मुम्वइ । दंगलमा आमिर खानकी छोरीको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ ।सुहानी भटनागरसँगै जायरा वसीम पनि आमिर खानकी छोरीहरूको बाल्यकालको भूमिकामा देखिएकी थिइन् । र, आमिरले दुवैको तारिफ गरेका थिए ।
इन्डियन एक्सप्रेसका अनुसार जब दंगल २०१६ मा रिलिज हुन लागेको थियो, तब आमिर खानले सुहानीको तारिफ गर्दै उनी आफूभन्दा राम्रो अभिनेत्री भएको बताएका थिए । आमिरले भनेका थिए, ‘यदि फिल्ममा हामी सबैको अभिनयको मूल्याङ्कन गर्ने हो भने म यी दुई बच्चालाई मेरो अभिनयभन्दा दश गुणा राम्रो भन्छु। फिल्म रिलिज भएपछि दर्शकले यो पनि देख्नेछन्।’ नभन्दै उनको अभिनयको सबैतिर तारिफ हुन पुग्यो ।
आमिरले पनि आफ्नो फिल्मी करियर २५ वर्षसम्म चलेको तर यी बालबालिका निकै प्रतिभाशाली रहेको बताएका थिए । फिल्मका लागि उत्कृष्ट बाल कलाकार छनोटको महत्त्वबारे कुरा गर्दै आमिर खानले आफू र फिल्मका निर्देशक नितिश तिवारीलाई राम्रो बाल कलाकार नभेटिएमा फिल्म नबनाउने कुरासमेत गरेको अवस्थामा उनीहरू भेटिएका थिए । तर, यो फिल्मले भारतीय समाजलाइ ठूलो प्रभाव छाडेको थियो ।
८ महिनाको मिहिनेत पछि गीता फोगटको भूमिका जायरा वसीमलाई र कान्छी बबिता फोगटको भूमिका सुहानी भटनागरलाई दिइएको थियो ।
आमिरले यो पनि भनेका थिए, ‘मैले यी बालबालिकाबाट धेरै शरारती कुरा सिकेको छु । म सधैं यो विश्वास गर्छु कि म अझै ठूलो भएको छैन र अझै भित्रबाट बच्चा हुँ। मलाई यी बच्चाहरूसँग काम गर्न रमाईलो लाग्यो।’
सुहानी भटनागरको मृत्युको कारण उनको सम्पूर्ण शरीरमा तरल पदार्थ जम्मा भएको बताइएको छ । केही समयअघि दुर्घटनाका कारण उनको खुट्टा भाँचिएको थियो । उपचारका क्रममा लिइएको औषधिको साइड इफेक्ट देखियो र शरीरमा तरल पदार्थ जम्मा हुन थाल्यो । उनी लामो समय देखि दिल्लीको एम्स अस्पतालमा भर्ना थिइन् ।
सुहानीको निधनको खबर आएपछि आमिर खान प्रोडक्सनले पोस्टमार्फत शोक व्यक्त गरेको छ । यो पोस्टमा लेखिएको छ कि ‘सुहानी सधैं हाम्रो हृदयमा एक तारा हुने छिन्।’
यसका साथै दंगलका निर्देशक नितेश तिवारीले पनि शोक व्यक्त गर्दै भनेका छन्, ‘सुहानीको निधन एकदमै स्तब्ध र दुःखदायी छ। उनी धेरै खुसी र भाग्यवान थिइन्। उनको परिवारमा मेरो गहिरो समवेदना छ ।’
प्रतिक्रिया