काठमाडौं । नेपाल वायुसेवा निगमको काठमाण्डौ सिनामंगल स्थित जग्गामा बहुवर्षीय योजना अन्तर्गत निर्माण गरिने निगमको केन्द्रिय कार्यालय भवनको भूमिपूजन गरिएको छ । निगमको केन्द्रिय कार्यालय, इन फ्लाइट किचन, भवन, निगमलाई आवश्यक पर्ने पार्किङ स्थल तथा अन्य आवश्यक संरचना निर्माण स्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरांतीले सनिवार भूमिपूजन गरेका हुन् ।
कार्यक्रममा निगमका सञ्चालक समिति बरिष्ठ सदस्य किशोर प्रधान, बरिष्ठ क्याप्टेन सुधिर शमसेर राई, अमृतमान श्रेष्ठ निगम व्यवस्थापनका उच्चपदस्थ पदाधिकारीहरु, निगममा क्रियशिल चार वटै ट्रेड यूनियनका प्रतिनिधिहरु, निगमका कर्मचारीहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।
प्रवक्ता रमेश पौडेलका अनुसार उक्त कार्यक्रममा बोल्दै मन्त्री किरातीले यस कार्यबाट निगमले आफ्नो उन्नती तथा प्रगतिको थप उचाईमा पुग्ने विश्वास गर्दै निगमको हितको लागि गरिने रचनात्मक कार्यमा आफ्नो सधै साथ सहयोग रहने बताए ।
त्यसैगरी निगमका सञ्चालक समितिका बरिष्ठ सदस्य प्रधानले निगमको व्यवसायिक हित र सम्पत्तिहरुको उचित उपयोग तथा व्यवस्थापनमा सञ्चालक समितिबाट सधै साथ सहयोग रहने कुरा व्यक्त गरे ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमका अग्रजहरु प्रति हार्दिक आभार प्रकट गर्दै निगमको प्रयोग विहिन अवस्थामा रहेको करीव पैतिस रोपनी क्षेत्रफलमा रहेको यस जग्गामा तालुक मन्त्रालय तथा सरोकारवाला निकायहरुसंग समन्वय गरी सुविधा सम्पन्न, अत्याधुनिक र नेपालको मौलिकता झल्कने गरी ऐतिहासिक केन्द्रिय कार्यालय भवन तथा संरचना निमार्ण गरिने बताए । त्यसै गरी निगमका अन्य तेईस स्थानमा रहेका घरजग्गा तथा संरचनाहरुको विस्तृत अध्ययन गरी संरक्षण गर्ने र निगमको आम्दानी वृद्धि हुने गरी उचित ब्यवस्थापन गरिने अधिकारीले बताए । उनले हाल केन्द्रिय कार्यालय रहेको न्यूरोडको भवन तथा जग्गामा व्यवसायिक भवन बनाउने निगमका पूर्वज र हाल कार्यरत सम्पूर्ण कर्मचारीहरुको सपना रहेकोले यथाशिघ्र यो सपना पूरा गर्ने प्रतिबद्धता पनि जनाए ।
प्रतिक्रिया