
प्रतिक्रिया