काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी एमालेकोे स्थायी कमिटि बैठकले जिल्ला समन्वय समिति (जिसस)का लागि पार्टीले दिने प्रमुख, उपप्रमुखसहितका उम्मेदवारहरु तय गरेको छ ।
बिहिवार बिहान बसेको एमाले स्थायी कमिटिको बैठकले स्थानीय तहको निर्वाचन सम्पन्न भएका सबै जिल्ला समन्वय समितिका लागि पार्टीको तर्फबाट दिने उम्मेदवार तय गरेको हो ।
एमालेले जिल्ला समन्वय समिति गठनमा ढिलाई नगर्न निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको छ । बैठकमा पार्टीका कार्यबहाक अध्यक्ष बामदेव गौतमले सरकार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन समयमै सम्पन्न गर्न प्रतिवद्ध नरहेको आरोप लगाए ।
बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई तोकिएकै समयसीमा भित्र निर्वाचन क्षेत्र निर्धारण गरिसक्न आग्रह पनि गरेको छ । पार्टी स्थायी समिति बैठकले तोकिएकै समयसीमा भित्र निर्वाचन क्षेत्र निर्धारण गरिसक्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई आग्रह गरेको हो ।
बैठकले संविधानले निर्दिष्ट गरेको मापदण्ड भित्र रहेर स्वतन्त्र र निष्पक्ष ढंगले आफ्नो कार्यसम्पादन गर्न पनि आयोगलाई सुुुझाव दिएको छ । सरकारले २१ दिन भित्र काम गरिसक्ने कार्यादेशसहित सर्वोच्च अदालतका पूर्वन्यायाधिश कमलनारायण दासको नेतृत्वमा ५ सदस्यीय निर्वाचन क्षेत्र निर्वाचन आयोग गठन गरेको छ ।
आयोगलाई दिइएको समयसीमा भित्रै निर्वाचन क्षेत्र निर्धारणको काम गरिसक्न आग्रह गरिएको पार्टीका सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोगको गठनमा ढिलाई हुँदा आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न नहुने हो कि भन्ने आशंका व्यक्त गर्दै एमालेले यस्तो आग्रह गरेको ज्ञावालीले बताए ।
प्रतिक्रिया