देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गरिबको जिम्मा कस्ले लिने ?



रोगी मृत्यु कुरेर बस्ने, सद्दे खाडी जाने, नेताहरू अझै पनि ‘समृद्ध नेपाल, सुःखी नेपाली’ को नारा लगाउने ?पछिल्लो समय धेरै सर्वसाधारण गम्भीर प्रकृतिको रोगबाट ग्रसित छन् । मिर्गौला, कलेजो, मुट, क्यान्सर, मेरुदण्ड, ब्रेन ह्यामरेजलगायतका दीर्घकालीन रोगले धेरैले सताएको छ । यी रोगको उपचार धेरै नै महँगो छ । उपचार गर्ने क्रममा आफ्नो घरखेत नै सकाएको धेरै उदाहरण छन् । सम्पत्ति हुनेले त उपचार गर्लान्, गरिबको त मर्नुबाहेकको विकल्प नै छैन ।
सरकारले यी रोग लागेकालाई निःशुल्क उपचार गरिदिने व्यवस्था मिलाउनुपर्ने हो । विडम्बना, सरकार आँखा चिम्लेर बसेको छ । अमेरिकामा मान्छेमा सुँगुरको मिर्गौलासम्म हालिएको खबरहरू बाहिर आइरहेका छन् । त्यसले काम गरेको पनि भनिएको छ । अन्य मुलुकले नागरिकको ज्यान जोगाउन हरसम्भव गरिरहँदा हाम्रो सरकार हात बाँधेर बसेको छ ।
जनतालाई कसरी बचाउने ? सरकारलाई मतलब नै छैन् । मिर्गाैला पीडितहरू बाटोमा मागेर हिँडिरहेको देखिन्छ । अहिले त सडककै पिच्छे स्पिकर बजाएर मागिरहेका हुन्छन् । त्यसरी मागेर उपचार गराएर कतिञ्जेल साध्य लाग्छ ? उपचारको क्रममा सारा जायजेथा सकाउँछन्, तैपनि सफल उपचार हुँदैन् ।
सरकारले जनतामाथि व्यापार मात्र गरिरहेको छ । उपचार गर्ने नाममा पनि पैसा, शिक्षाको नाममा पनि पैसा । सरकारी विद्यालय भनिएको छ, भर्ना नगरिकन हुँदैन । परीक्षालगायत विभिन्न शीर्षकमा शुल्क असुलिन्छ । सरकारी अस्पतालकै कुरा गरौं, पहिले पैसा नबुझाइकन भर्ना नै लिँदैन ।
बिरामी मर्न लागेको हुन्छ, सरकारी अस्पतालका कर्मचारी पैसा मागेर बस्छन् । शुल्क लिएर उपचार गर्ने हो भने के को सरकारी ? निजीमा गए भइहाल्यो नि । पैसा तिर्न नसक्ने भएर सरकारीमा गयो, त्यहाँको कर्मचारी र डाक्टरको व्यवहार उही हो । टोकनदेखि लिएर अस्पताल भर्ना, उपचार, औषधि सबै खर्च बिरामीले व्यहोर्नु परेको छ ।
सरकारी अस्पतालमा यतिसम्म बेतिथि छ कि बयान गरिसाध्य छैन् । निःशुल्क दिन भनेर उपलब्ध गराइएको औषधिसमेत डाक्टरहरूले मेडिकलवालालाई बेच्छन् । बिरामी मेडिकल गएर त्यही औषधी किन्न बाध्य छन् । जनता देश विकासको एउटा हतियार हो । राज्यले सबै कुरा बनाउन सक्छ, तर जनता बनाउन सक्दैन ।
एउटा नागरिकताको आडमा राज्यले जनताबाट कर र भोट लिइरहेको छ । जनताले के पाएका छन् ? एउटा नागरिकता होइन् ? पाइला–पाइलामा कर तिरेका छौं, राजनीतिक दललाई भोट हालेका छौं । तर, उपचारसमेत पाउँदैनौं । जनताप्रति राज्य जहिले पनि जिम्मेवार हुनुपर्छ ।
तर, हाम्रा राज्य सञ्चालकहरूलाई जनताको मतलबै छैन्, बस् कर र भोट आए पुग्यो । गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी नागरिकको मौलिक हक हुन् । संविधानले नै यो कुरालाई समेटेको छ । खोइ त कार्यान्वयन ? उपचार नपाएर अहिले पनि सर्वसाधारणले ज्यान गुमाइरहेका छन् ।
कतिपय रोग पालेरै बसेका छन् । यहाँ जनतासँग बिहान–बेलुका खानलाई पैसा छैन, उपचार गरून् कसरी ? उपचार व्यापार बन्दा आमजनता मर्कामा परेका छन् । एउटा नागरिक गुमाउनु भनेको सरकारलाई क्षति हुनु हो । किनकि उसले देश विकासमा योगदान पु¥याउँछ, सानोतिनो काम गरेर भए पनि सरकारलाई कर तिर्छ, राजनीतिक दललाई भोट दिन्छ ।
तर, त्यही जनताको ज्यानमाथि खेलवाड किन ? उपचार गर्न नसकेर अस्पतालको छतबाट हाम्फालेर आत्महत्या गरेको धेरै घटना छन् । उपचार नपाएर मर्नुसम्मको अवस्था बन्दा सरकारको चित्त दुख्दैन् ? केही वर्षअघिको घटना हो, मिर्गौलाको रोगबाट थलिएका एक किशोरले महाराजगन्जस्थित शिक्षण अस्पतालको छतबाट हाम्फाले ।
सामाखुसीमा परिवारसँग डेरा गरी बस्दै आएका उनले उपचार गर्नलाई पैसा नभएपछि आत्महत्या गरे । यो त एउटा उदाहरण मात्र हो । यस्तो घटना कति छन् कति । उपचार शुल्क तिर्न नसकेर अस्पतालमै बन्धक बनाइएकोलगायतका मानवताहीन कार्यहरू समेत अस्पतालले गरेका छन् ।
यो देश राजनीतिक दल र सरकारी कर्मचारीको मात्रै भयो । जनता जाऊन् ‘भाड’ मा । सरकारी कर्मचारीका निम्ति निजामती अस्पताल छ । प्रहरीको लागि प्रहरी अस्पताल र सैनिकको लागि आर्मी अस्पताल छ । जनताका लागि चाहिँ कहाँ छ निःशुल्क अस्पताल ? सरकारी कर्मचारीहरू बहालरत हुँदासम्म तलबभत्ता खान्छन् । घुस पनि लिन्छन् । अवकाश पाएपछि पेन्सन पनि पाउँछन् । तर, गरिब जनताको त केही पनि छैन । काम पाए र गर्न सके खायो, नत्र भोकभोकै हिँड्यो । तिनले उपचार खर्च ‘अफोर्ड’ गर्न सक्छन् ? सरकारी अस्पतालमा दुई वर्षसम्म एउटा अपरेसनको पालो आउँदैन । यो जनताको ज्यानमाथि हेलचेक्य्राइँ गरिएको होइन् ?
उपचार गर्ने पैसा नभएर मृत्यु कुरेर बसेका लाखौं बिरामी छन् । यद्यपि, सरकारले देखेर पनि अनदेखा गरिरहेको छ । उपचारको नाममा देशका राष्ट्रपतिदेखि मन्त्रीसम्मले करोडौं रुपैयाँ लिएका छन् । त्यो त जनताले तिरेको कर हो नि । जनताले खाइनखाई तिरेको करमा उनीहरूले मोजमस्ती गरिरहेका छन् ।
पिसाब पहेँलो आयो भने पनि उनीहरू विदेश दौडिहाल्छन् । अनि यस्ताले देश र जनताको लागि काम गर्छन् ? रामचन्द्र पौडेल राष्ट्रपति भएर आउनेबित्तिकै बिरामी भए । खासै त्यस्तो रोग लागेको त थिएन्, तर उपचार गराउन भारत पुगे । सुरुमा सस्तो लोकप्रियता कमाउन आफैं उपचार खर्च व्यहोर्छु भने तर राज्यको ढुकुटीबाट असुलेरै छाडे ।
देशको राष्ट्रपति भनेको समग्र जनताको अभिभावक हो । अभिभावक आफू नखाएर सन्तानको पेट भर्छन् । आफू पीडा सहेर आफ्ना सन्तानको उपचार गराउँछन् । हाम्रो देशका नेताहरू उल्टो गति दौडिरहेका छन् । आफैं खाऊँ, आफैं लाऔं र आफ्नै धोक्रो भरौंको सिद्धान्तमा हिँडेका छन्, उनीहरू ।
अन्य मुलुकमा एउटा सामान्य दुर्घटना भयो भने सम्बन्धित मन्त्रीले जिम्मेवारी लिन्छन् । पदबाटै राजीनामा दिएर कारबाहीको भागीदार बन्छन् । हामीकहाँ ठ्याक्कै उल्टो छ । जनता चुसेर नेताहरू मोटाएका छन् । नेताहरू सरकारी अस्पतालमा उपचार गराउन चाहँदैनन् । किनकि तिनलाई त्यहाँ कार्यरत डाक्टरमाथि विश्वास छैन ।
फेरि राज्यको ढुकुटी पनि त सोत्तर बनाउनुप¥यो । नेताहरूलाई आफ्नो ज्यानको माया चाँहि हुने, जनताको ज्यानको चाहिँ नहुने । सरकारले सरकारी अस्पताल र विद्यालय खोलेको छ । साथै, निजीलाई पनि लाइसेन्स बाँडिरहेको छ । सरकारले कसरी जनतामा भ्रम छरिरहेको भन्ने यहाँबाट पुष्टि हुन्छ ।
निजी विद्यालय र अस्पतालमा नेताहरूकै लगानी छ । एकातिर देश र जनताको आवाज उठाएझैं गर्ने, अर्कोतिर तिनलाई सोत्तर बनाउने । आफूले पढाउन नपरोस् र बसीबसी तलब खान पाइओस् भनी सरकारी स्कुलका शिक्षक नै पढाइ राम्रो हुँदैन भनेर आम सर्वसाधारणमा भ्रम फैलाउँदै हिँडेका छन् ।
तर, कसैलाई वास्ता नै छैन् । यता, सरकारी अस्पतालका डाक्टरहरूले साह्रै लापरवाही गर्छन् । बिरामीको मिर्गौला झिकिदिने, शल्यक्रिया गर्दा प्रयोग भएको सामान शरीरभित्रै राखेर सिलाइदिनेलगायतका घटनासमेत घटेको छ । विपन्नका लागि छुट्ट्याइएको कोटामा नेताहरू आफ्ना र आफन्तको उपचार गराउँछन् ।
जनताको नाममा आएको औषधि मेडिकलमा बेचिन्छ । उपचारको उपकरण खरिदमा पनि अनियमितता । शिक्षादेखि स्वास्थ्यसम्म भ्रष्टाचार । यहाँ जम्मै भ्रष्टाचारी र दलाल भए । राज्य पनि लुटौं, जनता पनि भन्ने सिद्धान्तमा हिँडेका छन् । नेताहरू आफ्नो स्वार्थमा रमाएका छन् । देश र जनताको गीत गएर कसरी देश सकाइयो, जनताले बुझेका छैनन् ।
अहिले पनि जनता पार्टीको कार्यकर्ता भएर हिँडेका छन् । देशमा जनताभन्दा धेरै कार्यकर्ता हुँदा आज यो अवस्था बन्यो । जनता बाटोमा कचौरा लिएर मागेर हिँडेका छन्, नेताहरू ‘समृद्ध नेपाल, सुःखी नेपाली’ को नारा लगाएर हिँडेका छन् । नेताहरूले कतिसम्म ढोंग रचेका छन् ? यसबाट पुष्टि हुन्छ । बिरामी मर्ने दिन कुरेर बस्छन्, सद्दे खाडी जान्छन् । योभन्दा कति विकास र समृद्धि चाहियो ?