देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार जोगाउन साना दलहरु टुटाउँदै ओली–प्रचण्ड

देशान्तर


देशान्तर विशेष संवाददाता
काठमाडौं ।संसदीय व्यवस्थामा बहुमत प्राप्त दलले सरकार सन्चालन गर्छ र अन्य दल प्रतिपक्षमा बस्छन्, कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा पहिलो दलले सरकार बनाउँछ, दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउने प्रचलन हुन्छ, जब बहुमत पुग्दैन सरकार छाड्नुपर्छ र नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्छ, यो संसदीय पद्दतिको स्थापित मान्यता हो, तर नेपालमा पछिल्लो समय यी विधि, मान्यता र प्रचलनलाई तीलान्जली दिँदै सदनको ठूलो दललाई बाहिर राखेर सरकार बनाउने र सरकार टिकाउन जे सुकै पनि गर्ने प्रवृत्ति वढ्दा पछिल्लो पटक एमाले–माओवादी गठबन्धनले बहुमत कायम राखिराख्न सरकारमै रहेका दलहरु टुटाउने फुटाउनेसम्मका हर्कतहरु देखिन थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्ड र गठबन्धनको ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रुपमै सरकार जोगाउन जे पनि गर्न सकिने चेतावनी खुलेआम दिइरहँदा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट सुरु भएको दल विभाजनको श्रृंखला अझै लम्बिने देखिएको छ भने त्यसको शिकार सरकारमै सहभागी र समर्थन गर्ने दलहरुमाथि हुने निश्चित जस्तै देखिन्छ ।
संसदमा १२ सिट रहेको पूर्व कम्युनिस्ट उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको विभाजनको कारण सत्ता समीकरणबाहेक अन्य केही छैन । सरकारमै संलग्न वामपन्थी दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सरकारबाट बाहिरिने र नयाँ सत्ता समीकरण बन्ने चर्चा चलिरहेका बेला ओली र प्रचण्डले जसपा फुटाइदिएका हुन्, जुन कुरा प्रचण्डले सिन्धुली पुगेर सार्वजनिक रुपमा स्वीकार गरेका छन् । गठबन्धन पाँचै वर्ष टिक्ने र त्यसका लागि जे जे गर्न परे पनि गर्ने उनको भनाइ जसपा विभाजनसँग सम्बन्धित छैन, अन्य दलतर्फ पनि लक्षित छ । ओलीको डिजाइनमा सुरु भएको दल विभाजनको शृंखला माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, रेशम–रन्जिताको नागरिक उन्मुक्ति र रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीसम्म पुग्ने आकलन राजनीतिक विश्लेषकहरुको छ ।
स्रोतका अनुसार ओली सबैभन्दा पहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी फुटाउन चाहन्थे । एकीकृत समाजवादीलाई फुटाएर नयाँ दल बनाउने र नयाँ दलमा लागेका सांसदहरुलाई एमालेमा समाहित गर्ने उनको योजना थियो । तर, इलाम २ को उपचुनावपछि एकीकृत समाजवादीमामा एमालेविरोधी शक्ति हाबी हुँदा ओली हच्किएका थिए । त्यही अवस्थामा उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको मौका छोपेर ओलीले पूर्व एमालेलाई समेटेर जसपा फुटाइदिएका हुन् । अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जसपामा अधिकांश पूर्वएमाले छन् । ७ सांसदसहित बनेको नयाँ दललाई अन्ततः एमालेमै समाहित गर्ने ओलीको योजना छ ।
सत्ताकै कारण रेशम रन्जिताको नागरिक उन्मुक्ति पार्टीमा चरम विवाद छ । जुनसुकै अवस्थामा रेशम वर्तमान सत्ता गठबन्धनको विपक्षमा छन् भने रन्जिता अहिलेको गठबन्धनको पक्षमा छन् । नाउपाले विवादका बीच प्रचण्डलाई विश्वासको मत त दियो, त्यसपछि विवाद झनै चर्कियो । यही मौका छोपेर यो पार्टीलाई पनि फुटाउने ओली प्रचण्डको रणनीति छ । संसदमा २१ सिट रहेको रवि लामिछानेको राष्टिय स्वतन्त्र पार्टी ओली प्रचण्डको अर्को निशाना हो । अहिले ओली र प्रचण्डको साथ पाएको भन्दै रवि उत्साहित देखिए पनि उनको दल कुन बेला विभाजित हुन्छ भन्ने टुंगो छैन । रविकै कारण पार्टी विवादमा परेको र साख गिर्दै गएको भन्दै केही नेताहरुले पार्टीभित्रै आवाज उठाउन थालेका छन् । यो आवाज अब नरोकिने बरु बढ्दै जाने धेरैको बुझाइ छ । केपी ओलीले आफू बलियो हुन र एमालाई ठूलो पार्टी बनाउने नाममा जुनसुकै बेला जुनसुकै दल फुटाउन सक्छन्, उनको रणनीति बुझ्न सके जोगिन्छन्, लोभमै फसिरहे डुब्छन्, राजनीतिका जानकारहरुको बुझाइ छ ।
सत्ता र शक्तिका लागि जोसुकैसँग पनि सम्झौता गर्न सक्ने प्रधानमन्त्री प्रचण्डको चरित्र र आफू बलियो हुन तथा शक्तिलाई आफूमा निहीत गर्न जे पनि गर्न पछि नपर्ने ओलीको चरित्रले मुलुकको राजनीतिलार्ई थप अस्थिर बनाउने देखिएको छ ।