देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका चुनौती र महासमितिबाट अपेक्षा 


भर्खरमात्रै देशका सबैभन्दा तल्लो तहका निकायमा पुगेर त्यो तहका नागरिकहरूको आवाज संकलन भएको छ । अहिलेसम्म कुनै एउटा दल लोकतन्त्र, समाजवाद र राष्ट्रियतालाई आधार बनाएर देशले तोकेका ६ हजार ७ सय ४३ वडासम्म पुग्ने एउटै मात्रै दल नेपाली कांग्रसमात्रै देखियो । पश्चिमपूर्व वा पूर्वपश्चिम यात्रा त सबैले गरिसक्नु भएको छ वा गर्दै हुनुहुन्छ तर एकै पटक देशको सम्पूर्ण भूभागको तल्लोतहसम्म पुग्ने र त्यो तहबाट विद्यमान अवस्थाको मूल्यांकन वा अवलोकन कसरी भइरहेको छ भनी बुझने काम भने कांग्रेसले मात्रै गरेको देखियो । यद्यपि कांग्रेसका आदरणीय नेता केशवकुमार बुढाथोकीको दुःखद् निधनले तत्काल यो अभियान पूरा हुन पाएन । तर एक हप्तामा जति समुदायमा पुग्न सकिएको थियो त्यसको भने पार्टीले अभिलेखमा राख्नैपर्छ आउँदो महामितिमा प्रस्तुत गरिने दस्तावेज बन्नुपर्छ । 

पछिल्लो समय देशमा जनताको प्रतिक्रियाभन्दा नेतृत्वले आफ्ना कुरामात्रै राख्ने अर्थात् एकोहोरो संवादमात्रै भइरहेको भन्ने आमगुनासो सुनिँदै आइएको अवस्था बनिरहेको थियो । केही पहिले प्रमुख प्रतिपक्षी दलले तीन हप्तासम्म मध्यपहाडी राजमार्गको यात्रा गरेको कार्यक्रमलाई जनताका कुरा सुन्ने भनियो । तर यात्राको पूरै समय र सबैतिर आमसभा र नेताहरूका कुरा मात्रै बढी आएका त्यसबेलाका दृश्यहरूले नै बताएका हुन् । अहिले पनि यस्तो गुनासो आइरहेकै छ । त्यसकारण पनि ‘समुदायमा कांगे्रस’ भन्ने कार्यक्रममा नेता होइन, सम्बन्धित वडावासी जनताले मात्रै बोल्ने गरी कार्यक्रम बनेको हुनुपर्छ । यद्यपि यो चरणमा यो अभियान पूरा हुन पाएन तर एक हप्तासम्म जो जहाँ पुग्नुभयो र जेजस्ता सुझाव र निष्कर्ष प्राप्त गर्नुभयो ती निकै महत्वका हुनुपर्छ । त्यसकारण यसलाई पार्टीको दस्तावेजका रूपमा अभिलेखीकरण गरौं भनिएको हो । यसले देशव्यापी रूपको जनमतलाई पनि प्रतिनिधित्व गर्छ । समुदायमा कांग्रेस कार्यक्रमको प्रारम्भमानै वडावडा र टोलटोलमा पुग्ने क्रम सुरु भइसकेको थियो । पूरै समय यो अभ्यासमा बिताउन नपाइए पनि जे जति मात्रामा भेटघाट र अन्तरसंवाद भए, सुझाव संकलन भए ती सबै महासमितिमा आए भने देशैभरिको एउटा चित्र प्रकट हुन्छ ।

यो कार्यक्रम सञ्चालन भइरहँदा कांग्रेससामु केही नयाँ चुनौतीहरू थपिएका छन् । त्यसमध्येको एउटा हो आगामी निर्वाचनमा आफ्नो पहिलेको हैसियतलाई स्थापित गर्नु । पछिल्लो स्थानीय र आमनिर्वाचनमा कांग्रेस सिटको हिसाबले सबैभन्दा ठूलो दल भएको छ । तर मतका हिसाबले अघिल्लो निर्वाचनभन्दा केन्द्रमा घटेको छ । गणतान्त्रिक संविधानअनुसारको पहिलो आमनिर्वाचन २०७४ मा प्राप्त भएको भन्दा सिट बढेको अवस्थाको पछिल्लो निर्वाचन २०७९ मा करिब ८ लाख लोकप्रिय मत हराएको हिसाब आएका थिए । महासमितिले यो मतलाई फिर्ता गर्ने नीति बनाउन आवश्यक देखिन्छ र बनाउनु पनि पर्छ । 

गएको निर्वाचनमा पनि वामपक्षमा बढी मत खसेको अवस्था छ । पछिल्लो आमचुनावमा तीनवटा वाम दल प्रतिस्पर्धामा थिए । त्यसो हुँदा पनि एउटा वाम दलले लोकप्रिय मतमा सबैभन्दा ठूलो हैसियत पाएको देखियो । त्यसमाथि अरू वामहरू एक ठाउँ जुटे भने कांग्रेसका लागि आगामी चुनावमा यो विषय सबैभन्दा ठूलो चुनौती हुनेछ । अर्को चुनाव आउन चार वर्ष बाँकी छ तर त्यसमा पहिले हराएको वा चोरिएको मत फिर्ता गर्नुका साथै अरू मत थप्न अपनाउनुपर्ने रणनीति तय हुन अब ढिलो गर्न हुँदैन । त्यसै पनि यो महासमिति नेतृत्व निर्माण गर्न नभएर नीति निर्माण गर्ने सन्दर्भको हो । 

हालै राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसले केही अपवादबाहेक अपेक्षा गरेअनुसारकै मत र सिट पाएको अवस्था छ । यो पछिल्लो पटक देखिएको सकारात्मक पक्ष हो । नत्र गएको वैशाखमा सम्पन्न उपनिर्वाचनमा कांग्रेस निकै नै गम्भीर हुनुपर्ने परिणाम आएको थियो । पछिल्लो निर्वाचनमा करिव आठ लाख मत चोरिएको भन्ने माथि उल्लेख भएको छ । त्यस्तै यो उपनिर्वाचनमा त सिट नै चोरियो । एकदुई सिटले यताउता हुने अवस्था थियो भने यो उपनिर्वाचनमा पहिलो हैसियतसमेत ‘यताउता’ हुन सक्तथ्यो । तर दोस्रो हैसियत पाएको दलसँग अन्तर रहेकोले त्यो स्थिति आएन । सिटभन्दा पनि यो पराजयको भावनात्मक र राजनीतिक रूपले अप्रिय नै थियो । यो क्षेत्र नेपाली कांग्रेसका त्यस्ता नेताको हो जो कांग्रेसले कहिल्यै हारेको थिएन । त्यसमाथि यो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा आउनु भएका नेता सम्माननीय राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि यो ठाउँ खाली भएको हो । यी कारणले पनि यो उपनिर्वाचनमा भएको पराजय कांग्रेसका लागि राम्रो सन्देश थिएन । त्यो उपनिर्वाचनमा दुई ठाउँमा खडा भइएकोमा दुवै ठाउँमा पराजय भयो । उम्मेदवारका हिसाबले दुवै

स्थानीय र लोकप्रिय पनि हुनुहुन्थ्यो । तर बाहिरबाट जानुभएका उम्मेदवारले उहाँहरूलाई हराइदिनुभयो । ती दुई उपनिर्वाचनपछि पार्टीको महासमिति बैठक बस्न लागेको हो । यसले यस्ता परिदृश्यको समुचित रूपमा समीक्षा गरेर भावी रणनीति बनाउन आवश्यक छ । समुदायमा कांग्रेस अभियानअन्तर्गत यी दुई जिल्ला र त्यसमाथि यी दुई क्षेत्रबाट केकस्ता गुनासा र सुझाव आए भन्ने त महासमितिमा प्रस्तुत गरिन माग नै भइरहेका पाइएको छ । 

उपनिर्वाचनको यो सन्दर्भ यो महासमितिलगत्तै हुन लागेका अरू उपनिर्वाचनहरूका लागि गर्नुपर्ने तयारीमा उठेको हो । उपनिर्वाचन कुनै सीमित क्षेत्रमा हुन्छन् तर त्यसले दिने सन्देश भने व्यापक अर्थदायी हुन्छ । अबका उपनिर्वाचनमा पनि पराजय नै भयो भने त्यसले अरू थप क्षति गराउँछ । यो ठाउँमा राष्ट्रियसभाको निर्वाचनमा अपेक्षाकृत मत ल्याइएको भन्ने ठाउँ छ । तर चर्चा गरिएको उपनिर्वाचनको प्रकृति भिन्न प्रकारको हो राष्ट्रियसभाको निर्वाचनमा मतदाता निर्वाचितमध्येबाट हुनुहुन्छ । आम मतदाताबाट र निर्वाचितबाट हुने मतदानका परिणाम नै भिन्न हुन्छन् । 

एउटा अर्को प्रसंग, आजभन्दा सात दशकअघि महामानव बीपी कोइरालाले नेपाली कांग्रेसका कार्यकर्ताका खराबीहरू भनी सातवटा बुँदामा प्रस्तुत गर्नुभएको थियो । हामी कांग्रेसका उच्चदेखि इकाइसम्मका कार्यकर्ताले आफूभित्र त्यस्ता खराबी वा अवगुण छन् कि छैनन् आफैं पनि आफ्नो मूल्यांकन गर्नेछन् भने त्यसलाई सच्याउन तयार हुनुपर्छ । यसो भयो भने वास्तवमा नै कांग्रेस रूपान्तरणतर्फ लागेको भन्ने सन्देश जान्छ । यो महासमिति बैठकले यसलाई पनि एउटा प्रस्ताव बनाओस् । बीपीले औंल्याउनु भएका नेपाल पुकारमा मुद्रित ती सात खराबीहरू उहाँकै शव्दमा :

एक: समयका साथ आज हाम्रो पार्टीभित्र अनेक खराबी आएका छन् । तिनीहरूमध्ये केही प्रमुख खराबीहरूबारे म यहाँ तपाईंहरूलाई आफ्नो मनमा लागेको कुरा भन्न चाहन्छु । सर्वप्रथम क्रान्तिको सफलताले हामी सबैमा आवश्यकताभन्दा बढी एक किसिमको आत्मविश्वासको सिर्जना गर्‍यो । अनवरत कार्यद्वारा यसको पुष्ट्याईं भएको भए सम्भव थियो, यसबाट त्यति नोक्सान हुने थिएन । तर अनेक कारणले त्यसो हुन सकेन । फलस्वरूप आजको हाम्रो निरर्थक आत्मविश्वास हाम्रो बाटोको तगारो हुन गएको छ । यसलाई हामीले हटाउनु परेको छ । 

दुई: हाम्रो दोस्रो अवगुण के हो भने हामी प्रत्येक प्रश्नमाथि आफ्नो व्यक्तिगत दृष्टिकोणले विचार गर्दछौं । हामी आफ्ना चाहना र बानीअनुसार राष्ट्रिय वा पार्टीका समस्याहरूको हल खोज्दछौं । तसर्थ, हाम्रा धेरैजसो निर्णय आफ्ना व्यक्तिगत चाहना वा रुचि वा अरुचिका छायाँ मात्र हुन जान्छन् । यसलाई हामीले हटाउनु परेको छ । 

तीनः  हाम्रो तेस्रो खराबी के हो भने हामीमा आफ्नो जिम्मेवारीप्रतिको उत्तरदायित्वबोध कम छ । यद्यपि, जिम्मेवारी उठाउने बारेको हाम्रो चाख भने कम छैन । 

चार: यी कारणहरूले गर्दा हामी जनतामा बढ्ता भिज्दैनौं । र, जनता र हाम्राबीचको सीमा दिनप्रतिदिन बढ्दै गएको छ । यो हाम्रो चौथो दुर्गुण हो । 

पाँच: हाम्रा साथीहरूको पाँचौं खराबी के छ भने हामी आफूलाई अर्कै तहको र पार्टीका साधारण र सोझा कार्यकर्ताहरूलाई अर्कै तहको भन्ठान्छौं । जनता र पार्टीकै कार्यकर्ताहरूबीचको यस किसिमको अन्तर पनि आज देखिन थालेको छ । 

छ: हाम्रो छैटौं खराबी भनेको साथीहरूमा अध्ययनको ठूलो कमी हुनु हो । हामीले इतिहासका बितेका घटनाहरूका प्रकाशमा वर्तमान राजनीतिको बाटो पनि पहिल्याउनु पर्दछ । हामी त्यसो गर्दैनौं । उदाहरणका लागि पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथीहरूलाई मैले देखेको छु । यसलाई पनि हामीले हटाउनु परेको छ । 

सात: अब म तपाईंहरूलाई मैले देखेको पार्टीको सातौं र अन्तिम खराबी लेख्छु । साथीहरूमा उत्कर्ष र संकट, दुवै कालमा नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित छ । 

राजनीति र नैतिकता दुई भिन्न तत्व हुन् र सफल राजनीतिका लागि नैतिकताको आश्रय लिनु आवश्यक छैन भन्ने एकथरी विचार तपाईंहरूले पनि अवश्य नै सुन्नुभएको होला । यस विचारबाट अलि बढ्ता प्रभावित भएका कसै–कसैको भनाइ त के पनि छ भने सफल राजनीतिका लागि नैतिकता बाधक मात्र हुन्छ । एउटा अर्काथरीको भनाइ के छ भने नैतिकताबिनाको राजनीति सर्वथा पापाचार मात्र हो । 

एउटा विचारमा नैतिकताको अभावलाई नै राजनीतिक सफलताको पुँजी भनिएको छ । त्यहाँ यसमाथि आवश्यकताभन्दा ज्यादै बढी ध्यान दिइएको छ । राजनीति भनेको मोक्षको मार्ग होइन । पार्टी मुक्षुहरूको दलजस्तो निस्पृह र निर्विकल्प हुन सकेन भनेर कसैले गुनासो गर्दछ भने त्यो उसको मूर्खता हो । 

मेरो भनाइको तात्पर्य के हो भने माथिका नैतिकताका बारेका दुवै दृष्टिकोण अतिवादका उदाहरण मात्र छन् । राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ । म चाहन्छु, देशको राजनीतिमा अग्रणी, हाम्रो पार्टीले नै यसबारे पनि एउटा नयाँ बाटो र सर्वथा अभिनव प्रयोग प्रारम्भ गर्नुपर्छ । र, कसले भन्न सक्छ, यसको प्रभाव कालान्तरमा हाम्रो देशको सीमा नाघेर बाहिर फैलने छैन ? साधारण जीवनमा नैतिकताको स्थान भए जस्तै राजनीति पनि जीवनकै एउटा भाग भएको हुनाले नैतिकता बिनाको राजनीति निरर्थक र अलिनो हुन्छ । र, त्यस हुनाले अग्राह्य हुन्छ । हामीले साथीहरूबीच नै असत्यको प्रचार गर्‍यौं, गैर–इमानदार भएर काम गर्‍यौं र आपसमा अविश्वास गर्‍यौं भने हामी राजनीतिक कार्यकर्ताहरूको संघर्षमय शुष्क जीवनको सबल नै के रहन्छ र ?