प्रदीप पौडेल
हालै सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा कांग्रेसले अघि सारेको संविधान संशोधनको विषयमा गहन छलफल भयो । विशेषगरी प्रतिपक्षी एमालेलगायतका दलहरूले संविधान संशोधनमा कांग्रेसलाई राष्ट्रघाती भयो भने विषयमा लगाइएका आरोपमा केन्द्रित भएर । कांग्रेसले संविधान जारी हुँदैदेखि अहिलेको संविधानले सबै जाति, भाषी र समुदायका हकहितका विषयमा पूर्णता नदिएको हुन सक्छ । यसलाई सर्वस्वीर्काय बनाउन समयसमयमा आवश्यक संशोधन गरी छुटेका विषयहरूलाई समावेश गर्न सकिन्छ भनेकै हो ।
यसमा अहिले संविधान संशोधनको विषयलाई मूल मुद्दा बनाएर कांग्रेसले राष्ट्रघाती काम गर्न खोजिरहेको छ भन्दै चुनावी मुद्दा बनाएको नेकपा एमालेको पनि समर्थन रहेकै हो । तर, पछिल्लो समयमा आएर आफूले प्रतिबद्धता व्यक्त गरेका विषयमा एमाले सर्पले झै काँचुली फेर्दै जनताको आँखामा छारो हाल्ने काम गरिरहेको छ । निर्वाचन जित्नका लागि कांग्रेसका मुद्दालाई जसरी एमालेले उल्टो र सुल्टो बनाउँदै व्याख्या गर्र्यो । त्यसले प्रत्यक्ष असर पार्दापार्दै पनि कांग्रेसले सही कुरा जनतालाई बुझाउन सकेन ।
संविधान संशोधन किन आवश्यक छ र यो कुनै पनि हिसाबले राष्ट्रघाती होइन भन्ने कुरा कांग्रेसले जनतालाई बुझाउन नसक्नु नै दुई चरणको स्थानीय निर्वाचन कांग्रेसको पक्षमा कम मत आउनुको एउटा कारण हो । कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णयअनुसार अब कांग्रेस नेतृत्वले कांग्रेसले सत्तामा रहँदा र सत्ता बाहिर रहँदासमेत लिएका निर्णयहरू गलत र राष्ट्रघाती थिएनन् र होइनन् भनेर बुझाउनु पर्छ । संविधान संशोधनको प्रस्ताव राष्ट्र विखण्डनका लागि होइन, राष्ट्रलाई एकताको सूत्रमा बाँध्न र देशलाई आन्तरिक द्वन्द्वबाट बचाउनका लागि ल्याइएको हो ।
नेपालमा मधेस भन्ने भूभाग पनि छ र त्यहाँ पनि वर्षांैदेखि पिछडिएका जाति, धर्म र समुदायको उत्थानका लागि आन्दोलन भइरहेको छ । यसलाई सम्बोधन गर्दै जाने कुरामा कांग्रेसले संविधान संशोधनको प्रस्ताव ल्याएको हो । कुनै पनि राजनीतिक दलले आफ्ना विचार राख्छ, दृष्टिकोण राख्छ । कांग्रेसले पनि आफ्नो दृष्टिकोण र विचारअनुसार सबैलाई मिलाउन र सबैले संविधानप्रति अपनत्व ग्रहण गरून् भन्ने उद्देश्य राखेर संविधान संशोधानको प्रस्ताव ल्याएको हो । यो प्रस्ताव पारित हुने, नहुने भन्ने प्रक्रिया अर्कै हो । संशोधन प्रस्तावलाई कांग्रेस नेतृत्वको सरकारले संसद्मा लान जति ढिलो गर्छ, त्यतिनै प्रतिपक्षी दलहरूलाई कांग्रेसविरुद्ध प्रहार गर्ने मसला भइरहन्छ ।
त्यसकारण यो विषयलाई तत्काल प्रक्रियामा लानुपर्छ । आफूले संसद्मा लगेको प्रस्ताव पारित गराउन कांग्रेसको दायित्व पनि हो । तर, निर्वाचन प्रक्रिया भनेको हार र जितको प्रक्रिया हो । प्रक्रियाले दिएको परिणामले कि त विषयको अन्त्य गर्छ कि त नयाँ सिराबाट अगाडि जाने बाटो देखाउँछ । संशोधन प्रस्ताव जुन क्षेत्र र समुदायको लागि लगिन लागेको हो उसले पास भए धन्यवाद दिन्छ फेल भए पनि प्रस्ताव लगेकोमा सहानुभूति प्रकट गर्छ ।
कांग्रेस माथि जतिले लाञ्छना लगाउन सक्थे, आरोप लगाउन सक्थे ती सबै लागिसकेका छन् । अब यस्ता आरोपले कांग्रेसलाई छुन सक्दैन । आफूमाथिका मिथ्या आरोप चिर्न कांग्रेस नेताहरू सक्षम छन् । संशोधनको विषय राष्ट्रघात होइन मधेसी जनतासँग जोडिएका विषय हुन् । कांग्रेस नेतृत्वको सरकारले अघि सारेको संशोधन प्रस्ताव राष्ट्रघाती हो भने मधेसी जनता के हुन् ? कांग्रेसलाई राष्ट्रघातको आरोप लगाएर मत बटुल्न सफल नेकपा एमालेले हिजो मधेसबाट पाएको मत र भोलि मधेसबाट पाउने मत राष्ट्रघाती मत हो कि होइन । संविधानले प्रत्यक्ष निर्वाचित र जनसंख्याको आधार समानुपातिक व्यवस्था गरेको छ । कुनै क्षेत्रमा चलिरहेको रहेको मातृ भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनु राष्ट्रघात हो । हो अहिले मधेसले उठाएका मुद्दा अल्पकालीन होईनन् ।
दीर्घकालीन मुद्दा भएकाले सबै कुरा एकै पटकमा सम्बोधन हुन सक्दैनन् । यसमा मधेस केन्द्रित दलहरूले पनि अडान लिनु हँुदैन । संविधान संशोधनको प्रस्ताव कांग्रेस र माओवादी केन्द्रले ल्याएका हुन् । एमाले र राजपाले प्रस्ताव ल्याएका होइनन् । प्रमुख प्रतिपक्षी दल भएको हैसियतमा एमालेले मनलागे प्रस्तावको पक्षमा र मन नलागे विपक्षमा मतदान गर्न सक्छ । योबाहेक यो प्रस्ताव ल्याउँदा कांग्रेसलाई राष्ट्रघाती र पहाड विरोधी भन्ने अधिकार एमालेलाई छैन । राजपाले पनि संविधान संशोधनको मुद्दा देखाएर मधेसी जनता विरोधी गतिविधि गर्ने काम बन्द गर्नुपर्छ । संविधान संशोधनका विषयमा केन्द्रीय समितिमा छलफलमा उठेको यो विषय पछि कांग्रेस किन दोस्रो भयो भन्ने विषय महत्वपुर्ण रह्यो । स्थानीय निकाय २०५४ को निर्वाचनमा एमालेले जसरी सत्ताको दुरुपयोग गरेको थियो ।
अहिलेको निर्वाचनमा सत्ता दुरुपयोग गर्न नपाए पनि कांग्रेसका केही कमजोरीलाई राम्रै मुद्दा बनाएर बेच्यो । यसमा एमालेलाई मात्रै दोष लगाउन मिल्दैन । दोस्रो हुनुको पछाडि सबैभन्दा ठूलो कारण कांग्रेसको मूल नेतृत्वको गैरजिम्मेवारी पन नै हो । ती उम्मेदवार चयन गर्ने विषयदेखि हाम्रा र राम्रा पक्षसँग धेरै सम्बन्धित भएका छन् । यो विषयमा कांग्रेसको केन्द्रीय समिति नै दोषी छ । कांग्रेस कांग्रेसकै कारण दोस्रो भएको विषयमा राम्रै समीक्षा पनि भएको छ । पार्टीमा अन्तरघातका कुरा पनि आएका छन् । हामीले समयमै अनुशासन समिति बनाएर काम गर्न दिएको भए यस्ता समस्या कम मात्रमा आउने थिए ।
नेतृत्वदेखि, आन्तरिक व्यवस्थापनसम्म गल्ती भएको कुरा केन्द्रीय समितिले स्वीकार गरिसकेको छ । निर्वाचनमा अन्तरघात गर्नेलाई अब अनुशासन समिति बन्छ र त्यसले छानबिन गर्ने आवश्यक कारबाही पनि गर्छ । तल गल्ती गर्नेलाई माथिको संरक्षण प्राप्त भएका कुराहरू पनि आएका छन् । अब यस्तो गल्ती नगर्ने प्रतिबद्धताअनुसार केन्द्रीय समितिले पार्टीका सबै संस्थागत संरचनाहरूलाई व्यवस्थित गर्दै अब हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचन सँगै प्रदेश र संसद्को निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई सबल बनाउने अठोट व्यक्त गरिसकेको छ । त्यसकारण अब कांग्रेसले आफ्ना नीति र योजनाप्रति अरूलाई खेल्ने अवसर दिनु हँुदैन । आफ्ना कुरा प्रस्टसँग राखेर जनतामा जानुपर्छ । कांग्रेस पहिलो पार्टी बन्ने सम्भावनाहरू अझै धेरै बाँकी नै छन् ।
प्रतिक्रिया