काठमाडौं । एमालेको रणनीतिमा संघीय संसद् सचिवालयका तत्कालीन महासचिव भरतराज गौतमलाई नौ महिनाअगावै राजीनामा दिन लगाएर जस्केलाबाट महासचिव सिफारिस गरिएका हालका कार्यवाहक महासचिव बनाइएका पद्मप्रसाद पाण्डेयको नियुक्ति सिफारिसमा बदनियतको आशंका गरेर शीतल निवासले होल्ड गरिरहेका बेला पाण्डेयले फरक–फरक नागरिकता लिएको र दुरुपयोग भएको भन्दै संसदीय समितिमा छानबिन तथा कारबाहीको मागसहित उजुरी परेको छ ।
यसबाट शीतल निवाससँग असन्तुष्टि पोख्दै अदालत जाने धम्की दिँदै आएका वर्तमान सभामुख देवराज घिमिरे र केही समयपछि निवर्तमान हुन लागेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको बोली बन्द हुन पुगेको छ । उनीहरू पाण्डेयको सिफारिस बोकेर दुई महिनाअघि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।
सचिव पाण्डेयको विषयमा छानबिनका लागि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको हो । जन्ममिति फरक पारेर नागरिकता लिएको र पासपोर्ट पनि फरक–फरक जन्ममिति भएको लिएको उजुरीमा दाबी गरिएको छ । पाण्डेय स्वयम्ले नागरिकतामा जन्ममिति फरक पर्न गएको र पासपोर्ट लिएको स्वीकार गरेका छन् । तर दुरुपयोग नगरेको उनको भनाइ छ ।
अब यसबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । राष्ट्रियसभाको निर्वाचनकोे मिति घोषणा गरिसकेपछि उनको नियुक्ति सिफारिस गरिएको थियो । जुन आफैंमा निर्वाचन आचारसंहिता विपरीत पनि थियो । निर्वाचन आयोग र प्रमुख आयुक्त दिनेश थपलिया संसद्को महासचिवको नियुक्ति जस्तो विषयमा चुप लागेर बस्नुलाई धेरैले शंकास्पद भनेका थिए । संसद्को प्रशासनिक नेतृत्वमा एमालेले पकड कायमै राख्ने रणनीति अनुरूप गरिएको महासचिव नियुक्ति प्रक्रिया अब कानुनसम्मत ढंगले संसदीय समितिले टुंगो लगाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया