काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको इच्छाकामना– ६ मा बुधबार राति पहिरोमा दुई वटा सवारी पुरिएका छन्। काठमाडौंबाट इलाम जाँदै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुवाहक बस बा १५ च ९३८१ नम्बरको स्करपियो पहिरोले पुरिएका हुन्।
पहिरो खसेको देखेपछि चालक र यात्रुहरु भागेका थिए। यात्रुवाहक बसेमा २३ जना यात्रु रहेको चितवन ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिए। पन्तले मानवीय क्षति नभए पनि दुवै गाडी पुरिएको बताएका छन्। पानी र अध्यारो भएकाले उद्दारमा कठीनाई भएको छ।घटनास्थल मुग्लिनबाट २ किमीको कालिखोला नजिकै पर्दछ।
मुग्लिन नारायणगढ सडकखण्ड बिस्तारको काम जारी रहेकाले पटक पटक पहिरो झर्दा सडक अवरुद्ध हुने गरेको छ । पछिल्लो समय सो सडकको यात्रा जोखिमपूर्ण बनेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो सो सडकखण्डको स्थलगत निरीक्षण गरेका छन्। सडक बिस्तारमा तिव्रता दिन निर्देशन दिँदै उनले काममा ढिलासुस्ती गरे कारबाही गर्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया