काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा सीट बाँडफाँटबारे कांग्रेस र माओवादीबीच मंगलवार छलफल भएको छ । बालुवाटारमा आज भएको छलफलपछि बुधवार गठबन्धनको बैठक बस्ने र सिट बाँडफाँट चाँडै टुङ्ग्याउने सहमति भएको जनाइएको छ ।
बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेता रमेश लेखक सहभागी थिए ।
कांग्रेस र माओवादी केन्द्रका नेताबिच भएको छलफलमा एमालेको रिक्त ९ सिटमा दुई दलबिच भागबन्डा गर्ने गरी छलफल भएको थियो । दुई दलबीच यसअघिको मतभार, अहिलेको अवस्थाबारे प्रारम्भिक छलफल भएको हो । माघ ११ गते राष्ट्रियसभाको निर्वाचनमा हुँदैछ । जस्मा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ ।
निर्वाचनको लागि यही २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ ।
प्रतिक्रिया