काठमाडौं । ताजकिस्तान एएफसी एशिया कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा ताजकिस्तानले युएईलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्यो ।
जितसँगै ताजकिस्तानले अन्तिम ८ मा स्थान पक्का गरेको छ । निर्धारित समय एक एक गोलेको बराबरीमा सकिएपछि थप गरिएको अतिरिक्त समयबाट पनि नतिजा निस्किएन । अन्ततः पेनाल्टी सुटआउटमा ताजकिस्तान ५–३ ले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।
निर्धारित समयको ३० औं मिनेटमा ताजकिस्तानले वाहदत हनोनोवले जोइब जुराबोवको पासमा गोल गरेपछि अग्रता लिएको थियो । १ गोलले जित नजिक रहेको अवस्थामा युएईले दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा खलिफा अल हमादीले अलि सलेहको पासमा गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए ।
त्यसपछि थप गरिएको ३० मिनेटमा दुबै टोलीबाट गोल ननिस्कएपछि पेनाल्टी सुटआउटको सहारा लिनु परेको थियो ।
जसमा ताजकिस्तानका पाँचै जनाले गोल गर्दा युएईका ३ जना मात्र सफल भएका थिए । ताजकिस्तानका अख्तम नजरोव, वाहदत हनोनोव, एहसन पंजशावे, रुस्तम सोइरोव र अलीशेर शुकरोव सवैले गरेको प्रहार गोलमा परिणत भएको थियो ।
उता, युएईका अब्दुल्ला इदरीस, फाबियो लिमा र अली सालेहले गोल गर्दा काइओ क्यानेडोको प्रहार विफल भएपछि युएई प्रतियोगिताबाटै बाहिर हुन पुग्यो ।
यसअघि आइतबारको खेलमा विजयी हुँदै अस्ट्रेलियाले पनि अन्तिम ८ मा स्थान पक्का गरिसकेको छ ।
प्रतिक्रिया