काठमाडौँ । हेटौँडा वितरण केन्द्रको लापरवाहीका कारण मासिक १७ करोड १९ लाख २२ हजार ५४ युनिट बिजुली खेर जाने गरेको भेटिएको छ । यो परिमाणको बिजुली चुहावट भएको वा कर्मचारीको मिलमत्तोमा चोरी भएको भन्ने बिवरण केन्द्रसंग छैन ।
आर्थिक वर्ष २०७३÷७४ मा सो वितरण केन्द्रलाई एक अर्ब ११ करोड ७२ लाख तीन हजार ९६ युनिट बिजुली उपलब्ध गराएको थियो । त्यसमध्ये उक्त परिमाणको विजुली खेर गएको भन्दै प्राधिकरणले अहिले आएर खोजबिन सुरु गरेको छ ।
चुहावट नियन्त्रणको प्रयास निरन्तर अगाडि बढे पनि उल्लेख्य मात्रामा चुहावट भइरहेको पाईएपछि ६ महिनाभित्र परिणाम देखिने गरी चुहावट नियन्त्रण नगरे सम्बन्धित वितरण केन्द्र र क्षेत्रीय प्रमुखलाई कारबाहीको दायरामा ल्याउने प्राधिकरणले जनाएको छ ।
उक्त क्षेत्रीय कार्यालयलाई आव २०७२÷७३ मा ८१ करोड ३१ लाख ८१ हजार ७२५ युनिट विद्युत् उपलब्ध गराएकामा १४ करोड ८४ लाख ४७ हजार ९७४ युनिट विजुली खेर गएको छ । सो आवमा सो क्षेत्रीय कार्यालयले ६६ करोड ४७ लाख ३३ हजार ७५१ युनिट विजुली बिक्री गरेको थियो ।
प्राधिकरणका अनुसार गौरमा तीन करोड ७६ लाख ५२ हजार ५८१ युनिट विजुली खेर गएको छ । सिमरामा एक करोड ३० लाख नौ हजार ८१७ युनिट, पालुङमा ११ लाख ६८ हजार ६८९, वीरगञ्ज चार करोड ३० लाख ७८३, कलैयामा चार करोड एक लाख ७५ हजार ५८४, हेटौँडामा एक करोड ८७ लाख ५९ हजार ५४६, टाँडीमा ८३ लाख १० हजार ७२१ युनिट र भरतपुरमा ९८ लाख ४४ हजार ३३३ युनिट खेर गएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटाँैडा क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रले दुई प्रतिशत चुहावट घटाउनु भनेको अन्य क्षेत्रीय कार्यालयको तुलनामा दश प्रतिशतभन्दा बढी हुने भएकाले जुनसुकै शर्तमा पनि चुहावट नियन्त्रण गर्नुपर्ने बताए ।
प्राधिकरणले कलैया वितरण केन्द्रलाई दिएको योजनाअनुसार चुहावट घटाउन असफल भएको छ । सो वितरण केन्द्रको आव २०७२÷७३ मा ५०.३६ प्रतिशत चुहावट रहेकामा आव २०७३÷७४ मा ६.७० प्रतिशत बढेर ५६.७० पुगेको छ ।
प्राधिकरणले सो क्षेत्रीय कार्यालयले गत असोजमा चुहावटको मात्रा दुई प्रतिशत घटाउन निर्देशन दिएकामा सो योजना पूरा गरेको छ । आव २०७२÷७३ मा १८.२६ प्रतिशत चुहावट रहेकोमा आव २०७३÷७४ मा १५.३९ प्रतिशत कायम गर्न सफल भएको छ ।
सो क्षेत्रीय कार्यालयले तीन प्रतिशत चुहावट घटाउन सफल भएको छ । सबैभन्दा बढी चुहावट हुने गौर वितरण केन्द्रले ८.०५ प्रतिशत घटाएको छ । आव २०७२÷७३ मा सो वितरण केन्द्रको चुहावट ५३.५१ प्रतिशत रहेकामा आव २०७३÷७४ मा ४५.४६ प्रतिशत चुहावट भएको छ ।
तोकिएको कोटा मात्रै पूरा गर्ने प्रवृत्तिले परिणाम प्राप्त हुन नसक्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । आव २०७३÷७४ मा सिमरामा ४.७३ प्रतिशत, पालुङमा २०.३४, वीरगञ्जमा १३.४६, हेटाँैडामा ११.५१, टाँडीमा १४.१३ र भरतपुरमा ६.५९ प्रतिशत विजुली चुहावट भएको क्षेत्रीय प्रमुख अनिरुद्र श्रीवास्तवले बताए ।
स्थानीय प्रहरी प्रशासनको सहयोगमा हुकिङ, अवैध चोरीजस्ता नियन्त्रणको प्रयास अगाडि बढे पनि गुणात्मक परिवर्तन नआउनु दुःखद् रहेको भन्दै आगामी दिनमा थप चुनौती महसुस गर्दै काम गर्ने क्षेत्रीय प्रमुख श्रीवास्तवको भनाई छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले कलैया वितरण केन्द्रले चुहावट नियन्त्रणमा असफल किन भएको भन्नेमा उक्त वितरण केन्द्रका प्रमुखसँग सोधखोज भएको बताए ।
सो वितरण केन्द्रअन्तर्गत हेटौँडा, वीरगञ्ज औद्योगिक कोरिडोरसमेत रहेकाले चुहावट बढी देखिनु स्वभाविक रहेको प्राधिकरणको बुझाइ छ । तर औद्योगिक फिडरमा जडान गरिएको ‘टिओडी मिटर’ अध्ययनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । सामान्य चोरीभन्दा औद्योगिक चोरीको मात्रा बढी हुने भएकाले त्यसतर्फ विशेष ध्यान दिइएको घिसिङको भनाइ छ । यो खबर राससका लागि रमेश लम्सालले लेखेका हुन ।
प्रतिक्रिया