काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत भएको छ । आजको मन्त्रिपरिषद् बैठकले खनालले पेस गरेको राजीनामा स्वीकृत गरेको हो ।
रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने र रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्ने निर्णय भएको छ ।
यस्तै सरकारले राष्ट्रिय विकास परिषद्मा सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी÷व्यक्तिहरूमध्येबाट २५ जना सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । बैठकले मन्त्रिपरिषद्बाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरूको विवरण सच्याउने, नेपाल राजपत्रमा प्रकाशन हुन छुट सहिदहरूको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने निर्णय पनि सरकारले गरेको छ । उद्योगीहरूको काटिएको विद्युत् लाइन खोल्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
प्रतिक्रिया