काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सत्ता गठबन्धन, राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन, प्रधानमन्त्रीले लिने विश्वासको मतलगायत विषयमा छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भएको भेटवार्तामा यसबारे छलफल भएको हो । राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार (भोलि) हुँदै छ । अध्यक्षका निम्ति सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल उमेदवार छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा उमेदवार छन् । प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । त्यसैगरी सत्ता गठबन्धनले गठन गरेको राजनीतिक संयन्त्रको सुझावका आधारमा सरकारका साझा न्यूनतम कार्यक्रम तय गर्ने तयारी छ । त्यसका लागि सरकारमा सहभागी पाँच दलका दुई दुई जना नेता सम्मिलित कार्यदल गठन भैसकेको छ ।
प्रतिक्रिया