चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को घोषणा भएसँगै पर्यटकीय पूर्वाधारहरू निर्माण हुने क्रम बढेको छ । भ्रमण वर्षमा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई खाना, बस्न, पर्यटकीय स्थल घुमाउन र संस्कृति प्रस्तुति देखाउन भरतपुरवासी तयारी अवस्थामा बसेका छन् ।
भ्रमण वर्षमा यहाँको रैथाने खाना पस्कन भरतपुरवासीले आवश्यक वस्तुहरूको उचित भण्डारण गरी राखेका छन् । भरतपुर–२४ का स्थानीय नवीन श्रेष्ठले पर्यटकलाई कोदोको र फापरको रोटी, गहतको दाल र पिँडालुको तरकारी पस्कन खाद्यान्नलाई प्रशोधन गरी भण्डार गरेको बताए ।
यस्तै, भरतपुर—२८ गोलाघाटका सानु चौधरीले तीन सय वटा हाँसको चल्ला पाल्न सुरु गरेको जानकारी दिए । चौधरीले एक दिनमा एक सय जना पर्यटकलाई पुग्ने गरी घुंगीको सेट पस्कन सक्ने गरी तयारी पनि गरेको बताए ।
भ्रमण वर्षमा आउने पर्यटकलाई राख्ने गरी पछिल्लो समय दर्जनौं होमस्टेहरू खुलेका छन् । दर्जनांै होमस्टे थप भएसँगै महानगरको मेघौली गोलाघाट, पटिहानी जगतपुरलगायतका पर्यटक गन्तव्यमा करिब दुई सय बेड क्षमताको होमस्टेमा आवासको सुविधा रहेको छ ।
भरतपुर महानगरपालिकामा दैनिक ७ हजार पर्यटकलाई आवास सुविधा दिन सकिने व्यवस्था रहेको छ भने गैंडाकोट र सौरहालाई समेट्दा १५ हजार ७ सय पर्यटक राख्न सकिने तथ्यांकक छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी भरतपुरमा जिप सफारीको संख्या वृद्धि गरिएको छ । पर्यटकको मुख्य रोजाइ जंगल सरफारी हुने अनुमानका साथ जिप सफारी गाडी थप गरिएको हो ।
भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ सल्लहाकार विश्वराज सुवेदीले यसअघि एक दर्जनमात्र जिप सफारी रहेकोमा अहिले तेब्बर जिपहरू थप गरिएको बताए । जिप सफारी गर्न चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसराबाट प्रवेश गर्ने व्यवस्था रहेको छ । भरतपुरका राप्ती र नारायणी नदीको तटीय क्षेत्रमा बनेका होटलहरूले आफ्नै जिप सफारी सञ्चालन गर्दै आएका छन् भने अब जिप सफारीको छुट्टै व्यवस्था गर्न लागिएको छ ।
कसराबाट १ घण्टादेखि ४ घण्टासम्म जिप सफारीको प्याकेज रहेको छ । यस्तै राप्ती तथा नारायणीमा डुंगा थप गर्ने तयारी पनि भइरहेको पर्यटन विज्ञ सुवेदीले जानकारी दिए । भरतपुरमा वार्षिक ३० हजार बाह्य पर्यटक आउने तथ्यांक रहेकोमा भ्रमण वर्ष २०२४ मा २ लाख बाह्य पर्यटक र ५ लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरपालिकाले लक्ष्य लिएको छ ।
भ्रमण वर्षमा आउने पर्यटकलाई बाघ देखाउन बाघको केज निर्माण भइसकेको छ । अबको केही दिनमा चितवन राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा रहेको बाघलाई यहाँ स्थानान्तरण गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले जानकारी दिए । यही स्थानमा गैँडा पनि राख्न मिल्ने गरी तारबारको काम पनि अघि बढाइएको छ ।
प्रतिक्रिया