नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले गठबन्धनभित्र आफूलाई मात्रै अनुकूलता र सहजता खोज्दा परिणाम निस्कन नसकेको बताएका छन् । उनले अहिले नै गठबन्धन तोडिने सम्भावना कम देखे पनि सरकारले काम गर्न नसक्नुमा गठबन्धनै बाधक बनेको पनि आरोप लगाए । यसैगरी यो सरकारले काम गर्ने चाहना राखे पनि सानो पार्टीको नेतृत्वमा सरकार बन्दा परिणाम नआएको पनि उनको टिप्पणी थियो । आचार्यस“ग देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।
सरकारले एक वर्ष पूरा गरिसकेको छ, यो एक वर्षमा सरकारको काम कस्तो रह्यो ?
यो सरकारले केही काम गर्ने चाहना राखेको देखिन्छ । मुलुकमा सिस्टम बसालेर नतिजा दिन र सुशासन कायम गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी देखिन्छ । तर कताकता मेसो नपाएजस्तो, कुनै कुराको सुरुआत गरे पनि टुंगोमा पु¥याउन नसक्ने, चाहना देखिने परिणाम नआउने अवस्थाको रूपमा यो एक वर्ष रह्यो ।
परिणाम देखिन नसक्नुको कारण पनि त होला ?
पहिलो समस्या भनेकै गठबन्धन हो । स्वाभाविक रूपले एउटै दलले सरकार चलाउँदा त कतिपय जटिलताहरू हामीले देखेका र भोगेका छौं भने यो विभिन्न पार्टीहरू मिलेर सरकार बनेको अवस्था, स्वाभाविक रूपले कुनै पनि एउटा विषय उठ्दाखेरि अर्को दललाई अलिकता ठक्कर लाग्ने भयो यो दललाई समेत प्रभाव पार्ने भयो भन्ने देखियो भने ती काम (काण्ड)हरू त्यतिकै सेलाउने कुरा रह्यो । अनि सबैको अनुकूलताका लागि जाने भन्ने कुरा सानो पार्टीको नेतृत्वमा सरकार बन्दा प्रधानमन्त्री नै सबैतिर मिलाउनकै लागि अल्मलिँदा नतिजा देखिएन जस्तो लाग्छ ।
गठबन्धनका सहयात्री दलका नेताहरूले सरकारको विपक्षमा कुराहरू बोल्न थालिसक्नु भयो, तर शीर्ष नेताहरू पाँच वर्ष नै टिक्छ भन्छन्, खास के हो कुरा ?
अहिले सत्तारूढ गठबन्धनमा देखिएको असन्तुष्टिले यो यात्रालाई नै प्रभाव पारिहाल्छ जस्तो त मलाई लाग्दैन । यो गठबन्धनभित्र पनि आफ्नो अनुकूलता खोज्ने र सहजता खोज्ने अथवा त्यहाँभित्रको ‘स्पेस’ पनि अलि बढाएर प्राप्त गर्ने कुरामा दबाब पु¥याउनको लागि मात्रै असन्तुष्टि हो यो भन्ने मलाई लाग्छ । दलहरूका बीचमा अहिलो भएका असन्तुष्टिभन्दा पनि जनताका असन्तुष्टि सम्बोधन गर्नका लागि अलि बढी गम्भीर हुनुपर्छ ।
नयाँ गठबन्धन बनाउने अभ्यास सुरु भएको चर्चा पनि चल्छ, एमाले पनि यसमा तयार छ भन्छन्, यसमा सत्यता छ ?
नेपालमा अब धेरै वटा पार्टीहरू आवश्यक छैन । नेपालमा बढीमा ३ वटा दलहरू मात्रै आवश्यक हो । दुई वटामात्रै दलहरू भए भने नेपालजस्तो सानो मुलुकले प्रतिस्पर्धात्मक राजनीतिलाई थेग्न सक्छ । नेपालमा राजनीतिक दलहरूमा पृथक्पृथक् वैचारिक मत राख्नेहरू पनि छैनन्, यहाँका राजनीतिक दलहरूका वैचारिक मत उस्तैउस्तै पनि छ । अब एउटा समय त आउँछ नै, नयाँ ढंगको ध्रुवीकरण त हुन्छ । तर त्यो सबै कुराको खोजी वा सबै कुराको समाधान यही संवैधानिक प्रबन्धभित्र अथवा यही संवैधानिक प्रबन्धलाई आवश्यक केही संशोधन गरेर यहीभित्र खोज्नु उपयुक्त हुन्छ । अहिले कांग्रेस, एमाले र माओवादी तीन वटा भिन्न पार्टी हुन् र भिन्न पार्टी रहनका लागि वैचारिक र पृथक् आधारहरू राख्छन् भन्ने कुरा नै जनताले पत्याउन छोडिसके । कांग्रेस र एमाले मिलेर सरकार बनाउनु अथवा कांग्रेस र माओवादी या माओवादी र एमाले मिलेर सरकार बनाउनु भन्ने कुरा खासै नौलो कुरा भएन । नौलो कुरा भनेको नतिजा दिनु प¥यो । कमसेकम नेपाली जनताको आर्थिक सामाजिक जनस्तर उकास्ने कुरामा, शैक्षिक, स्वास्थ्य हरेक कुरामा ठोस सुधारको परिस्थिति बन्ने कुरामा उहाँहरू लाग्नुपर्छ । तपाईं हामीले भन्या जस्तो, कांग्रेस एमाले मिल्ने अथवा अर्कोसँग अर्को मिल्ने कुरा असम्भव त छैन । तर किन मिल्ने र मिलेर के नतिजा आउँछ भन्ने कुरा हो ।
राष्ट्रियसभाको चुनावपछि के मन्त्रीहरू फेरिँदैछन् ?
मन्त्रिपरिषद् बन्ने, सदस्यहरू आवश्यकताअनुसार फेरबदल हुने कुरा यो जुन पद्धति र प्रणाली अपनाएका छौं, यसमा कुनै नौलो होइन । यो हुन सक्छ । एक पटक मन्त्री भएका साथीहरू नै सधैंभरि मन्त्री भइराख्नुपर्छ भन्ने पनि छैन । आवश्यकताअनुसार पात्र परिवर्तन गर्न सकिन्छ । तर, राष्ट्रियसभाको चुनावलगत्तै यो भइहाल्छ भन्ने त मलाई लाग्दैन । कम्तीमा नेपाली कांग्रेसको महासमितिको बैठक (फागुन ७) पछि मात्रै यो हुन सक्छ ।
राष्ट्रियसभा चुनावमा संविधानको मर्म र भावनाअनुसार नै के तपाईंहरूले उम्मेदवार छनोट गर्नुभयो ?
राष्ट्रियसभा चुनावको मतदान गर्ने मिति नजिक आइसक्यो । हामी अहिले प्रचारप्रसारमा छौं, त्यसैले धेरै टीकाटिप्पणी गर्न योग्य त नहोला । तर, नेपाली कांग्रेस आफैंले केन्द्रीय कार्यसमितिको बैठकमा एक हप्ताअगाडि जे मापदण्ड बनाएको थियो, त्यही समग्र मापदण्डमा अडेर उम्मेदवार चयन गर्ने कुरामा चुकेको हो ।
नेपाली कांग्रेसभित्रको गुटमा बैठकअघि त खुबै चर्का कुराहरू गर्नुहुन्छ, अनि बैठकमा संस्थापन पक्षले जे प्रस्ताव ल्याउँछ, त्यसमा मौन समर्थन जनाउनु हुन्छ, तपाईंहरूमा पनि त समस्या छ नि ?
तपाईंले प्रश्न गरेको जस्तै पूरै अवस्था होइन । यसमा केही क्रमिक सुधार गर्न सफल भएका छौं । सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनावमा उम्मेदवारका लागि जुन नामहरू ल्याउनु भएको थियो, त्योभन्दा कतिपय नाउँहरू भिन्न ढंगबाट पनि भएको छ । यसलाई परिवर्तन र सुधार पनि भनेर बुझ्नु पर्छ । छलफलले कतिसम्म रूप लियो त भन्दा दिउँसोबाट सुरु भएको छलफल रातभरि पार्टी अफिसमा बसेर छलफल गर्नु पर्ने अवस्था आयो । विगतको भन्दा पृथक् अभ्यास यसपटक भएको हो । अब व्यक्ति छनोटभन्दा पनि मापदण्ड छनोटको आधारमा जाने कुरा आएको छ ।
नेपाली कांग्रेसमा सुधार हुँदैछ भनेर कसरी बुझ्ने ?
नेपाली कांग्रेसमा रूपान्तरण गर्नु बाहेकको अर्को विकल्पै छैन । यथास्थितिमा नेपाली कांग्रेस अब अगाडि जानै सक्दैन । अब यसलाई समय सान्दर्भिक बनाएर जानको लागि यथास्थितिबाट बाहिर निकाल्नु पर्छ । आवश्यक फेरबदल गर्नुपर्छ । एक किसिमले भन्नुहुन्छ भने समग्र रूपान्तरण अहिलेको आवश्यकता भइसक्यो ।
नेपाली कांग्रेसले क्यालेन्डर बनाए पनि पालना गर्न त अप्ठेरो परेको छ है ?
पहिला नेपाली कांग्रेसको यो प्रकारको क्यालेन्डर नै निर्माण हुँदैनथ्यो । अब क्यालेन्डर निर्माण गरेर नगइकन हुँदैन भन्ने बाध्यता कांग्रेसले ‘फिल’ गर्नु नै सकारात्मक कुरा भयो । अब फिलमात्रै गरेको छैन, कमसेकम हराउला है भन्ने कुराको खबरदारी गराउँछन् भनेर सचेत हुन बाध्य त भएको छ नि । केही समयअगाडि राष्ट्रियसभाको कुरा आयो, अब त राष्ट्रियसभाको चुनाव पछाडि भए पनि त गर्नु प¥यो भन्ने आयो । अब माघ १३ गतेबाट २३ गतेसम्म समुदायमा नेपाली कांग्रेस भन्ने कार्यक्रम लिएर साथीहरू जिल्ला जिल्लामा जाने प्रक्रिया सुरु हुँदैछ ।
समुदायमा कांग्रेस भन्ने अभियानको उद्देश्य के त ?
वास्तवमा नेताहरू कार्यकर्ता कहाँ पुग्छौं, तर समुदायमा पुगेका हुँदैनौं । समुदाय भनेको शैक्षिक, जग्गाजमिन भूमिसँग पीडाहरू भागेर बसेको समुदाय, यसैगरी वनसँग सम्बन्धित समुदायलगायत विभिन्न कामका विभिन्न समुदायहरू हुन्छन्, उनीहरूका समस्याहरू के हुन् ती कुराहरूलाई पार्टीले कसरी सम्बोधन गर्ने भन्ने कुरामा केन्द्रित हुनका लागि कांग्रेसले यो अभियान सुरु गर्न लागेको हो । त्यहाँ पुग्दा ती समुदायले नेपालको राजनीति, सरकारको काम अनि नेपाली कांग्रेसको विषयमा के सोची रहेका छन्, के भइदिए हुन्थ्यो, के गरिदिए हुन्थ्यो भन्ने कुराको धारणा उहाँहरूले के बनाइराख्नु भएको छ त्यो कुरा हामी बुझ्छौं । यो छलफलबाट आएका कुराहरूले कांग्रेसको भावी नीति निर्माणका सबालमा गतिलो सन्दर्भ सामग्री पनि बन्छ ।
यसलाई महासमिति बैठकको पूर्वतयारी भनौं ?
एक अंशले हामीले महासमितिको बैठकअघि यो अभियान सुरु गरेर त्यहाँबाट आएका सुझावहरूलाई आधार मानेर महासमितिमा छलफल र निर्णय गर्न सक्छौं ।
महासमितिको बैठकको तयारी कस्तो हुँदै छ ?
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन वटा प्रतिवेदन महासमितिको बैठकमा प्रस्तुत गर्नको लागि भनेर तीन जना नेताहरूलाई जिम्मेवारी प्रदान गरिसकेको अवस्था छ । पार्टीको नीति के हुने भन्ने कुराको प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले ल्याउनु हुनेछ । सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाबाट र समसामयिक प्रतिवेदन महामन्त्री विश्वप्रकाश शर्माबाट प्राप्त हुँदैछ । उहाँहरूले पनि विभिन्न तह र तप्कासँग छलफल गर्ने राय सुझाव माग्ने कामहरू गरिराख्नुु भएको छ । उहाँहरूलाई समुदायमा कांग्रेस अभियानले पनि थप मद्दत पुग्नेछ । अहिले यो महासमितिको बैठक नीति अधिवेशन पनि भएको हुनाले पार्टीको नीति निर्माणका लागि अलि बढी सार्थक बनाउनका लागि गृहकार्य भइरहेको छ ।
हिजो जनआन्दोलनका क्रमहरूमा संघर्षका बेलाहरूमा नेपाली जनताले यिनै प्रमुख राजनीतिक दलहरूको अनुरोध र आग्रहलाई साथ दिएर परिवर्तन सार्थक पनि बनाए । त्यसको माध्यमबाट कमसेकम संवैधानिक खाका बन्नुप¥यो भन्ने कुरा आयो र संविधानसभाबाट संविधान पनि बन्यो । जुन अपेक्षा नेपाली जनताहरूले गरेका थिए, समृद्धिको सपना देखेका थिए, थोरै समयमा पनि अरू मुलुकले गरेको प्रगति पनि नेपाली जनताले देखेका छन् । अब धेरै ठूलो संख्यामा साक्षर नेपालीहरू भएकाले यही बसेर देश विदेशको अनुभव गर्ने भइसके । त्यसैले विगतमा जनताबाट खोजिएको साथ सहयोग पाइएकाले अब जनतालाई साथ सहयोग गर्ने बेला पार्टीहरूको आएको छ । त्यसैले अब दलहरू यतातर्फ गम्भीर हुनै पर्छ ।
प्रतिक्रिया