देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्चमा भरतपुर १९ को बहस सकियो, फैसला कहिले ?

देशान्तर

काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथिको बहस सकिएको छ । मुद्दाको पक्ष र विपक्ष दुवैतर्फका वकिलहरूले बहस गरेर सकेका छन् ।

आज रिट निवेदकको विपक्षमा महान्यायाधिवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गरे भने पक्षमा महादेव यादवले बहस गरेका थिए ।

बहस सकिए पनि प्रतिरक्षा बहस बाँकी भएकाले आज फैसला भने आउने छैन । प्रतिरक्षा बहस आजै सुरु हुने र आइतबार सकिनेृ सम्भावना रहेको सर्वोच्चले जनाएको छ ।

गएको मंगलबार न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलाशमा रहेको मुद्दालाई नभ्याइएको भन्दै हेर्दाहेर्दैमा राखिएको थियो ।

पेसी तोकिए पनि समय अभावको कारण देखाउँदै रिटको बहस पटक पटक स्थगित हुँदै आएको छ । भरतपुरको मतगणना भइरहेका बेला मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णयविरुद्ध गत जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । महानगरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भएको छ । निर्वाचन आयोगले १९ वडामा पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमाले सर्वोच्च अदालत गएको थियो ।

लामो समयदेखि सर्वोच्चमा बहस भइरहेको भरतपुर मुद्दाको फैसला आज हुने अपेक्षा गरिएको छ ।यो मुद्दामा थुप्रै वकिलहरूले बहस गरिसकेका छन् ।

आज नै आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको मुद्दाको पनि सुनुवाइ हुँदैछ ।

शर्माको मुद्दामा पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । कर फछ्र्योट आयोगमार्फत शर्माले अर्बौं रुपैयाँ छुट दिएर भ्रष्टाचार गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि लगाएको छ । शर्माविरुद्ध विशेषमा मुद्दा दायर भएपनि सो मुद्दा अहिले यथास्थितिमै रहेको छ ।

शर्माकी पत्नीले आफ्ना पतिलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चमा हालेकी छन् । सोही रिटमा सुनुवाइ भइरहेको हो ।संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।

शर्माको मुद्दा सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ हुँदैछ ।