देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फुट्दै लोसपा

देशान्तर


काठमाडौं । दोस्रो जनआन्दोलनपछि मधेस विद्रोह सुरु भयो र यसको राप र तापमा खुलेका मधेसवादी दलहरूमा अधिकांश नेताहरू नेपाली कांग्रेस र एमालेमा हालिमुहाली गरेकाहरू नै गएका थिए, पहिलेदेखि नै आफूलाई मधेसवादी भनेर चिनाएको सद्भावना पार्टी त्यही थियो । उनीहरूका बीचमा पटकपटक एकता र फुट आउँदा अहिले मधेसवादी दलहरू पनि आफूलाई असली देखाउने नाउँमा ‘बरमझियाका बाजेको पेडा पसल’ जस्तै भएका छन् । पहिलो संविधानसभा र दोस्रो संविधानसभा चुनावमा आफूलाई जबर्जस्त उपस्थिति गराएका मधेसवादी दलहरूले त्यसपछिका चुनावमा भने आशा गरे अनुरूप सफलता हात पार्न नसक्दा उनीहरू भित्रै असन्तुष्टि बढ्दै गएका छन् । यसबीचमा थुप्रै पटक फुटिसकेका मधेसवादी दलहरू विभिन्न स्वार्थ र सत्ता प्राप्तिका लागि एक भएको देखाए पनि मौका पाउँदासम्म ठिक्क र नमिल्दा एकअर्काको उछितो काड्ने नियति नै भइसकेको छ ।


अहिले यस्तै अवस्था लोकतान्त्रिक समाजवादी पार्टी लोसपमा आएको छ । लोसपाको नेतृत्वमा रहेका महन्त ठाकुर राजेन्द्र महतोको व्यक्तिगत टसलका कारण अहिले पार्टी नै फुट्ने संघारमा पुगेको नेताहरू बताउँछन् । लोसपामा रहेका पूर्वकांग्रेस र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको संघारमा पुगेको एक नेताले देशान्तरलाई बताए । चुनाव जितेर संसद्मा रहेका लोसपा अध्यक्ष ठाकुर र चुनाव हारेर बाहिर बसेका वरिष्ठ नेता महतोबीच अहिले सम्बन्ध राम्रो छैन । जसका कारण महतोले नयाँ पार्टी नै गठन गर्ने गरी अघि बढेको बुझिएको छ । उनले नयाँ पार्टी गठन गर्नुका साथै संसद्मा रहेको सीके राउतको जनमत पार्टी र प्रभु साहको आमजनता पार्टीसँग एकीकरण गरेर मधेसमा आफ्नो उपस्थिति बलियो बनाउने तयारी गरेका हुन् । प्रभु साह आन्दोलनमै छन् भने केन्द्र र प्रदेशमा भाग पाएको सिकेको पार्टी जनमत पनि सरकारविरुद्ध आफंै आन्दोलनमा उत्रिएको छ । यही मौका छोपेर लोसपा विभाजन गर्दै मधेसमा आफ्नो वर्चस्व बढाउनका लागि राजेन्द्र महतो लागेको प्रस्टसँग बुझ्न सकिने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

लोसपा उपेन्द्र यादवको पार्टी जनता समाजवादीबाट विभाजन भएर २०७८ सालको भदौमा गठन भएको थियो । लामो समयसम्म महन्त ठाकुर र राजेन्द्र महतो शीर्ष नेताको हैसियतमा रहे पनि केन्द्रीय कार्यसमिति विस्तार नै हुन सकेको थिएन । दुई वर्षपछि असोजमा गरिएको विस्तारमा ठाकुरले परिवारवाद लागू गरेको आरोप महतोले लगाएका छन् । पछिल्लो समय केन्द्रीय कार्यालय नै जान छाडेका महतो हालै नयाँ दिल्ली पुगेर फर्किएका छन् । नयाँ दिल्लीमा उनले भारतीय जनता पार्टी (बीजेपी)का नेता समेत रहेका गृहमन्त्री अमित साह, रक्षामन्त्री राजनाथ सिंहलगायतका नेताहरूसँग भेटघाट गरेको र उनीहरूकै इशारामा नयाँ पार्टी खोल्ने रणनीति लिएको रूपमा नेपाली राजनीतिक वृत्तमा चर्चा छ । जनमत पार्टी पछिल्लो आम निर्वाचनपछि मधेसबाट उदाएको हो । उसले पनि आफ्नो हैसियत बढाउनका लागि पार्टी एकीकरण गरेर शक्ति आर्जन गर्ने नीति लिएको बुझिएको छ ।