देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले चैत १८मा उम्मेदवार चयन गर्ने

देशान्तर

काठमाडौं । वैशाख १५मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार चैत १८मा चयन गर्ने भएको छ । सभापति शेरबहादुर देउवाले चैत १८मा उम्मेदवार चयन गरिने जानकारी गराएको इलाम कांग्रेसले जनाएको छ । कांग्रेसमा संसदीय बोर्डले उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ ।
इलाम–२ का लागि ७ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ । भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएको छ । यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार (१५ चैत) बाट सुरु गर्न लागिएको हो ।

१३ माघबाट झापाबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो ।
बुढाथोकीको २२ माघमा मृत्यु भएपछि संवाद यात्रा नवलपरासीको गोपीगञ्जबाट रोकिएको थियो । स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री थापाले संवाद यात्रा गरेका थिए । १५ चैतबाट हुने अभियान रोकिएकै स्थानबाट सुरु हुने छ । थापाले नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा संवाद यात्रा गर्ने छन् । १८ गते संसद बैठक भएकाले संवाद यात्रा १७ गतेसम्म हुने गरी कार्यतालिका बनाइएको छ । पार्टीले १६ माघदेखि १० दिनका लागि ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्ने गरी कार्यक्रम बनाएको थियो । पार्टीका शीर्ष नेतालाई सात प्रदेश र केन्द्रीय नेताहरुलाई जिल्लामा प्रतिनिधि खटाएर अभियान चलाइएको थियो ।