देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रपा तत्काल सरकारमा नजाने

देशान्तर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ । पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ ।

बैठकले आगामी भदौभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भएका छ वटा प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए। प्रदेश– १ को झापा, ३ को हेटौँडा, ४ को पोखरा, ५ को नेपालगञ्ज, ६ को सुर्खेत र ७ को कञ्चनपुरमा अधिवेशन गरिने र प्रदेश नं २ मा चुनाव पश्चात् अधिवेशन गर्ने निर्णय गरेको छ ।

पार्टीका जनवर्गीय संगठनको निर्वाचन आगामी मंसिरभित्र सम्पन्न गर्ने, प्रत्येक गाउँपालिका, नगरपालिका र प्रदेशमा हिन्दूराष्ट्र जागरणसभा आगामी भदौ मसान्तसम्म सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ । आगामी भदौभित्र सातै प्रदेशमा वृहत सनातन धर्म सम्मेलन आयोजना गरिने कार्यक्रम समेत छ ।

मुलुकको समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा गरिएको बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन तत्काललाई कायमै राख्ने र उपयुक्त समयमा उचित निर्णय गर्ने जनाइएको छ ।