देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटौला र ढुंगाना खतरामा !

देशान्तर


काठमाडौं । प्रतिनिधिसभा सदस्यमा पराजित भए पनि पार्टीले बनाएको मापदण्ड बाहिरबाट संस्थापन पक्षको जोडबलमा कोशी प्रदेशअन्तर्गत अन्य समूहबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला जिल्ला दौडाहामा छन् । जिल्ला दौडाहामा गठबन्धन र पार्टीभित्र आन्तरिक एकता रहेको सन्देश दिन गठबन्धनमा रहेका दलका केही नेता र नेपाली कांग्रेसको संस्थापन र इतर पक्षका नेताहरू पनि सिटौलाका लागि भोट माग्न कोशी पुगेका थिए र गठबन्धनको मत गठबन्धन बाहिर नजाने भएकाले उम्मेदवारहरूको जित सुनिश्चित भएको बताएका थिए । कोशी प्रदेशको मतभार हेर्दा सत्ता गठबन्धनको कुल मतभार ५,४८३ छ । यो मतभार एमालेको भन्दा १,२६४ ले धेरै हो ।


तर, राष्ट्रियसभा सदस्यमा निर्वाचित भएर अध्यक्ष बन्ने आकांक्षासहित गठबन्धनको तर्फबाट उम्मेदवार बनेका सिटौला मतभार जोड्दा सुरक्षित देखिए पनि डेन्जर जोन बाहिर भने नरहेको कतिपयको टिप्पणी छ । यसबारेमा गरिएका केही तर्कहरूले सिटौला डेन्जर जोन बाहिर नरहेको कुरामा बल पुग्छ ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसहित वरिष्ठ नेता शेखर कोइराला पक्षका ८ जना प्रदेशसभा सदस्यले कोशी विद्रोह गर्दा सिटौला समूहले कारबाही गर्नुपर्ने मत राखेको थियो । त्यसको असर राष्ट्रियसभा सदस्य निर्वाचनमा पर्न सक्ने अनुमानलाई नकार्न नसकिने कतिपयको भनाइ छ ।


यद्यपि सिटौलाको उम्मेदवारी दर्ताका बेला वरिष्ठ नेता डा. शेखर कोइराला र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कोशी प्रदेश कार्यालयमा बसेको गठबन्धन दलको बैठकमा सिटौला सबैको सहमतिमा उम्मेदवार बनेको बताएका थिए भने उम्मेदवारी दर्ता गर्दा मुख्यमन्त्री केदार कार्की सिटौलासँगै निर्वाचनमा विजयी गराउन अपिल गर्दै आन्तरिक एकताको सन्देश दिने कोसिस गरेका थिए ।
यता कोशीको राजनीतिमा प्रभाव राख्ने पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनबाट बाहिरिनुपर्ने मत राख्दै आएका छन् । उनी गठबन्धनप्रति असन्तुष्ट छन् । यसको असर कोशीमा रहेका नेकपा एसका प्रदेश सांसदहरूमा पर्न सक्ने अनुमान छ भने जसपा पनि वर्तमान सत्ता गठबन्धनप्रति असन्तुष्ट रहेकाले सत्ता गठबन्धनको सबै मत गठबन्धनका उम्मेदवारले पाउने अवस्था नआउन सक्ने खतरा रहेकोले पनि सिटौला डेन्जर जोन बाहिर नरहेको विश्लेषण गरिएको हो ।


अर्कोतर्फ आन्तरिक गुटको राजनीतिमा कमजोर बन्दै गएका सिटौला राष्ट्रियसभामा पुगेर शक्ति बढाउनतर्फ लाग्ने भय रहेकोले पनि राष्ट्रियसभा निर्वाचनमा सिटौलाको जित ढुक्कका साथ भन्न सकिने अवस्था नरहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभामा गठबन्धनको एक सिट घटाउन एमालेले कोशीमा ट्राई गरौं भन्यो भने आफूहरू तयार रहेको बताइसकेको छ । राप्रपाले कोशी प्रदेशबाट उद्धव पौडेललाई उम्मेदवार बनाएको छ भने एमालेका पर्शुराम अधिकारी चुनावी मैदानमा छन् । एमालेले राष्ट्रिय सभाको रिक्त १९ वटै सिटमा उम्मेदवारी दिएको छ । तर, कोसी र मधेस प्रदेशलाई एमालेले मुख्य प्राथमिकतामा राखेको छ ।


कोशीमा जस्तै मधेस प्रदेशमा पनि सत्ता गठबन्धनका तर्फबाट अन्यमा उम्मेदवार बनेका कांग्रेसका आनन्दप्रसाद ढुंगाना पनि डेन्जर जोन बाहिर छैनन् । मधेस प्रदेशमा जसपा, कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, लोसपाबीच गठबन्धन छ । तर गठबन्धनमा रहेको जनमत पार्टीले आफ्नो छुट्टै उम्मेदवार खडा गरेको छ ।


जनमत पार्टीले मधेस प्रदेशमा अन्य तर्फबाट राष्ट्रियसभा सदस्यका लागि रामशंकर महासेठको मनोनयन दर्ता गराएको छ । सत्ता गठबन्धनसँग ७,९९९ मत भए पनि जनमतको छुट्टै उम्मेदवार खडा हुनु र ढुंगानालाई उम्मेदवार बनाइएको प्रति मधेस प्रदेशका कांग्रेसीहरू पनि असन्तुष्ट रहनुले उनी डेन्जर जोनमा रहेको टिप्पणी गरिएको छ । समावेशिता नभएको मधेसीको प्रतिनिधित्व नगराइएको भन्दै प्रदेशसभा सदस्य पनि असन्तुष्ट हुँदा ढुंगाना सेफ जोनमा नरहेको जनाइएको छ । उता मधेस प्रदेशमा जसपा नेतृत्वको सरकारलाई समर्थन दिइरहेको एमालेले राष्ट्रियसभा निर्वाचनअघि जसपालाई सत्ता गठबन्धनबाट आफूसँगको गठबन्धनमा ल्याउनेगरी बार्गेनिङ गरिरहेको छ । मधेस प्रदेशमा एमालेको २,३०२ मतभार छ ।